स्रष्टा र सिर्जनामा प्यूठान- डा. गितु गिरी

प्यूठान मध्यपहाडी क्षेत्रमा पर्ने पहाड र समतल भूभागको समायोजन भएको लुम्बिनी प्रदेशमा पर्ने एउटा जिल्ला हो । मध्यकालमा प्यूठान एउटा राज्यनै थियो । यहाँ धर्माबती तथा माण्डबी सभ्यताहरू विकास भएका थिए । आधुनिककालमा पनि दुई नदीको आसपासमा मानवसभ्यता मौलाउँदो अवस्थामा छ । सहज, सरल र सरस जीवनपद्धतिको फूर्सदमा मानवले कला साहित्य र संस्कृतिको क्षेत्रमा ध्यान पुर्याउने अवसर पाएको तथ्य विश्वइतिहासले पुष्टि गरेको छ । यसै मान्यताको पिछा गर्दै यस क्षेत्रमा पनि भाषा, साहित्य, कला, गला र संस्कृतिको विकास र विस्तार हुँदै आएको छ । धर्मावती र माण्डबीका आसपासका बासिन्दाको जीवनशैली जत्ति सहज र सरस रह्यो त्यसको तुलनामा माथिल्लो काँठ र पखेरामा बस्नेको जीवन जटिल तथा कठिनपूर्ण रहेको छ ।

सहजताले सिर्जनाका कोपिलाहरू फक्रने र फूल्ने अवसर जुटायो । केही त लालीगुँरास झै पहराको काखमा पनि नफक्रिएका होइनन् । तैपनि सामान्य सिद्धान्तको आधारमा सहजताले भाषा, साहित्य, कला, गला र संस्कृतिको विकास र विस्तार भएको छ ।
यस्तै उकाली र ओरालीको बिसौनीमा घन्किएको लामीस्वरे भाका, एकान्त वनको सुनसान वातावरणमा मनमोहक कालीपारे भाका, खेतिमेलामा घन्कने लै बरै भाषा आदिको गर्भमा ओथारो बसेको लोकसाहित्यले समेत यहाँ मर्म र धर्म निभाएका छन् ।

अटुट, अजर र अमर तरङ्गमा बहेली खेलेका समसामयिक समाजका विचार विनिमयका प्रवाहहरूमा छिपेका सामाजिक स्वरूपहरूमध्ये भाषा, साहित्य, कला, गला र स्रस्कृति अजम्बरी बृक्ष बनेका छन्, मौन भाषामा पनि जीवन र जगतका क्षणहरु गनेका छन् । यसका कैयौँ हाँगाबिंगा फैलिदै जाँदा विभिन्न गामठाममा जरा गाडिएका छन् । विभिन्न गाँजको जरादेखि टुप्पासम्म अविरल तथा अबिच्छिन्न बाह्य परीक्षण तथा आन्तरिक विश्लेषणबिना यसको क्षेत्रीय तथा जातिय औकातको आँकलन गर्न धौधौ पर्दछ । विचार, अनुभूति र प्रविधिको फ्यूजनबाट भाषा, साहित्य, कला, गला र संस्कृतिको न्वारन हुन्छ ।

भाषासाहित्यमा समसामयिक समाज सलबलाउँछ । साहित्यिक धारमा चेतना तैरन्छ । शिल्पसौन्दर्यताको आभूषण पैरन्छ । समाजका तितामिठा भोगाइ र गराइका अनुभूतिहरूलाई संरचनागत सौन्दर्यतामा सारगर्भित एवम् ओजपूर्ण ढंगले अभिव्यक्त ह्ुन्छन् । शब्दसार, सन्दर्भ, सङ्गतिपूर्ण र सुन्दरचयनले भाषिकसौन्दर्यता र लालित्यता प्रदान गर्दछ । विचार अभिव्यक्तिलाई निख्खार बनाई चोटिलो प्रहारमा निडर र निर्भिकता कायम हुन्छ । कालक्रमको लहरामा कथ्यभाषालाई रूपान्तरित गरी स्थायित्वको लागि लेख्यभाषाको प्रादुर्भाब गरिएको तथ्य बारे इतिहास बोल्छ ।

समसामयिक समाजको घाउ, घत, मर्म र कर्मको बखान गर्ने लोकगीतको आफ्नै पहिचान र पौरख छ । यसमा सरलता, सरसता तथा सहजता र्फुिर्कन्छ, गाउँबेसी र लेकमा मायाप्रेमका काँकुराहरू हुर्किन्छ । यस्ता लोकगीतका गर्भमा लोकसाहित्य छिपेका छन् । मानव विकासको अविरल प्रवाहमा भाषा, साहित्य, कला, गला र संस्कृतिको विकास प्यूठानमा पनि अनवरत हुँदैआएको छ । यहाँ विविध विधाका सर्जक तथा स्रष्टाको बास छ । सिर्जना र शोधका निग्रहले समाजलाई निरन्तर निर्देश गर्दै आएको छ ।
प्यूठानको प्राचीन ऐतिहासिक स्वरूप वारे स्पष्ट खाका तयार पार्न नसकिएको अवस्थामा साहित्यिकारको नालिबेलीको डोरेटे खोज्नु एउटा जटिल एवम् चुनौतीपूर्ण अभियान हो । यसको प्रारम्भिक आधार भने लोकसाहित्य भएको तथ्य निर्बिवाद छ ।

लोकसाहित्यको पनि सूक्ष्मतम् अध्ययन तथा विश्लेषणको खाँचो खड्किएको अवस्था छ । पुरातनकालदेखि राउटे, कुसुण्डा, मगर, गुरुङ, कुमाल अािदको रस्तीबस्ती हुँदै आएको यस क्षेत्रमा पूर्वआधुनिककालदेखि ठकुरी क्षेत्री, ब्राह्मण आदिको बसोबास रहेको छ । यहाँका पुरातन मगर जातिमा बोलिने भाषालाई खामभाषा भनिन्छ । यसको उत्तरी भाग जस्तै, डामृ, खाल, स्याउलीबाङ, लिघा, लिबाङ, खबाङ, कोचिबाङ, मर्काबाङ, धुबाङ, अर्खा, रजवारा, फोप्ली, माझकोट, भित्रिकोट आदि क्षेत्रमा मगरको बाक्लो बस्ती छ । उनीहरूको मौलिक मगर भाषा (खामभाषा) रहेपनि यसको प्रचलनमा कमी आएको छ । यस भाषालाई पुरानापुराना व्यक्तिले कथ्यभाषाको रूपमा चलनचल्तीमा यदाकदा बोल्ने गरिन्छ । त्यसैगरी गुरुङ बस्ती भएका जस्तै भित्रिकोट, नारीकोट आदिमा केही मात्रामा बुढापाकाले गुरुङ भाषा बोल्ने गर्दछन् ।
बाहुनक्षेत्रीको समागमले नेपाली भाषालाईनै दिनचर्याको विचार विनिमयको रूपमा प्रचलन गर्ने गरिन्छ । यहाँ करिब ३३ प्रतिशत मगरको बसोबास रहेकोमा केवल २.५ प्रतिशतले मात्र मगरभाषा बोल्ने गरेको तथ्याङ्कले स्पष्ट हुन्छकि अधिकाँश मगरहरू नेपाली भाषा बोल्ने गर्दछन् । मगरभाषा दिनप्रतिदिन संकटमा परेको देखिन्छ । तर लेख्यभाषाको रूपमा मगरलिपि तथा भाषाको प्रचलन भने रहेनछ ।

नेपाली भाषा ९६ प्रतिशत नागरिकले बोलिने यस भेगमा मगर भाषापछि नेवारी, गुरुङ, तामाङ आदि भाषा अति न्यून जनसंख्याले प्रचलनमा ल्याएको देखिन्छ । यस्तो अवस्थामा प्यूठानको भाषागत अध्ययन गर्दा नेपाली भाषालाई नै आधार मान्नुपर्ने यहाँको वस्तुगत यथार्थता रहेको छ । त्यसमा पनि साहित्येतिहासको लेखनमा अझ चुनौतिपूर्ण झमेलाहरू देखिन्छन्, जसलाई यस अध्ययनमा सहजीकरण गर्ने जमर्को गरिएको छ । लेखकको जन्मथलो, कर्मथलो र हुर्केबढेको थाती समेत भएकोले यहाँको वस्तुगत यथार्थतालाई अनुभव, अवलोकन र अभ्यासको कसीमा राखी शोधखोज गर्ने प्रयन्त गरिएको छ । लेखक स्वयं यहाँका डाँडापाखापखेरा, देउरालीभज्याङ, लेकबेसी, चौतारी, सिमेभूमे, झाक्री, नदीनाला, खोलाखोल्सा, गौंडागल्छेडा आदिको भुक्तभोगी भएकोले यस अध्ययनलाई बढी सजीवता प्रदान गर्न सकिने अपेक्षा गरिएको छ ।
यहाँको भाषासाहित्य अबिरल रूपमा बहिरहेको छ । विभिन्न स्रष्टा र सिर्जनाका फूलहरु फक्रिदै आएका छन् ।

यहाँको लर्को लामो भएपनि केही यहाँ प्रस्तुत गर्ने पहल गरिएको छ । जनसाहित्य सभाको जगमा जन्मिएको साहित्य परिषद् प्यूठानले बार्षिक रूपमा प्रकाशित गर्दै आएको बार्षिक सुमन पत्रिका वि.सं. २०५६ देखि हालसम्म निरन्तर प्रकाशित भएकोमा यसमा प्यूठानका केही साहित्यकारको सामान्य पृष्ठभूमि प्रकाशक आएको देखिन्छ । यसमा कविता, कथा, निबन्ध, नाटक, पाठालोचना, समालोचना आदि समावेश गरिएका छन् । यो प्यूठानको साहित्यिक स्तम्भको रूपमा खडा छ । वि.सं. २०५६ को भूपेन्द्र सुबेदीको प्यूठानको साहित्यिक सेरोफेरो चाहार्दा नामक शीर्षकको लेखमा साहित्यको केही झलक प्रस्तुत गरिएको देखिन्छ । तत्कालीन जनसाहित्य सभाका सचिव खेमराज पण्डितले यहाँ साहित्येतिहास वनारसमा गठित ज्ञानबद्र्धिनी सभा हुँदै जनसाहित्य सभाको जगमा साहित्य परिषद्को जन्म भएकोमा यसको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए (२०५६) । यसले यहाँको साहित्येतिहास खोज्न सहयोग पुप्याएको छ ।

तत्कालीन साहित्य परिषद् प्यूठानका सचिव खुमबहादुर थापाको प्यूठानी साहित्य फाँटको समीक्षा नामक लेखमा यहाँको संक्षिप्त झलक दिइएको छ (२०५७) । बालाराम शर्माको मोहनविक्रम सिंहको जीवनी व्यक्तित्व र कृतित्व (२०५९) प्रकाशित छ । यसमा सिंहको काव्य, नाटक, समालोचना आदिको वारेमा विश्लेषण गरिएको छ, जसले प्यूठानका साहित्यकार वारे उजागर गरेको छ ।

वि.सं. २०६० मा नारायण पौडेलले भूपेन्द्र सुबेदीको उपालम्ब खण्डकाव्यको समालोचना गरेका छन् । वि.सं. २०६० मा कर्मचारी मिलन केन्द्र प्यूठानले प्रकाशन गरेको स्वर्गद्वारी पत्रिकामा सामान्य लेखरचना प्रकाशित हुँदा साहित्यको फाँटमा वास्ता गरिएको देखिएन । त्यसैगरी २०६२ मा यस पङ्तिकारकको प्यूठानको इतिहास प्रकाशनमा पनि विभिन्न पर्यटकीयस्थलहरू बारे थप चर्चा गरिएपनि भाषा साहित्येतिहासलाई स्थान दिन सकिएन । वि.सं. २०६२ मा बलबहादुर महताराको प्यूठानको संक्षिप्त साहित्यिक रूपरेखा लेखमा यहाँको कविता, कथा, नाटक तथा निबन्धका क्षेत्रमा संलग्न सर्जकहरूको डोरेटो पहिलाउन सहयोग पुप्याएको छ । तर यो सूत्रात्मक संकेतमात्र देखिन्छ । वि.सं. २०६३ मा नेत्रप्रसाद खनालको प्यूठान जिल्लाको संक्षिप्त इतिहास लेखमा केवल राजनैतिक इतिहासको सामान्य डोरेटो कोरिएको छ ।

कैलाश पण्डितले वि.सं. २०६४ मा भूपेन्द्र सुबेदीको दीशा बोध उपन्यासको समीक्षा गरेका छन् । प्यूठानका प्रगतिशील लेखक कृष्ण सेन इच्छुकको बारेमा वि.सं. २०६५ मा इश्वरचन्द्र ज्ञवालीको सम्पादकत्वमा कृष्ण सेन इच्छुक स्मृति ग्रन्थ प्रकाशित भएको छ । यस ग्रन्थमा इच्छुकको जीवनी व्यक्तित्व र कृतित्वको विस्तृत समीक्षा गरिएको छ । यसमा समाविष्ट विभिन्न रचनाहरूले प्यूठानको साहित्यिक राग र प्यूठानका सपुतको वारेमा उजागर गरेको छ । त्यसैगरी भीम अधिकारीको वि.सं. २०६८ सुमनमा प्रकाशित इतिहासको यस घडीमा कृतिभित्र कवि इच्छुकको लेख प्रकाशित छ ।
वि.सं. २०७० मा चन्द्रकला बस्नेतले बालसाहित्य सिर्जनामा बिजयराज आचार्यको वारेमा लेख प्रस्तुत गरेकी छन् । यसै बर्षको सुमनमा गेहराज थापाले प्यूठानको संक्षिप्त चिनारी गराउने सिलसिलामा यहाँको साहित्यिक कालक्रमको खाका परम्परागत ढंगले कोरेका छन् । तर यहाँ तत्कालीन साहित्यको बारेमा खासै अर्थ राखेको देखिएन ।

प्यूठानको समग्र साहित्येतिहास बारे अध्ययन तथा प्रकाशन निकै सीमित छ । फुटकर रूपमा केही सर्जक बारे समालोचना गरिएपनि साहित्येतिहासका आधारभूत तत्वहरूको तालमेल रहेन । नेपाली विषयमा स्नातकोत्तर उपाधिको आँशिक परिपूर्तिको निम्ति लेखिने शोधपत्रहरू भने केही मात्रामा लेखिएका छन् । तर यस्ता लेखाइहरू पूर्णता र गुणस्तरीयताभन्दा उपाधिको औपचारिकतामा मडारिएका देखिन्छन् ।

यस सिलसिलामा लेखिएका अप्रकाशित शोधपत्रमध्ये रामकृष्ण शर्माको प्यूठानको लोकगाथा सङ्कलन र विश्लेषण (२०५५), धर्ममान पौडेलको गोरखबहादुर सिंहः जीवनी व्यक्तित्व र कृतित्व (२०५६), विष्णुप्रसाद भुसालको बालसाहित्यमा गोरखबहादुर सिंह (२०६१), बलबहादुर महताराको नेपाली साहित्यमा प्यूठान जिल्लाको योगदान (२०६१) तथा भगवती बिष्टको भूपेन्द्र सुबेदीको जीवनी व्यक्तित्व र कृतित्व (२०६४) उपयोगी छन् । त्यसैगरी भीम अधिकारीको प्यूठानका प्रमुख कवि र तिनका काव्यकृतिको विश्लेषण (२०६४) तथा चन्द्रकला बस्नेतको प्यूठानका कथाकारको सर्वेक्षण (२०७२) स्मरणीय छन् । यस्ता शोधपत्रहरूले यस लेखनको सिलसिलामा सहयोग पु¥याएका छन् ।प्यूठानको साहित्यिक विकासमा टंकेश्वर गौतम (१९७४), कुलचन्द्र सुबेदी (१९८१), मोहनविक्रम सिंह (१९९२), जंगबहादुर शाह (१९९३), खडानन्द सुबेदी, भूपेन्द्र सुबेदी (१९९५) तथा नन्दराम सुबेदी (१९९६) को विशेष योगदान रहेको छ । तत्कालीन राणा शासनकालमा उनीहरूले लुकीछिपी आफ्ना रचनाहरू लेख्ने र मन मिल्ने साथीभाइलाई वाचन गरी सुनाउने गर्दथे ।

यसले एकातिर गद्य तथा पद्य साहित्यको विकासमा सघाएको थियो भने अर्कोतिर विद्यालयहरूमा उनीहरू संलग्न रहेको अवस्थामा औपचारिक तथा अनौपचारिक ढंगले साहित्यिक माहोल सिर्जना हुनपुग्यो । यी सर्जकहरूमध्ये मोहनविक्रम सिंह तथा जंगबहादुर शाह अहिलेपनि उत्तिकै निख्खार साहित्य सिर्जनामा तल्लीन देखिन्छन् । त्यसैगरी भेषमान गिरी (१९९८), कृष्णप्रसाद सुबेदी (२००१), मोहन वैद्य ‘चैतन्य’ (२००३), डि बी सिंह (२००३), झपेन्द्रराज वैद्य (२००४), कमल पोख्रेल (२००६), गोरखबहादुर सिंह (२००८) तथा भुवनेश्वर सुबेदी (२००८)को यहाँको साहित्यिक विकास र विस्तारमा अहम् भूमिका रहिआएको छ । प्यूठानको भाषासाहित्य तथा कलाको क्षेत्रमा त्यस्तै योगदान दिनेमा गेहराज थापा (२००९), कृष्ण गिरी (२००९), टोपाराम आचार्य (२००९), मोहन गिरी (२००९), बसन्त पोख्रेल (२०११), डा. मीनबहादुर विष्ट (२०११) तथा हरिहर शर्मा (२०११) को नाम आउने गर्दछ । यी विभिन्न सर्जक तथा स्रष्टामध्ये हरिहर शर्माको भाषासाहित्यको अतिरिक्त नाट्य, अभिनय तथा कलाकारिताको क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्याती रहिआएको छ । यसले प्यूठानको गर्भ र गरिमा उचो बनाएको छ ।

जननायक तथा जनगायक कृष्ण सेन ‘इच्छुक’ (२०१३) यसै थलोका सपुत हुन् । उनले जनसाहित्यको सम्प्रेषण मार्फत जनजागरको उभार सिर्जना गर्न सफल भए । प्रतिक्रियावादीको रक्तरञ्जित पञ्जामा परी अकालमै मृत्युवरण गर्न परेपनि उनको योगदानले नेपाल र नेपालीको मनमुटुमा बास बस्न सफल भएका छन् । साम्यवादी भविष्यप्रति अटुट आस्था राख्ने इच्छुकको साहित्यिक सिर्जना र संरचनाले नवपिंढीलाई निरन्तर निर्देश गरिरहेको छ । त्यसैगरी विभिन्न मोर्चामा भिड्दै अनुभव र अभ्यासका तरङ्गलाई साहित्यमा रूपान्तरित गर्ने धनेश्वर पोख्रेल (२०१४) को प्रगतिशील साहित्यले यहाँको समाजलाई रूपान्तरण तथा समायोजनको निम्ति ठूलो उर्जा थपेको छ । उनको साहित्यसिर्जना प्रयोगवादी यथार्थवादमा उभिएको छ । त्यसैगरी डा. गोपीन्द्र पौडेल (२०१४) ले सिर्जना र समालोचनाको क्षेत्रमा ठूलो गुन लगाएका छन् ।

विश्वविद्यालयमा भाषासाहित्यको सेवा र सम्मान गर्दैआएका पौडेलको सामाजिक रूपान्तरणको लागि उनका कृतिहरू सशक्त औजार बनेका छन् । भाषासाहित्यको अतिरिक्त इतिहास, सभ्यता, संस्कृति तथा कलाको क्षेत्रमा कलम चलाउने यस पंतिकारले (२०१४) ले विभिन्न कृतिको सिर्जना गर्नुको साथै प्यूठानको इतिहास (२०५२ र २०६२) लेखी यहाँको भाषा र इतिहासको खाका तयार गर्न विशेष योगदान दिएको छ । त्यसैगरी प्यूठानको साहित्येतिहास (२०७६) ले यहाँको झलक प्रदान गरेको छ । यस क्रममा देबेन्द्रकुमार रिजाल (२०१५), पद्मप्रसाद शर्मा (२०१५), लिला पुन (२०१७), डिल्लीराज आचार्य (२०१७) तथा मणि थापा (२०१८) ले पनि प्यूठानको साहित्यसेवामा गुन लगाएका छन् ।

लुङ र लुप्लुङका गौंडागल्छेडाहरूमा लड्दैभिड्दै जीवनको सारथी तान्दातान्दै पनि देबेन्द्र रिजालले शोषित तथा उत्पीडित समूह र समाजका कथा र व्यथाहरू आफ्ना सिर्जनामा उतार्न सफल भएका छन् । पद्मप्रसाद शर्मा पनि एउटा सशक्त सर्जक हुन् । उनको कर्मथलो दाङ भएपनि प्यूठानको भाषासाहित्यको सेवामा योगदान पु¥याएका छन् । लिला पुन एउटा राष्ट्रसेवक भएर पनि निर्भिक तथा निडर भई जनसाहित्य, संगीत तथा कलाको पारखी बनेका छन् । उनको साहित्य समाज रूपान्तरण्नको सशक्त उपकरण बनेको छ । न्याय र कानुनलाई बढी केन्द्रबिन्दु बनाई सिर्जना गर्ने डिल्लीराज आचार्यले भाषासाहित्यको सेवामा अहम् योगदान दिएका छन् । त्यसैगरी जनसाहित्य र संगीतका पारखी मणि थापाको साहित्य सिर्जना पनि यहाँको मार्गनिर्देशक बनेको छ । उनका गीतले शोषक र सामन्तको मन मुटुमा ढ्याङ्रो ठोकेको छ ।

यसै सिलसिलामा प्यूठानको भाषासाहित्य तथा कलाको क्षेत्रमा मित्रमणि आचार्य (२०१९), कवितामा नारायण पौडेल (२०२०), स्वास्थ्य र भाषामा डा. सुरेन्द्र गिरी (२०२०), व्यङ्ग्य विधामा नवराज आचार्य (२०२१), रामप्रसाद पोख्रेल (२०२३), समालोचना विधामा शशिधर भण्डारी (२०२४), निबन्ध तथा समालोचनामा शिव पण्डित (२०२५), निबन्धमा गोपाल गिरी (२०२६), खुमबहादुर थापा (२०२७), कवितामा बी.पी.सेढाई (२०२९), अशोकविक्रम जि.सी. (२०३०), ढुनबहादुर बुढाथोकी ं‘सङ्ग्राम’ (२०३०), सुशिल पोख्रेल (२०३१), सूर्य थापा (२०३१), कविता तथा संगीत क्षेत्रमा भावेश भूमरी (२०३२), बालसाहित्य विधामा विजयराज आचार्य (२०३३) तथा निबन्धमा रामबहादुर बुढामगर (२०३४) को विशेष योगदान रहिआएको छ ।
त्यसैगरी नवोदित स्रष्टाहरूमा गिरीराज गिरी (२०३५), राजकुमार कँुवर (२०३५), बिमला खनाल (२०३५), गिरु भण्डारी (२०३८), माधब पोख्रेल (२०३९), बिमल पोख्रेल (२०३९), सुवर्ण ओली (२०४०), भरतमणि पौडेल (२०४०), महेश थापा (२०४१), सीताराम के.सी. (२०४१), मनु बि.क. (२०४१), नरेश के.सी. (२०४१), नरेश गिरी (२०४२), बलराम थापा (२०४२), रिखबहादुर सामत (२०४४), एल.पी.शेरचन (२०४४), पूर्ण बुढामगर (२०४५), सुशिला गिरी (२०४५), दिपु पुनमगर (२०४६), राजु बिक (२०४८), चन्द्रकला बस्नेत (२०४९), घनश्याम आचार्य (२०५१), राधिका भुसाल (२०५२), अजित घर्ती मगर (२०५३) तथा भोजराज भण्डारी (२०५३) ले समेत नेपाली भाषासाहित्य तथा कला र गलाको क्षेत्रमा विशेष योगदान प्रदान गर्दैआएका छन् । यहाँ चर्चा गरिए बाहेक अन्य प्रतिभाहरू पनि यहाँ रहेका छन् । यस सानो रचनामा सबैलाई समेट्न संभव रहेन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2022 Pranmancha All right reserved Site By : Himal Creation