जापानी राजदुतद्वारा प्यूठानमा बेसार प्रशोधन केन्द्र हस्तान्तरण

पुष ३,प्यूठान।जापानी राजदुत किकुता युताकाले प्युठानमा बेसार प्रशोधन केन्द्र हस्तान्तरण गर्नुभएको छ । प्युठान नगरपालिका–८ गेजवाङमा निर्माण भएको बेसार प्रशोधन केन्द्र मंगलबार नेपालका लागि जापानी राजदुत युताकाले प्युठान नगरपालिकालाई हस्तान्तरण गर्नु भएको हो ।
बेसारखेतिबाट कृषकको आम्दानिमा वृद्धि गरी जीविकोपार्जन सुधार गर्ने उद्देश्यले भोलुन्टेयर नेपाल नेशनल ग्रुप (भोल नेपाल)ले जापान सरकारलाई प्रश्तावना पेश गरी ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट(जिजिपी) अनुदान सहयोग अन्तर्गत गेजवाङमा बेसार प्रशोधन सुविधा केन्द्र निर्माण गरिएको हो ।
अत्याधुनिक वेसार प्रशोधन प्लान्ट जडान भएकोछ । बाली उत्पादन क्षमता सुधार तथा बेसार प्रशोधन गर्न आवश्यक १० वटा उपकरण खरिद गर्न जिविपीले १ करोड रुपैया उपलब्ध गराएको हो । प्रशोधन केन्द्र सञ्चालनमा ल्याएपछि किसानहरुले खुसी हुँदै जापान सरकारलाई धन्यवाद दिएका छन् ।
राजदुत युताकाले हस्तान्तरण समारोहमा उपस्थित हुन पाउँदा खुशी व्यक्त गर्नुभयो । राजदुत युताकाले यान्त्रिकीकरणलाई प्रवद्र्धन गरेर दक्ष, उच्च गुणस्तरीय र स्थिर बाली उत्पादनमा प्रशोधन केन्द्रले सहज पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
प्रशोधन गर्ने सुविधा नहुँदा किसानले हातले प्रशोधन गर्ने र विक्री वितरण गर्ने गर्दै आएका थिए । प्रशोधन केन्द्रले ६ सय बढी घरधुरीको जीवीकोपार्जनमा सहजता ल्याउने प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले जानकारी दिनु भयो । प्रशोधन केन्द्र सञ्चालनमा आएपछि उच्च गुणस्तरको बेसार बजारमा ल्याउन सकिने बताउदै जनताहरुलाई प्रत्यक्ष उत्पादन सँग जोडी कृषकको जीवनस्तरमा सुधार ल्याउन नगरपालिकाको भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपस्थित  धर्मावती महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष पवित्रा जिसीले विगतमा यस क्षेत्रमा अधिक मात्रामा उत्पादन हुने बेसारले अब सुविधा सम्पन्न प्रविधिको साथ प्रशोधन भई उचित बजार पाउने आशा भएको बताउनु भयो । उत्पादनलाई अन्तरजिल्लामा बजारीकरण गर्नका लागि स्थानीय सरकारले पहल गरिदिनुपर्ने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation