साउदी अरबले सन् २०२३ मा १७० जनालाई दियो मृत्युदण्ड

सन् २०२३ मा साउदी अरबले १७० जनालाई मृत्युदण्ड दिएको छ।

साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै आइतबार मृत्युदण्ड दिइएका चार जनालाई हत्याको अभियोगमा दोषी ठहर गरेको बताएको छ। तीमध्ये दुईजनालाई उत्तरपश्चिमी सहर ताबुक, एक जनालाई राजधानी रियाद र अर्का एकजनालाई दक्षिणपश्चिम जाजानमा मृत्युदण्ड दिइएको हो।

सन् २०२३ मा मृत्युदण्ड दिइएकामध्ये आतंकवादसँग सम्बन्धित अपराधको आरोपमा ३३ जना र देशद्रोहको आरोपमा दोषी ठहरिएका दुई सैनिक छन्। सबैभन्दा घातक महिना डिसेम्बरमा ३८ जनालाई मृत्युदण्ड दिइएको थियो।

एमनेस्टी इन्टरनेसनलले सन् २०२२ मा साउदी अरबले चीन र इरानबाहेक कुनै पनि मुलुकको तुलनामा सबैभन्दा धेरै व्यक्तिलाई मृत्युदण्ड दिएको बताएको छ।

टाउको काटेर मृत्युदण्ड दिन कुख्यात यो मुलुकले सन् २०२२ मार्चमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड दिएर विश्वभरमा निन्दाको लहर उत्पन्न गरेको थियो।

अधिकारीहरूका अनुसार शरिया कानून, कुरानको शिक्षामा आधारित इस्लामिक कानून संहिता र ‘सार्वजनिक व्यवस्था कायम राख्न’ का लागि मृत्युदण्ड आवश्यक छ।

साउदी अरबमा सन् २०२२ मा १४७ दोषीलाई मृत्युदण्ड दिइएको थियो। मृत्युदण्डको व्यापक प्रयोगको निन्दा गर्ने मानवअधिकार कार्यकर्ताहरूले साउदी अरबको आलोचना गरेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation