विश्व प्रसिद्ध कम्युनिस्ट नेता लेनिनको स्मृतिमा शतवार्षिकी मनाइने

विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन भएको छ । लेखक, मार्क्सवादी चिन्तक तथा अग्रणी कम्युनिस्ट बौद्धिक निनु चापागाईंको संयोजकत्वमा शुक्रबार लेनिन स्मृति शतवार्षिकीको मूल आयोजक समिति निर्माण गरिएको हो ।

शतवार्षिकी समितिमा मार्क्सवादी अर्थशास्त्री हरि रोका, समालोचक तथा प्राध्यापक डा. ताराकान्त पाण्डेय, कवि तथा समालोचक डा. अमर गिरी, साहित्यकार नारायण ढकाल, लेखक तथा पत्रकार तुल्सीदास महर्जन, कवि कल्पना चिलुवाल, कवि बलराम तिमल्सिना, लेखक रोशन जनकपुरीलगायत १७ जना सदस्य छन् । मूल आयोजक समितिलाई विस्तार गरिने र यसमार्फत् वर्ष २०२४ भरि विभिन्न सहरमा कार्यक्रमहरु आयोजना गर्ने संयोजक चापागाईंले बताए।

‘यो हाम्रो प्रारम्भिक पहल हो, शतवार्षिकी समितिले विभिन्न प्रदेश तथा सहरमा पनि सम्भव भएसम्म संयोजन समिति निर्माण गर्नेछ र आश्यकताअनुसार विभिन्न विभाग बनाएर एक वर्षभरि कार्यक्रम गर्ने सोच बनाएको छ,’ संयोजक चापागाईंले भने, ‘हामी चार किसिमका काम गर्नेछौं– पहिलो, समाजवादी क्रान्तिमा र मार्क्सवादको विकासमा लेनिनका योगदानबारे र लेनिनवादको सान्दर्भिकताबारे विचारगोष्ठी तथा वैचारिक बहसहरु आयोजना गर्नेछौं; दोस्रो, लेनिनका महत्त्वपूर्ण रचनाहरुको पुन: प्रकाशन गर्नेछौं; तेस्रो, विभिन्न सहरमा सांस्कृतिक प्रकृतिका सभा र कलात्मक प्रदर्शनीहरु गर्नेछौं र चौथो, लेनिनबारे स्मारिका तयार गर्नेछौं ।’

रुसमा सन् १९१७ सम्पन्न भएको समाजवादी क्रान्तिका नायक तथा प्रथम समाजवादी व्यवस्थाका संस्थापक लेनिन मार्क्सवादी धाराका दार्शनिक, क्रान्तिकारी सिद्धान्तकार र मजदुरवर्गीय आन्दोलनका अगुवाका रुपमा प्रख्यात छन् । ‘कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले प्रतिपादन गरेको कम्युनिस्ट सिद्धान्तलाई रुसमा क्रान्ति सम्पन्न गरी व्यवहारद्वारा सिद्ध गर्ने र संसारमा समाजवाद सम्भव छ भन्ने सन्देश फैलाउने महान् नेता हुन् लेनिन’, नवगठित शतवार्षिकी समितिका सदस्य हरि रोकाले भने, ‘लेनिन हुन्थेनन् भने माक्र्सवाद केवल युटोपिया रहने थियो, किताबमा कतै थन्किने थियो । त्यसकारण, संसारभरिका मार्क्सवादीले लेनिनलाई बिर्सन सक्दैनन्, बिर्सन हुँदैन ।’

लेनिनको जन्म सन् १८७० अप्रिल २२ मा भएको हो । उनको मृत्यु सन् १९२४ जनवरी २१ मा भयो । सन् २०२४ मा उनको मृत्यु भएको १०० वर्ष पूरा भएको छ । संसारभरिका कम्युनिस्टहरुले यो वर्षलाई लेनिनको स्मृतिको शताब्दी वर्षका रुपमा मनाइरहेका छन् ।

शतवार्षिकी समितिले लेनिनको मृत्यु भएको दिन जनवरी २१ (माघ ७) मा आफ्नो पहिलो कार्यक्रम काठमाडौंमा गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation