युक्रेन जेलमा रहेका दुई नेपालीको उद्धार!

नौ महिनादेखि थिए युक्रेनको कारागारमा

बर्लिनस्थित नेपाली दूतावासले कुनै प्रलोभन वा बहानामा युक्रेन प्रवेश नगर्न नेपाली नागरिकलाई सचेत गराएको छ ।

२४ माघ, काठमाडौं

नौ महिनादेखि युक्रेनको जेलमा रहेका दुई नेपाली नागरिकको उद्धार भएको छ । जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले उद्धार गरी ती दुई नागरिकलाई स्वदेश पठाएको हो ।

बर्लिनस्थित नेपाली राजदूतावासले जारी गरेको सूचनाअनुसार दुवैजना अध्यागमन कानुन उल्लंघनको अभियोगमा २०२४ मे महिनादेखि युक्रेनको कारागारमा थिए ।

नेपाली राजदूतावासको अथक र निरन्तर प्रयासमा युक्रेनको परराष्ट्र मन्त्रालय, युक्रेनको राजधानी किभस्थित इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेसन (आईओएम) बोर्डर सेक्युरिटी गार्डस्, किभस्थित मोल्भोडाको राजदूतावास र युक्रेनका लागि श्रीलंकाका अवैतनिक वाणिज्यदूतलगायको सहयोग लिएर उनीहरूको उद्धार गरिएको सूचनामा उल्लेख छ ।

दूतावासले बारम्बार सचेत गराउँदा पनि मानव तस्करहरूको प्रलोभनमा परेर अझै पनि छिटपुट रूपमा नेपाली नागरिक युक्रेन आइरहेको भन्दै विषम परिस्थितिमा रहेको कारण युक्रेनमा कुनै पनि प्रयोजनाको लागि वा कुनै प्रकारको प्रलोभनमा परेर नआउन नेपाली नागरिकहरूलाई पुनः सचेत गराएको छ ।

सूचनामा सन् २०२३ को जनवरी तेस्रो सातादेखि युक्रेनसँगको सिमाना जोडिएका मुलुकहरूले युक्रेनमा रहेका नेपाल लगायतका मुलुकहरूबाट आफ्नो देशमा प्रवेश गर्न खोज्ने विदेशीहरूलाई भिसा जारी नगर्ने निर्णय गरेको समेत नेपाली राजदूतावासले पुनःस्मरण गराएको छ ।

उसले कुनै पनि तरिकाबाट युक्रेन प्रवेश गरी विपद्मा परेको अवस्थामा उद्धार गर्न अत्यन्त कठीन हुने भन्दै यो वा त्यो बहानामा युक्रेन प्रवेश नगर्न सबै नेपाली नागरिकलाई अनुरोध पनि गरेको छ ।

नेपाली राजदूतावासले जारी गरेको सूचना-

 

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation