पूर्वराजालाई वर्षमानको चेतावनी- `मुख नमिठ्याए हुन्छ´

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन्।

झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेस जागरण अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुनले जागरूक भइसकेका जनता कुनै पनि तानाशाहीको पक्षमा नरहेको बताए।

जनताको निराशा र असन्तुष्टिमा आफ्नो भविष्य देखेर धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न पुनले ज्ञानेन्द्रलाई सुझाए । ‘तानाशाहहरू, प्रतिगामीहरु सामान्तहरु पुरानै व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख मिठ्याई राखेका छन्, अपिल गरिराखेका छन्’ पुनले भने, ‘जनताको निराशामा र असन्तुष्टिहरूमा भ्रम छरेर धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर तानाशाहहरु हिंडिराखेका छन् । खबरदार, त्यो दिवा सपना नदेखे हुन्छ । जनता फेरि जाग्नेछन् ।’

उनले काठमाडौं केन्द्रित एक जाति, एक भाषा, एक संस्कृतिसहितको एकाधिकारवादी हुकुमी शासन अब सम्भव नभएको बताए ।

१०औं हजारको बलिदानले स्थापित गरेको व्यवस्थालाई बचाउन र सर्भिसिङमार्फत लोकतान्त्रिक गणतन्त्रमा लागेको फोहोर सफा गर्न आफूहरू अभियान लिएर जनतामा आएको पुनले उल्लेख गरे ।

पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै देश यसरी नै अगाडि बढ्न नसक्ने भन्दै आफूलाई साथ दिन अपिल गरेका थिए । ज्ञानेन्द्रको उक्त अभिव्यक्तिप्रति मूलधारका राजनीतिक दलका नेताहरूले सदनभित्र र बाहिरबाट प्रतिवाद गरेका छन् ।

पुनले दुई तिहाइको दुहाई दिएर सत्तामा बसेका काँग्रेस र एमालेले जनभावना अनुसार शासन सत्ता सञ्चालन नगरेको आरोप लगाए । जनताको भावना विपरीत अघि बढे उनीहरुलाई पनि जनताले बढार्ने दिन आउने चेतावनी उनले दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation