
२६ चैत, चितवन
भौतिकवादी विचारधाराको प्रवर्द्धनमा सक्रिय रहँदै आएका अभियन्ता दिवस पाण्डेको उपचारको क्रममा असामयिक निधन भएपछि प्रगतिशील वृत्तमा गहिरो शोक छाएको छ। उहाँ भौतिकवादी समाज नेपाल चितवन जिल्ला समिति सदस्य हुनुका साथै केन्द्रीय समिति सदस्य भगवती अर्यालका जीवनसाथी पनि हुनुहुन्थ्यो।
भौतिकवादी समाज नेपाल केन्द्रीय समितिले एक शोक वक्तव्य जारी गर्दै पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। समितिले उहाँलाई “सक्रिय, प्रतिबद्ध र विचारशील अभियन्ता” का रूपमा स्मरण गर्दै समाजमा व्याप्त अन्धविश्वास, रुढीवाद र अवैज्ञानिक सोचविरुद्ध उहाँले गरेको संघर्षलाई उच्च मूल्याङ्कन गरेको छ।
पाण्डेले आफ्नो जीवनभर वैज्ञानिक चेतना, तर्क र प्रमाणमा आधारित समाज निर्माणका लागि निरन्तर अभियान सञ्चालन गर्नुभएको थियो। उहाँको योगदानले विशेषतः युवापुस्तामा वैज्ञानिक सोच र सामाजिक रूपान्तरणको चेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।
समितिले जारी गरेको वक्तव्यमा भनिएको छ, “उहाँको असामयिक निधनले भौतिकवादी अभियानलाई अपूरणीय क्षति पुगेको छ। उहाँको अधूरो सपना र संघर्षलाई अगाडि बढाउनु नै साँचो श्रद्धाञ्जली हुनेछ।”
यसैबीच, अध्यक्ष वैद्यनाथ श्रमजीवीले दिवंगत पाण्डेको वैचारिक जीवन र समाज परिवर्तनमा पुर्याएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँले अघि बढाएको वैज्ञानिक, मानवतावादी र भौतिकवादी अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पाण्डेको निधनप्रति शोक व्यक्त गर्दै समितिले शोकसन्तप्त परिवार विशेषतः जीवनसंगिनी भगवती अर्याल तथा आफन्त र सहकर्मीहरूप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
दिवस पाण्डेको असामयिक अवसानले एउटा समर्पित विचारक मात्र गुमाएको छैन, वैज्ञानिक चेतना र सामाजिक रूपान्तरणको अभियानमै एउटा महत्वपूर्ण आवाज मौन भएको अनुभूति गरिएको छ।
















