दुर्व्यसन, मानसिक असन्तुलन र बदलिँदो नेपाली समाज

मानिसलाई बिगार्ने कारण धेरै हुन सक्छन्, तर बचाउने माध्यम पनि समाज नै बन्न सक्छ। त्यसैले आज आवश्यक कुरा दोषारोपण होइन, सचेतना हो; घृणा होइन, समझदारी हो; तिरस्कार होइन, सहयोग हो। तभी मात्र हामी मानसिक रूपमा स्वस्थ, जिम्मेवार र मानवीय समाज निर्माण गर्न सक्षम हुनेछौं।

मानिस केवल आफ्नो इच्छाले बिग्रँदैन, परिस्थितिले पनि बनाउँछ र बिगार्छ ।
आजको नेपाली समाजलाई नजिकबाट हेर्ने हो भने एउटा गम्भीर समस्या तीव्र रूपमा फैलिरहेको देखिन्छ ।दुर्व्यसन, मानसिक असन्तुलन, निराशा र भित्रभित्रै टुट्दै गएको मानवीय जीवन।

बाहिरबाट हेर्दा धेरै मानिस सामान्य देखिन्छन्, हाँसिरहेका देखिन्छन्, काम गरिरहेका देखिन्छन्, सामाजिक सञ्जालमा रमाइरहेका देखिन्छन्, तर भित्रभित्रै उनीहरू डर, तनाव, असन्तुष्टि, चिन्ता, एक्लोपन र आत्मसंघर्षसँग जुधिरहेका हुन्छन्।
आज मानिस केवल उमेर, शिक्षा, गरिबी वा खराब संगतले मात्र बिग्रँदैन ।

एउटा मानिस बिग्रिनुका पछाडि पारिवारिक, सामाजिक, आर्थिक, मनोवैज्ञानिक, सांस्कृतिक र आध्यात्मिक धेरै कारणहरू जोडिएका हुन्छन्। कुनै पनि व्यक्ति जन्मिँदै दुर्व्यसनी हुँदैन। परिस्थिति, वातावरण, सोच, व्यवहार र समाजको प्रतिक्रिया मिलेर विस्तारै उसलाई त्यस्तो अवस्थासम्म पुर्‍याउँछ जहाँबाट फर्किन कठिन हुन थाल्छ।

हाम्रो समाजमा अझै पनि दुर्व्यसनलाई केवल खराब बानीको रूपमा हेरिन्छ। मानिसले तुरुन्तै निष्कर्ष निकाल्छ—“इच्छा शक्ति भए छोडिहाल्थ्यो”, “यो त आफैं बिग्रिएको हो”, “यस्ता मानिस सुध्रिन्नन्।” तर वास्तविकता यति सरल छैन। धेरैपटक एउटा व्यक्ति दुर्व्यसनमा जानु अघि नै मानसिक रूपमा थाकिसकेको हुन्छ। ऊ जीवनसँग हार मान्न थालेको हुन्छ। बाहिर कसैले नदेखे पनि भित्रभित्रै ऊ असन्तुलित, बेचैन र निराश भइसकेको हुन्छ।

आजको समयमा अतृप्त चाहना र अत्यधिक महत्वाकांक्षा पनि मानिस बिग्रिने मुख्य कारण बनेका छन्। समाजले सफलता, पैसा, प्रतिष्ठा र देखावटी जीवनलाई यति ठूलो बनाइदिएको छ कि मानिसले आफ्नो वास्तविक अवस्था स्वीकार गर्न छोडेको छ। आफूले चाहेजस्तो जीवन नपाउँदा मानिस भित्र असन्तुष्टि बढ्दै जान्छ। अरूसँग तुलना गर्ने बानीले आत्मसम्मान कमजोर बनाउँछ। “म किन पछाडि परें ?”, “अरूको जीवन राम्रो, मेरो किन यस्तो ?” भन्ने सोचले मानिसलाई मानसिक रूपमा कमजोर बनाइरहेको छ।

त्यसैगरी आहार र विहारको असन्तुलनले पनि मानिसको सोच र व्यवहारमा गहिरो असर गरिरहेको छ। अनियमित निद्रा, अस्वस्थ खानपान, शारीरिक श्रमको कमी, रातभर मोबाइल चलाउने बानी, दिनभर तनावमा बस्ने अवस्था । यी सबैले मानिसको मानसिक अवस्था बिस्तारै कमजोर बनाइरहेका छन्। शरीर असन्तुलित भएपछि विचार पनि असन्तुलित हुन थाल्छ। सानो कुरामा रिस उठ्ने, चिडचिडापन बढ्ने, आत्मनियन्त्रण कमजोर हुने र नकारात्मक सोच हाबी हुने समस्या यहीँबाट सुरु हुन्छ।

आजको समाजमा नकारात्मक जीवनशैली पनि ठूलो समस्या बनेको छ। धूम्रपान, मदिरा सेवन, लागूपदार्थ, अव्यवस्थित दिनचर्या, रात्री जीवनप्रतिको आकर्षण, गलत मनोरञ्जन र “जे गरे पनि हुन्छ” भन्ने मानसिकताले युवापुस्तालाई गम्भीर दिशातर्फ धकेलिरहेको छ। कतिपय युवाहरूले आधुनिकताको नाममा आत्मविनाशलाई स्वतन्त्रता सम्झिरहेका छन्।
सोच्ने तरिकामा आएको विचलन पनि अर्को महत्वपूर्ण कारण हो। अहिले मानिसहरू तुरुन्त परिणाम चाहन्छन्। धैर्यता कम हुँदै गएको छ। सानो असफलताले पनि धेरै मानिसलाई भित्रैदेखि तोडिरहेको छ। संघर्ष सहन नसक्ने बानी बढ्दै गएको छ। समस्या आयो भने समाधान खोज्नुभन्दा भाग्ने प्रवृत्ति बढेको छ। यही अवस्थाले मानिसलाई कुलत, दुर्व्यसन र आत्मविनाशतर्फ लैजान सक्छ।

पारिवारिक वातावरणको प्रभाव झन् गहिरो हुन्छ। घरभित्र प्रेम, संवाद, विश्वास र समझदारी नहुँदा मानिस भित्रैदेखि एक्लो महसुस गर्न थाल्छ। आज धेरै परिवार एउटै घरमा बसे पनि भावनात्मक रूपमा टाढा छन्। अभिभावकसँग कुरा गर्न नसक्ने अवस्था, डरको वातावरण, अत्यधिक नियन्त्रण, तुलना गर्ने बानी, अपमानजनक शब्द प्रयोग, घरायसी झगडा र असन्तुलित सम्बन्धले व्यक्तिको मानसिक स्वास्थ्यमा गहिरो असर पार्छ।

कतिपय अवस्थामा समाजले लगाउने अनावश्यक “ट्याग” ले पनि मानिसलाई झन् बिगार्ने काम गर्छ। एकपटक कुनै व्यक्ति गल्तीमा पर्‍यो भने समाजले उसलाई जीवनभर त्यही नजरले हेर्न थाल्छ। “यो त बिग्रिएको मान्छे हो”, “यसबाट केही हुँदैन”, “यो त सुधारिँदैन” भन्ने मानसिकताले मानिसलाई पुनः उठ्ने अवसर कम गरिदिन्छ। समाजले गल्ती गर्ने मानिसलाई सजिलै चिन्ह लगाउँछ, तर सुधारको अवसर भने कम दिन्छ।

डर, चिन्ता र भविष्यप्रतिको अन्योल आजको अर्को ठूलो समस्या हो। बेरोजगारी, आर्थिक अस्थिरता, पारिवारिक जिम्मेवारी, वैदेशिक रोजगारीको दबाब, सम्बन्धमा आएको असफलता, सामाजिक अपेक्षा । यी सबैले मानिसलाई मानसिक रूपमा थकित बनाइरहेका छन्। कतिपय मानिस दिनभर सामान्य देखिए पनि राति एक्लै हुँदा भित्रभित्रै डर, तनाव र निराशासँग लडिरहेका हुन्छन्।

कार्यक्षेत्रको नकारात्मक दबाबले पनि धेरै मानिसको जीवन असन्तुलित भइरहेको छ। जागिरको असुरक्षा, सम्मानको कमी, आर्थिक असन्तुष्टि, राजनीतिक हस्तक्षेप, कार्यस्थलको तनाव, अन्यायपूर्ण व्यवहार र प्रतिस्पर्धाले मानिसलाई मानसिक रूपमा कमजोर बनाइरहेको छ।

कमजोर आर्थिक अवस्थाले त झन् धेरै समस्याको ढोका खोलिदिन्छ। दैनिक आवश्यकता पूरा गर्न संघर्ष गर्नुपर्दा मानिसको आत्मविश्वास कमजोर हुन थाल्छ। गरिबीले केवल पैसाको अभाव ल्याउँदैन, यसले मानसिक तनाव, पारिवारिक झगडा, निराशा र असुरक्षाको भावना पनि बढाउँछ।

आज मोबाइल र सामाजिक सञ्जालले पनि मानिसको मानसिकतामा ठूलो प्रभाव पारिरहेको छ। फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम जस्ता माध्यमले सूचना त दिएका छन्, तर असन्तुलित प्रयोगले मानिसलाई वास्तविक जीवनबाट टाढा बनाइरहेका छन्। अरूको बनावटी खुशी, महँगो जीवनशैली, सफलता र देखावटी संसार हेर्दाहेर्दै मानिस आफ्नो जीवनप्रति असन्तुष्ट हुन थालेको छ।

मोबाइलमा लगातार आउने नकारात्मक समाचार, हत्या, हिंसा, दुर्घटना, राजनीति, विवाद र तनावपूर्ण सामग्रीले मानिसको सोचलाई नकारात्मक बनाइरहेको छ। धेरै मानिस बिहान उठेदेखि रातिसम्म मोबाइलमा डुबेका हुन्छन्, तर आफ्नै मनसँग कुरा गर्ने समय भने हुँदैन।
अर्को महत्वपूर्ण कुरा हो । सही र गलत छुट्याउन सक्ने क्षमताको कमी। अहिले धेरै मान अर्को महत्वपूर्ण कुरा हो । सही र गलत छुट्याउन सक्ने क्षमताको कमी। अहिले धेरै मानिस क्षणिक आनन्दलाई नै खुशी सम्झिरहेका छन्। तत्काल रमाइलो दिने कुरा पछि कति घातक हुन सक्छ भन्ने सोच्ने धैर्यता कम हुँदै गएको छ। साथीसँग रमाइलो गर्ने नाममा सुरु भएको धूम्रपान, मदिरा वा लागूपदार्थको प्रयोग बिस्तारै लतमा बदलिन्छ भन्ने कुरा धेरैले ढिलो बुझ्छन्।

सुरुवातमा “केही हुँदैन” भन्ने सोच हुन्छ, तर पछि त्यही बानीले जीवन, सम्बन्ध, स्वास्थ्य र भविष्य सबै कमजोर बनाउन थाल्छ।

मानिसको जीवनमा संगतको प्रभाव पनि अत्यन्त गहिरो हुन्छ। सकारात्मक सोच भएका, संघर्ष गर्न सिकाउने र जिम्मेवार मानिसहरूको साथले व्यक्तिलाई माथि उठाउँछ भने नकारात्मक सोच, कुलत र अव्यवस्थित जीवनशैली भएका मानिसहरूको संगतले विस्तारै व्यक्तित्वलाई कमजोर बनाउँछ। धेरै युवाहरू गलत संगतकै कारण आफूले नचाहँदा नचाहँदै दुर्व्यसनतर्फ आकर्षित भएका उदाहरण समाजमा प्रशस्तै छन्।
आजको समाजमा आध्यात्मिक शून्यता पनि बढ्दै गएको छ। मानिससँग सुविधा बढेका छन्, तर मनको शान्ति घट्दै गएको छ। पैसा कमाउने दौडमा मानिस आफैंसँग टाढिँदै गएको छ।

धैर्यता, आत्मनियन्त्रण, नैतिकता, करुणा र आत्मचिन्तन जस्ता मूल्यहरू कमजोर बन्दै जाँदा मानिस बाहिरबाट सफल देखिए पनि भित्रभित्रै असन्तुष्ट र अशान्त हुन थालेको छ।
दुर्व्यसनको समस्या केवल एउटा व्यक्तिको समस्या मात्र होइन, यो परिवार, समाज र राष्ट्रसँग जोडिएको विषय हो। एउटा व्यक्तिको लतले परिवारको सम्बन्ध बिग्रिन सक्छ, आर्थिक अवस्था कमजोर बन्न सक्छ, बालबालिकाको भविष्य प्रभावित हुन सक्छ र समाजमा हिंसा, अपराध तथा असुरक्षा बढ्न सक्छ। त्यसैले यो विषयलाई केवल व्यक्तिगत कमजोरीको रूपमा होइन, सामाजिक र मानसिक स्वास्थ्यको गम्भीर विषयको रूपमा बुझ्न आवश्यक छ।

हामीले दुर्व्यसनी व्यक्तिलाई घृणा होइन, सहानुभूति र जिम्मेवारीको दृष्टिले हेर्न सिक्नुपर्छ। सुधार केवल सजायले सम्भव हुँदैन, त्यसका लागि प्रेम, विश्वास, उचित परामर्श, सकारात्मक वातावरण र पुनः अवसर आवश्यक हुन्छ। कुनै पनि व्यक्ति भित्रबाट पूर्ण रूपमा समाप्त हुँदैन, यदि उसले सही समयमा साथ, समझदारी र प्रेरणा पायो भने ऊ फेरि उठ्न सक्छ।
समाज परिवर्तन केवल कानूनले हुँदैन, सोच परिवर्तनले हुन्छ। यदि हामी स्वस्थ समाज चाहन्छौं भने परिवारभित्र संवाद बढाउनुपर्छ, विद्यालयमा मानसिक स्वास्थ्यबारे शिक्षा दिनुपर्छ, युवाहरूलाई सकारात्मक गतिविधितर्फ जोड्नुपर्छ र मानिसको पीडालाई मजाक होइन, संवेदनशीलताका साथ बुझ्न सिक्नुपर्छ।

मानिसलाई बिगार्ने कारण धेरै हुन सक्छन्, तर बचाउने माध्यम पनि समाज नै बन्न सक्छ। त्यसैले आज आवश्यक कुरा दोषारोपण होइन, सचेतना हो; घृणा होइन, समझदारी हो; तिरस्कार होइन, सहयोग हो। तभी मात्र हामी मानसिक रूपमा स्वस्थ, जिम्मेवार र मानवीय समाज निर्माण गर्न सक्षम हुनेछौं।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation