पत्रकार खेम भण्डारी पक्राउ

१८ असार, काठमाडौं

कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । उनलाई कञ्चनपुर प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो ।

भीमदत्त नगरपालिका-१८ कटानबाट पत्रकार भण्डारीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले पुष्टि गरेका छन् ।

भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको उनले बताए ।

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा दोषी ठहर गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई गाली बेइज्जतीको कसुरमा एक महिना कैदको फैसला गरेको थियो ।

भण्डारीलाई एक महिना कैदका साथै १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति तिराउने फैसला पनि भएको थियो ।

निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्ट (हाल एसएसपीबाट अवकाश)का छोरा किरण बिष्टले उनी विरुद्ध मुद्दा दायर गरेका थिए । मुद्दा दायर गरेका किरण पनि पत्रकार हुन् । उनी राष्ट्रिय समाचार समितिमा कार्यरत छन् ।

१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । यो प्रकरणका आरोपी अहिलेसम्म पहिचान हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation