विद्यालयलाई आर्थिक सहयोग गर्दै रोकाले मनाए जन्मदिन, समाजसेवी घर्तिलाई अभिनन्दन

२१ फागुन, रोल्पा

जन्मदिनलाई रमाइलो मात्र होइन, सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको छ। यही क्रमलाई अघि बढाउँदै कक्षा १० मा अध्ययनरत विद्यार्थी वसन्त रोकाले आफ्नो जन्मदिन अध्ययनरत विद्यालय चन्द्रप्रभालाई आर्थिक सहयोग गर्दै मनाएका छन्।

“जन्मदिनको नयाँ अभ्यास, सत्कर्मको प्रयास” भन्ने मूल भावनाका साथ उनले विद्यालयलाई ५१०० रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। शिक्षा क्षेत्रमा व्यक्तिगत योगदान दिन सकिने सन्देश दिनका लागि उनले आफ्नो जन्मदिनलाई विद्यालयसँग जोडेर मनाएको बताए।

विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा वसन्त रोकाकी आमा तथा विद्यालय व्यवस्थापन समितिकी सदस्य टेकमाला थापाले उनलाई माला लगाइ सम्मान गरिन्। कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) का अध्यक्ष केशर कुमार विष्ट र कार्यक्रमका अध्यक्ष रत्नलाल सुवेदीले वसन्तलाई जन्मदिनको शुभकामना दिँदै उनको सत्कर्मको प्रशंसा गरे। विद्यालयलाई आर्थिक रूपमा सहयोग गर्नु प्रेरणादायी काम भएको भन्दै उनले देखाएको उदाहरणले अरूलाई पनि सामाजिक कार्यमा संलग्न हुन हौसला प्रदान गर्ने विचार व्यक्त गरे।

समाजसेवी भूपनारायण घर्तिमगरलाई सम्मान

कार्यक्रमकै अवसरमा विद्यालय स्थापनाकालदेखि नै निरन्तर सहयोग गर्दै आएका समाजसेवी तथा बौद्धिक व्यक्तित्व भूपनारायण घर्तिमगरलाई पनि सम्मान गरिएको छ। हाल अमेरिकामा बसोबास गरिरहेका घर्तिमगर नेपाल भ्रमणका क्रममा रहेकाले विद्यालय परिवारले उनको योगदानको कदर गर्दै अभिनन्दन गरेको हो।

विद्यालय प्रशासनका अनुसार यस्ता सकारात्मक गतिविधिले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्नुका साथै विद्यालयहरूलाई आर्थिक रूपमा सबल बनाउने विश्वास गरिएको छ। विद्यालय व्यवस्थापन समितिले पनि यस्ता सत्कर्मलाई निरन्तरता दिन प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation