कविता
“स्वतन्त्र आवाज”
तिम्रो अंकगणितिय सुत्र
मेची पारीको जमिन जस्तै
एकादेशको कथा जस्तै
मिचाहा दलाहा र नक्कली राष्ट्रियताले
भरिएको आत्मा जस्तै भैसकेको छ ।
तिम्रो मुठ्ठिभरका
खोक्रो आदर्शका हरफहरु
सच्चिन सुध्रिन लाग्यो भनेर
शाश्वत उदघोषहरु सुनेर
निक्कै डराउन थालेका छौ
निक्कै तर्सिन थालेका छौ
खबरदार– खबरदार–
शहरिया धोद्रा गला हो ।
स्वतन्त्रता को आवाज
अब गाउँबाट बुलन्ध हुदैछ।
म
केहि तथ्य बोल्न लागेको हुँ
केही भेद खोल्न लागेको हुँ
केही सुदुर र दुरका आवाजहरु
ओकल्न थालेको हुँ ।
उठिरहेछन् हातहरु
कस्सीएर मुठ्ठीमा आक्रोस
अनुज देखि अग्रजसम्म
र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै
स्वतन्त्रताको लागी स्वतन्त्र आवाजहरु !
बस्ती बस्ती ,गाउँ – गाउँ
गाउँबस्तीबाट शहरतिर बढ्दैछन् ,सर्दैछन्
क्रमश: आवाजका भेलवाडीहरु!
जहाँ असंख्य निरहीहरुको आवाज कुल्चेर
गुड्नेहरु गुडिरहेछन् आयातित गाडीहरु माथि
घुम्नेहरु घुमिरहेछन् आरामदायी कुर्सीहरु माथि
उड्नेहरु उडिरहेछन् रमिता हेर्दै हाम्रै शीर माथि।
आवाजहरुको स्वतन्त्र वेग लिएर
शहर पस्ने प्रतिनिधी आवाज
सपनाको मोहमा फसेर
भुलिदिन्छ गाउँबस्तिका सुकोमल
स्वतन्त्र आवाजहरु!
ज्यू र हजुरीयामा शीर निहुर्याउछ
व्यर्थै फस्दै आएको छ युगौ देखि प्रलोभनमा
फुकाएको छ कस्सिएका मुठ्ठीहरु
र भुल्दै गएको छ दृढ संकल्पहरु!
लखेटि मागेको कुकुरले पुच्छर सेपेर कुदे झै
नयाँ ठाउँको मादकताले गन्तव्य बिर्सेर
भौतारीन्छ बटुवाले बाटो भुले झैं
बनिरहेको छ रमिते ।
लगाम विनाको घोडा हाकेर
शहर पसेका घोडचढीहरु
एकाएक भीडहरुमा विलाए पछि
फसेका छौ त्यसै त्यसै अन्योलको भुमरीमा
मार्ग विहीन बनेका छन् गतिशील हाम्रा लक्ष्यहरु
त्यसैले अब हाम्रो भाग्यको फैसला हामी आफै गरौ ।
शहरको कुनै उद्यानमा गाडिएको निर्जीव मुर्ति झैं
यस्तै छ यहाँ भुतकालबाट बग्दै आएको वर्तमान ।
यो इतिहास कसरी भविष्यमा लेखिएला त्यो थाहा छैन
तर
एक पेट र एक जीन्दगीको लागि
जीउदै मर्ने मान्छेहरुलाई
इतिहास भन्दा भोको पेटको महत्व धेरै छ।
बाच्नुको लडाइमा मृत्युुले धावा
बोलिसहेको बेला
अलिकति बाँच्ने आसाको चारो छर्कि दिएर
अलिकति इतिहासको चर्चा गरी दिएर
अब आवाजहरुसग नै मिस्सिने छन्
आवाजहरु ।
अनि
आवाजहरु यसरी नै आवाजबाट
बुलन्द हुदै गए पछि
बन्ने छ एउटा ऐतिहासिक
स्वतन्त्र आवाजहरुको संङग्राम।
भरत रोकाय ‘एक्सन’
दार्मा गाउँपालिका ०२ सल्यान