५ जेठ, काठमाडौं
नेपाल धितोपत्र बोर्डले आईपीओको पाइपलाइनमा रहेका १४ कम्पनीलाई सूचीबाटै हटाएको छ ।
प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेका १३ कम्पनी र विद्युत् खरिद सम्झौता (पीपीए) कायम रहने अवधि न्यून रहेको एक कम्पनीलाई पाइपलाइनबाट हटाइएको हो ।
‘प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेका कम्पनीलाई आईपीओ स्वीकृति दिन नसकिने भएपछि अहिले पाइपलाइनबाट हटाएर ९० भन्दा बढी भएको पुष्टि हुनेगरी पुनः प्रक्रिया सुरु गर्न भनिएको छ’ बोर्ड प्रवक्ता निरञ्जय घिमिरेले भने ।
यसअघि सार्वजनिक लेखा समितिले नै प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेका कम्पनीलाई आईपीओको स्वीकृति नदिन भनेको छ । तसर्थ ती कम्पनीले अब प्रतिसेयर नेटवर्थ ९० भन्दा माथि कायम गरेर सोको पुष्टि हुने कागजातसहित बोर्डमा पुनः आवेदन दिनुपर्नेछ । बोर्डमा पुनः आवेदन दिएपछि मात्रै पाइपलाइनमा थप हुनेछन् ।
पाइपलाइनबाट हटाइएका १४ कम्पनीलाई अहिलेकै प्रक्रियाबाट आईपीओको स्वीकृत दिन नसक्ने भएपछि पुनः निवेदन दिन सक्नेगरी हटाइएको घिमिरेले बताए । यसरी हटाइएका कम्पनी अधिकांश हाइड्रोपावर छन् ।