पूर्व विद्यार्थी नारायणको पहलमा लियो क्लब अफ काठमाडौं युरेकाद्वारा डिजिटल सूचना केन्द्र स्थापना

२० जेठ, प्युठान

डिजिटल पहुँचबाट वञ्चित रहेको एक दुर्गम ग्रामीण क्षेत्रमा प्रविधिमैत्री शैक्षिक वातावरण तयार गर्ने उद्देश्यले पुर्व विद्यार्थी नारायण सुनार साथै लियो क्लब अफ काठमाडौंले गौमुखी गाउँपालिका–४, प्यूठानस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा डिजिटल सूचना केन्द्र स्थापना गरेको छ। यस केन्द्रमार्फत विद्यार्थीहरूलाई आधुनिक प्रविधिको सहायताले गुणस्तरीय सिकाइमा संलग्न गराउने लक्ष्य लिइएको छ।

सुदूर ग्रामीण भेगका शैक्षिक संस्थाहरूमा अझैपनि इन्टरनेट, कम्प्युटर, डिजिटल बोर्ड, तथा ई–स्रोतसाधनहरूको अभाव छ। यस्तो पृष्ठभूमिमा लियो क्लब अफ काठमाडौं युरेकाले डिजिटल साक्षरता अभिवृद्धिको अभियान सुरु गर्दै श्री महेन्द्र माविलाई केन्द्र बनाउँदै डिजिटल सूचना केन्द्र स्थापना गर्नु एक ऐतिहासिक कदम मानिएको क्लबकी अध्यक्ष कुसुम पौडेल बताएकी छन्।
यस केन्द्रको उद्घाटन एक विशेष कार्यक्रममार्फत सम्पन्न भयो। प्रमुख अतिथि गौमुखी–४ का वडा अध्यक्ष श्री धनिराम सुनार रहेका थिए। उद्घाटन समारोहमा विद्यालयका शिक्षकहरू, व्यवस्थापन समिति, अभिभावक, विद्यार्थीहरू, स्थानीय सामाजिक अगुवा तथा राजनीतिक प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनारले भने, गाउँको बालबालिकाले पनि सहरजस्तै प्रविधिमा पढ्न पाउने वातावरण बनाउनु पर्छ भन्ने सोच अब व्यवहारमा परिणत भएको छ। लियो क्लब अफ काठमाडौं युरेकाले गाउँमै यस्तो अभियान सुरु गर्नु अत्यन्त प्रशंसनीय रहेको र पूर्व विद्यार्थी नारायण सुनारलाई समेत धन्यवाद दिएका छन्।

त्यसैगरी विद्यालयका **प्रधानाध्यापक श्री बमबहादुर के.सी.**ले डिजिटल केन्द्रमार्फत विद्यार्थीहरूको सिकाइ क्षमतामा सकारात्मक रूपान्तरण आउने विश्वास व्यक्त गरे। उनले क्लबप्रति कृतज्ञता प्रकट गर्दै विद्यालयले सबै स्रोतसाधनको उच्चतम उपयोग गर्ने प्रतिबद्धता पनि जनाए।

परियोजनाको मुख्य प्रेरकका रूपमा समाजसेवी श्री बमबहादुर सुनारलाई लियो क्लबले विशेष धन्यवाद दिएको छ। उनको सुझाब र मार्गदर्शनमा यो परियोजना सम्भव भएको क्लबले जनाएको छ।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सम्पूर्ण शिक्षकवृन्द, अभिभावक, तथा वडा स्तरका सबै राजनीतिक प्रतिनिधिहरूले पनि कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याएको क्लबको भनाइ छ।

लियो क्लब अफ काठमाडौं युरेकाका पदाधिकारीहरू कुसुम पौडेल अध्यक्ष प्रथम उपाध्यक्ष निर्मलराज शाही सचिव अनिसा कार्की साथै सहसचिव नारायण सुनार र दिबस धितालले सेवा भावनाबाट प्रेरित, नेतृत्व विकासमा समर्पित र शिक्षा सशक्तिकरणमा केन्द्रित रहेको जानकारी दिएका छन्।
विशेष आकर्षणको रूपमा विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रमहरूले सम्पूर्ण वातावरणलाई उल्लासमय बनायो। लोकनृत्य, देशभक्तिपूर्ण गीत, नाटक र कविता वाचनले डिजिटल उद्घाटन समारोहलाई शिक्षामैत्री मात्र नभई सांस्कृतिकरूपमा पनि समृद्ध बनायो।

सूचना केन्द्रमा कम्प्युटर सेट, इन्टरनेट सुविधा, प्रोजेक्टर, डिजिटल कन्टेन्ट, अनलाइन स्रोतहरूसहितको सुविधाजनक वातावरण तयार गरिएको छ। अब विद्यार्थीहरू डिजिटल प्लेटफर्महरूसँग परिचित हुँदै विश्वसनीय स्रोतहरूबाट अध्ययन गर्न सक्नेछन्। यो केन्द्र शिक्षकहरूका लागि पनि शिक्षण विधिमा नविन प्रयोग गर्न उपयोगी हुने विश्वास गरिएको छ।

क्लबका अनुसार डिजिटल नेपाल अभियानसँग मेल खाने गरी प्रविधिको पहुँच सबै स्थानसम्म पुर्‍याउने अभियानमा यो परियोजना एउटा नमुना बन्न सक्नेछ। हामी टेक्नोलोजीको सहयोगमा ग्रामीण शिक्षालाई रूपान्तरण गर्ने अभियानमा छौं क्लबका सहसचिव नारायण सुनारले भनेका छन् ।
क्लब अफ काठमाडौं युरेकाले आगामी दिनहरूमा प्यूठान, रोल्पा, सल्यान लगायतका अन्य पिछडिएका क्षेत्रहरूमा पनि यस्ता प्रविधियुक्त शैक्षिक पहलहरू विस्तार गर्दै लैजाने योजना बनाएको छ। त्यसका लागि स्थानीय निकाय, समाजसेवी, शिक्षक तथा अभिभावकहरूको सहकार्य अपरिहार्य हुने क्लबका उपस्थित पदादीकारीहरुले स्पष्ट पारेको छन।
महेन्द्र माविमा स्थापित डिजिटल सूचना केन्द्र केवल कम्प्युटरको सेट होइन, भविष्य निर्माणको सम्भावना हो। यसले गाउँमा बस्ने एक सामान्य विद्यार्थीको सपना डिजिटल युगसँग जोड्ने पुलको काम गर्नेछ।

लियो क्लब अफ काठमाडौं युरेकाको यो सेवा केवल परियोजना होइन, एउटा चेतना हो — शिक्षाको अधिकारलाई समानताको भाषामा अनुवाद गर्ने संकल्प हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation