
यो लेखको मुख्य उद्देश्य प्युठान जिल्ला स्थित पुजागाउँको भौगोलिक, सांस्कृतिक र मानवीय विषयहरूमा जानकारी दिनु रहेको छ। यो लेखबाट पाठकहरूलाई पुजा गाउँको विविध पक्षमा यथार्थपरक धारणा बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ :
१. राज्यको पछिल्लो संरचनाअनुसार प्युठानका नौओटा पालिकामध्ये गौमुखी गाउँपालिका वडा नं ४ मा ऐतिहासिक पुजा गाउँ पर्दछ। पुजा गाउँको केन्द्रभाग मानिने मष्टाथान २८.२२६ उत्तर अक्षांश र ८२.९८३ पूर्वी देशान्तरमा पर्दछ। पूजा शब्दको अर्थ प्रकृतिप्रति श्रद्धा वा आराधना गर्ने धार्मिक वा आध्यात्मिक प्रक्रियालाई बुझाउँदछ। पुजा शब्द मगर र खस दुवै सम्प्रदायले उत्तिकै प्रयोग गर्ने गर्दछन्। खस वा मगर संस्कृतिमा प्रकृति, जमिन, पहाड, पूर्वज र धामी आदिको पूजा गर्ने प्रचलन हुन्छ। यही पूजा कर्म गर्ने थलोको रूपमा यो गाउँलाई पुजा भनिएको हुनुपर्छ। २०३२ साल पूर्व पुजा र यस सँगै रहेका रजबारा, अर्खा जस्ता गाउँहरू बाग्लुङ जिल्लाअन्तर्गत रहेका थिए। त्यसबेला यहाँका जनताहरू अड्डाको कामको लागि चारपाँच दिन पैदल हिँडेर बाग्लुङ सदरमुकाम आउजाउ गर्नुपर्ने बाध्यता थियो।
प्युठानको पुजा गाउँ पहाडी भूभागबाट बनेको क्षेत्र हो। उत्तर हुँदै दक्षिणतिर तेर्सिएको महाभारत पर्वतमालाबाट पुजाको डुमेगाउँ, ठुलोगाउँ र पल्लावन डाँडाकटेरीको भू-भाग समेटिएको छ। पूर्वतर्फ फर्किएका यहाँको पहाडी भू-भाग र सुन्दर बस्तीहरू घमाइला छन्। यो गाउँ प्युठान सदरमुकाम खलङ्गादेखि ४० किलोमिटरको सडक दूरीमा रहेको छ। पूजाको क्षेत्रफल २४.७ वर्ग किलोमिटर रहेको छ। २०७८ को जनगणनाअनुसार यस गाउँमा ४७२८ जना मानिसहरूको बसोबास रहेको छ।
२. पुजा गाउँका आदिवासी मगर जातिहरू हुन्। यहाँका कैयन ठाउँहरूको नाम मगर भाषाबाट नामाकरण गरिएको छ। जस्तै बाग्लीवाङ, खोलावाङ, जुवाङ, सासीवाङ, राशीवाङ, पासावाङ, खसीवाङ, धुवाङ, मङ्ग्रवारी आदि रहेका छन्। पुजा गाउँका मुख्य बस्तीहरूमा पुजाको ठुलोगाउँ, खोलावाङ, बाग्लीवाङ, जारगाउँ, डुमेगाउँ, काफलबासा, लिवासी, ठुलाबेसी गाउँफाटा, धनमुढा , डाँडाकटेरी, लैसाराजस्ता ठूला बस्तीहरू रहेका छन्।
ठुलो गाउँभित्र पनि ढाँड, सुनीगाडे, साकिन्चौर, बुढाघर, टाकुरा, खसीबाङ, गाँडापानी, गौंडा, टोमटाटोल, कोड्का, कमेंरपानी, धरमपानीजस्ता टोलहरू रहेका छन्। त्यसैगरी बाईबिसौना, तिस्का, बाटुलपाटा, मुख्यपोखरा, स्वास्नीढुङ्गा आदि रहेका छन्। पल्लावन बस्तीमा जेमरकट्टा , धनमुढा, खलाचौर, गोठाटी , ठूलाचौर, गैराखरक, डाँडाकटेरी, अखटेन, फप्रेटा, पासावाङ र लैसाराजस्ता टोलहरू रहेका छन्।
गौमुखी गाउँपालिकाको मुख्य शैक्षिक थलो र बजार क्षेत्र रहेको ठुलाबेसी २०४४ साल पूर्व पुजामा नै पर्दथ्यो। २०४४ मा भएको जग्गा नापीको समयमा पुजाका प्रधानपञ्चले ठुलाबेसीलाई छिमेकी खुङ पञ्चायतमा नापी गराएका थिए।
हाम्रा पुर्खाहरूले पुजागाउँलाई आफ्नो थलो छनोट गर्नुको के कारण थियो होला ? हामी अनुमान गर्न सक्छौं, त्यस समय ठुलो परिमाणमा पशुहरु पाल्ने जमाना थियो। यसका साथै जमिन बिराउने/ खन्ने र आफ्नो नाममा निःशुल्क दर्ता गर्ने समय थियो। यसका लागि पुजा गाउँमा राम्रो सम्भावना भएको ठाउँको रूपमा पूर्वजहरूले लिएको हुनुपर्छ।
त्यस समयका हाम्रा पूर्वजहरूको स्वभाव घनाजङ्गल फाँडेर बारी विराउने, खेत खन्ने, पशुहरु पाल्न गोठ बस्ने, सिकार खेल्ने, पौरखी र निडर स्वभावका भएको तथ्य पाइन्छ। उनीहरू अत्यन्त कठोर मेहनत गर्ने प्रकृति र कुलप्रति अत्यन्त विश्वास गर्ने स्वभावका रहेको देखिन्छ ।
३.पुजा गाउँ प्राकृतिक रूपले सुन्दर, मानव बसोबासको लागि अनुकूल हावापानी एवम् विविध संस्कृतिले भरिपूर्ण रहेको छ। पुजा गाउँमा जङ्गगल, खोला, पहाड तथा हिमाली दृश्यहरूको अनुभूति, न्यौपाने, सन्यासी, आचार्य, पोखरेल, दलित आदिको मिश्रित जातीय तथा साँस्कृतिको अनुभव गर्न सकिन्छ । यहाँको स्वच्छ वातावरण, आकर्षक लाग्ने घरहरू सुन्दर बस्तीहरू र आपसी हार्दिक भावनाले मनै लोभ्याउने गर्दछ। यहाँका ग्रामीण बस्तीहररूका अलावा विभिन्न जातजाति र चाडपर्व संस्कृतिले आपसी निकटता वृद्धि भइरहेको प्रतीत हुन्छ।
-पुजा गाउँका केही महत्त्वपूर्ण स्थानहरू:
(क) तामा खानी
१९ औँ शताब्दीमा राणाहरूको मुख्य आम्दानीको स्रोतहरूमध्ये बाग्लुङमा रहेका २२ खानीमध्ये पुजाको तामाखानी पनि, एक रहेको थियो। झण्डै सय वर्षसम्म पुजाको जारगाउँमा आग्री, रोका तथा विकहरूले तामाखानी उत्खनन गरेको इतिहास रहेको छ । यहाँबाट उत्खनन गरिएको तामाको धाउ परम्परागत आफर लगाएर जारगाउँकै कोटगाउँ, कदमचालजस्ता ठाउँहरू र पुजाको बिच गाउँमा रहेको टोमटाहरूको सामूहिक आरनमा प्रशोधन गर्ने गरिन्थ्यो। वार्षिक रूपमा राणा शासनको लागि २५ धार्नी तामाको तिरो (तत्कालीन भाषामा “भेजा”) तोकिएको बताइन्छ। कतिपय बुढापाकाहरूले भने प्रतिघर सात धार्नी तामाको तिरो तिर्नुपर्ने भन्नुहुन्छ। सो तमाखानीका ३०० मिटर परसम्म पुगेका शाखा प्रशाखा सुरुङहरू पन्ध्र वटा जति रहेका छन् । हामी त्यहाँ भित्र गयौं भने तामा उत्खनन गरेका घोर अन्धकार सुरुङहरु देख्न सकिन्छ। खानी उत्खनन् गर्ने काम ज्यादै जोखिमपूर्ण कार्य थियो। खानीभित्र सुरुङ भत्केर विसं १९७० मा एकैचोटि २२ जना मजदुरहरू फसेर ज्यान गुमाएका थिए। खानी उत्खनन गर्ने ती मजदुरहरूको सब अझै पनि खानीभित्रै अड्किएको कुरा स्थानीय लालबहादुर सुनार बताउनुहुन्छ । यो घटनाको कारण राणाहरू खानी नै बन्द गर्न बाध्य भएका थिए। त्यतिबेलाको कमजोर प्रविधिबाट पनि पुर्खाहरूले आफ्नो ज्यानको बाजी थापेर जोखिमपूर्ण खानी सञ्चालन गरेका थिए । त्यो बाध्यताको इतिहास सम्झँदा हामीलाई चिन्ता लागेर आउँछ। जारगाउँको तामाखानी सञ्चालनको लागि कोट बनाएर राज्यको प्रतिनिधि खटाइएको थियो। जसलाई स्थानीयहरू खानीको राजा भन्दथे। हाल पनि जारगाउँमा कोटगाउँ भन्ने स्थान रहेको छ। जहाँ खानीको राजा बसेको बताइन्छ।
( ख) रामचे तथा जुपालधुरी
रामचे पूजाको सबैभन्दा अग्लो पहाडी चुचुरा हो। यसको उचाइ २४३० मिटर जति रहेको छ। यो तामाखानीदेखि सिधा माथि अवस्थित सुन्दर पहाडी चुचुरा हो। जुपालधुरी पुजाको दोस्रो अग्लो धुरी हो। यसलाई सिङ्गो पुजागाउँको शिर गौरवको रूपमा लिइन्छ। यसको उचाई २३२० मिटर रहेको छ। बसन्त ऋतुमा लालीगुराँस फुलेर ढपक्क ढाक्ने रामचे र जुपाल धुरीले सिङ्गो पूजा गाउँलाई शोभायमान बनाएको महसुस हुन्छ।
(ग) देउतीबोइको थान
आजभन्दा झण्डै ३५० देखि ४०० वर्ष पहिला पुजा आएका पाँच भाइ न्यौपाने मध्ये एक भाइ थिए, वेदु पाध्य। उनको आफ्नै कमारो (दास) ले हत्या गरेको इतिहास छ। सती प्रथाको कारण पतिको मृत्युपछि बेदुकी श्रीमतीले आफ्नो पाँचवर्षीय छोरा हेमन्तलाई छोडेर सती गइन्। बेदुपाध्य र उनकी श्रीमतीको ठूलाबेसी नजिक रहेको मसानघाटमा दु:खद सामूहिक अन्त्यष्टि भएको बताइन्छ। जुन ठाउँलाई अहिले पनि सतिघाट भनिन्छ। जिउँदै जलाएकी सतीको सम्झनामा उनका सन्तानहरूले पुजाको टाकुरा नजिक देउतीवोइ (सतीबै) को मन्दिर बनाएको इतिहास रहेको छ। त्यहाँ हरेक कार्तिक र बैशाखे पूर्णीमामा सतिबैको पूजा र स्मरण गर्ने गरिन्छ।
(घ) लिवासी
पउजा गाउँको लेवासी गौमुखी गाउँपालिकाको केन्द्रको रूपमा रहेको छ। यहाँ २०३८ सालमा माथिल्लो भेगका जनताको लागि पहिलो पटक स्वास्थ्य चौकीको स्थापना गरिएको थियो। हाल यहाँ गौमुखी गाउँपालिकाको प्रशासकीय भवन, पालिका अस्पतालका साथै इलाका प्रहरी कार्यालय रहेको छ।
(ङ) बाग्लीबाङ
दलितहरूको मात्र १७० घरहरू रहेको बाग्लीबाङ निकै घना र मौलिक दलित बस्ती हो । त्यहाँको रहनसहन, बोली र संस्कृति मौलिक प्रकारको रहेको छ। बाग्लीबाङमा बाँस तथा चोयाको भाँडा तथा सामग्रीहरूको परम्परागत उत्पादन हुने गर्छ। चोयाबाट डाला, फुङ्गा, मान्द्रो, डोको, राँय, ओरो, भकारी आदि सामग्रीहरू बुन्ने गरिन्छ। यस्ता उत्पादनहरू बोकेर प्यूठान गुल्मी, अर्घाखाँचीका बस्तीहरुमा बेच्नजाने चलन थियो। राम्रो आम्दानी नभएपछि आजकल यो पेशा लोप हुने अवस्थामा पुगेको छ। बाग्लीबाङमा आफ्नै प्रकारको लवजको भाषाशैली रही आएको छ।
यहाँ मौरीबराहा, पुरानी बराहा, महावीर,सिद्धको पूजा र देवालीहरू गरिन्छ। भदौको जनैपूर्णीमा हुने बजु पूजामा बाग्लीबाङ र जारगाउँमा भेडाका साँढ र कुखुराको बली दिने चलन छ। धामी/लामा संस्कृति बाग्लीबाङको अर्को पहिचान रही आएको छ। यहाँका चर्चित परम्परागत लामाहरू आफ्नो ढेँङ्ग्रो र छेलामाला बोकाएर बिरामीहरुको उपचारमा देशकोट पुग्ने गर्दथे। आजभोलि त्यहाँ आधुनिक उपचारको लागि स्वास्थ्य इकाई पनि खुलेको छ। आजकल भने लामा संस्कृति घट्दो अवस्थामा रहेको छ। पछिल्लो समयमा शिक्षामा अगाडि बढीरहेको यो गाउँबाट बसाईसराई बढदै गएको छ।
(च) गोद्रेचौर
यो निकै सुन्दर चौर हो। यहाँबाट प्युठान, गुल्मी र बाग्लुङका पहाडी तथा हिमाली दृश्यहरू दृश्यावलोकन गर्नको लागि उपयुक्त मानिन्छ। यसको उचाइ २०३४ मिटर रहेको छ। गोद्रेको सफा चौरमा सुन्दर पोखरीहरू, मन्दिर, ठाँटी, सेल्फी खिच्ने ठाउँ र वनबोज स्थलहरू रहेका छन्। विशेषगरी ढुङ्गे बगैंचा र पान पोखरी अहिलेका कृतिम आकर्षणका केन्द्र हुन् ।
(छ) चामलकोट
पुजाको पल्लावन स्थित निकै रमणीय धुरीलाई चामलकोट भनिन्छ। त्यहाँ बर्खे र चैते दशैँको अष्टमीमा बोका, कुखुरा, परेवा पुजाआजा गर्ने प्रचलन रहेको छ। भुरे टाकुरे राजा कतै आउजाउ गर्दा त्यहाँ बास बसेको र पालेपहरा राखेर सेनाको लागि छाप्रोमा चामल थुपारेर राखेको जनश्रुति सुनिन्छ।
- वनजङ्गल
पूजा गाउँको माथिल्लो भेगमा निकै मनमोहक र घना जङ्गल रहेको छ। तारेभीर, जुपाल, जेँही, कुक्केन, पराङ्गी, रामचे यहाँका केही महत्वपूर्ण जङ्गलहरू हुन्। यहाँको जङ्गलगलमा खर्सु, बाँझ, गुराँस, अएँर, चन्दन, चौतारी, भूङसल्लो पाइन्छ। जङ्गली जनावरहरूमा बाघ, चितुवा, राते,घोरल, बाँदर, ढेडु, स्याल, दुम्सी,बँदेल आदि रहेका छन्। चराहरुमा कालिज, ढुकुर, हलेसा , गिद्ध, च्याखुरा, कल्चुके, लामपुछ्रे, चाँचर आदि पाइन्छन्। स्थानीय जनताहरूले घाँस, दाउरा, सोत्तर, स्याउला र काठ जंगलबाट प्राप्त गर्ने गर्दछन्। पहिला पहिला पुर्खाहरूले गाइवस्तु लिएर जङ्गलमा गोठबस्ने प्रचलन थियो। आजकल यो प्रचलन हट्दै गएको छ।
-शिक्षा तथा सचेतना
पुजा गाउँको पहिलो विद्यालयको रूपमा वि.सं. २०१८ सालमा हालको महेन्द्र माध्यमिक विद्यालयको स्थापना भएको थियो। यो विद्यालय सुरुमा तिन कक्षासम्म पढाइ हुनेगरी गाँडापानीचौरमा स्थापना गरिएको थियो। पछि २०३६ सालमा कोडकामा स्थानान्तरण गरिएको थियो। पुजाको दोस्रो विद्यालय वि.सं. २०३८ सालमा खलाचौरमा स्थापना भएको थियो। यी विद्यालय बाहेक हाल पूजा गाउँभित्र काफलबासा, जारगाउँ, बाग्लीबाङ, खोलाबाङ, गाँडापानी, गौडेंचौर र लैसरामा आधारभूत तथा प्रावि स्तरका विद्यालयहरू रहेका छन्। विद्यालयहरू स्थापना गर्न र सञ्चालन गर्न स्थानीय जनताहरुले लामो समयसम्म जनश्रमदान र आर्थिक सहयोग गरेका थिए।
पूजाबासीहरू आसपासका गाउँहरू भन्दा शिक्षा, राजनीति, नेतृत्व र चेतनास्तरमा थोरै माथि रहेको मानिन्छ। यहाँका जनता न्यायप्रेमी भावना र विद्रोही स्वभावको मानिन्छन्। पुजा व्यवसायिक क्षेत्रमा पनि चनाखो रहेको देखिएको छ।
– सडक सञ्जाल
पूजालाई सात तिरबाट सडक सञ्जालले छोएको छ। ठुलाबेसी, लेवासी, फड्के, गोठाटी, गोद्रे , डाँडाकटेरी, जुबाङबाट जोडिएका सडकहरुबाट पुजामा आवतजावत गर्न सकिन्छ। ठुलाबेसीदेखि पूजा जोड्ने सडकमा पक्किपुल बनेको छ भने, केही भाग कालोपत्रे पनि गरिएको छ। गाउँमा तारघाटको लागि पाँचवटा झोलुङ्गे पुल बनेका छन।
– पदमार्गहरु
(क) गोद्रे-झाँक्रीढुङ्गा पदमार्ग
गोद्रेदेखि सुरु हुने यो रमणीय पदमार्ग तारेभिर मुलाछर्ने कुजाडे हर्तनगाउँसम्मको आकर्षक जङ्गलको किनारै किनार हुँदै धार्मिकस्थल झाँक्रीढुङ्गासम्म पुग्न सकिन्छ। झाँक्रीढुङ्गा धार्मिक दृष्टिकोणले मात्र होइन प्राकृतिक रूपले पनि निकै मनमोहक रहेको छ। घनाजङ्गल, हिमाली दृश्यावलोकन, भीमकाय जोडीढुङ्गाहरु (झाँक्री र झाक्रिनेको प्रतीक) विभिन्न मौसममा फुल्ने विविध फूलहरू त्यहाँका आकर्षण हुन।
(ख) तामाखानी पदमार्ग
यो ठूलाबेसीबाट सुरु गरेर पूजा खोलावाङ, बग्लीवाङ हुदै तामाखानीसम्मको यात्रा गर्न सकिन्छ। तामाखानी नजिकसम्म मोटरगाडी पनि चल्ने गर्दछ।
(ग) हिले-टावर पदमार्ग
यो अर्को रोचक पदमार्ग छ। ठूलाबेसी डूमेगाउँ पातीहाल्नादेखि हिलेस्थित टेलिफोन टावर सम्मको। जहाँबाट प्युठान र गुल्मीका सुन्दर ग्रामीणबस्तीहरू, जङ्गल, चराचुरुङ्गी र हिमश्रृङ्खलाहरूको अवलोकन गर्न सकिन्छ।
- सांस्कृतिक पक्ष
(क) मष्टको ठुलो देवाली
जापुको बिचौँबिच भाग मानिने मस्टथानको उचाइ समुद्री सतहदेखि १७०० मिटर रहेको छ। जहाँ न्यौपानेहरूको कुलपूजा हुने गर्दछ। यो पुजा गाउँकै सबैभन्दा ठुलो सांस्कृतिक धरोहरको रूपमा रहेको छ। यस देवालीलाई निकै निष्ठापूर्वक मनाउने गरिन्छ । देश बिदेशका हजारौं दर्शनार्थीहरूको सहभागिता रहने यस देवालीको प्युठान जिल्लामा विशेष महिमा रहेको छ। मष्टथानको धामीहरूको ठुलो महत्व रहेको हुन्छ। समाजसेवासहितका सुन्दर आलमहरूका बिच दर्जनौँ धामीहरूले देवालीमा परापूर्व कालदेखिका कैयन ओखाभाकाहरू भट्याउदै क्षमा पूजा गर्दछन्। न्यौपानेहरूले आफ्नो कुल देवताको रूपमा मङ्सिर महिनाको शुक्लपक्षको सप्तमीको दिन निकै श्रद्धापूर्वक यो देवाली गर्दछन्।
देवाली हुनुपूर्व तीनदिनदेखि चोखो खाने चलन छ। मष्टको ठुलो देवालीमा सयौं बोकाको बलि चढाइन्छ। मूल पुजारा रोमलाल शर्मा र मुलधामी हेमराज पोखरेलको भनाइअनुसार दारेमष्ट, मण्डली, कुलबराह, रुमाल, सिद्ध, लक्ष्मी, कुलदेवी गरी सातवटाको पूजा गरिन्छ। न्यौपानेहरू पूजा गाउँमा १८ घर बनेपछि, जुम्ला गएर कुलदेवताकाे रूपमा घण्टी पाला र निगालामा ध्वजा बाँधेर देवाली लीएर आएको भनिन्छ।
(ख) बराहको सानो देवाली
पुजाको दोस्रो ठुलो सांस्कृतिक पर्वको रूपमा लक्ष्मी बराहको देवाली स्थापित छ। यसलाई सानो देवाली पनि भन्ने गरिन्छ। यो देवाली गर्ने स्थान (ब्रहाथान) १७३१ मिटरको उचाइमा रहेको छ। यो देवाली मङ्सिर महिनाको शुक्ल पूर्णिमाको दिन भेडाका साँढ र बोकाको बलि दिई मनाउने प्रचलन रहेको छ। बराहलाइ खासगरी मगर जातिहरूको कुलदेवताको रूपमा मानिन्छ। पूजा गाउँका आदिवासी मगरहरू विस्थापित हुने बेला उनीहरूले छाडी गएको बराह पूजा यो गाउँमा बसोबास गर्ने सबै जातिहरूले अपनाउँदै आएको बताइन्छ। धामी पूजाराहरूको भनाइअनुसार यस देवालीमा लक्ष्मी बराहा, सिद्ध र लक्ष्मीको पूजा हुने गर्छ। देवाली हुनु पूर्व दुई दिन चोखो खाने चलन छ।
(ग)भूमें पूजा;
पूजा गाउँको आडचौर, तीस्का, जुवाङ,जारगाँउ, बग्लीबाङमा मङ्सिरको शुक्लपञ्चमी तिथिमा श्रद्धा र निष्ठापूर्वक भुमेपूजा गरिन्छ। यसमा गाईको दुधको धार र बोका, कुखुरा, कमर पाठीको बलिदिने चलन छ।
पुजा गाउँमा रहेका अन्य सांस्कृतिक पक्षहरू
पुर्नागाउँका विक समुदायको दारेमष्ट देवाली हुने गर्छ। खोलाबाङमा सुनारहरूको देवालीमा झाँक्री बराह र सिद्धको पूजा गर्छन्। लैसरास्थित अर्घालीहरूको देवालीमा बराह र सिद्ध बराहको पूजा गर्छन्।
पोखरेल लेख्ने पन्थीहरूले खलाचौरको देवालीमा कुलवराहा, दारेमष्ट र मण्दाल्निको पूजा गर्छन् ।
दलित समुदायले कोड्काको घन्ट झुन्डाउनेमा झाँक्री र मष्टको देवाली गर्छन्। काफलबासामा विकहरूले बराह झाँक्रीको देवाली गर्ने गर्छन्।
(घ) विविध पूजाआजाहरू
ब्रहमा पूजा गाउँको अर्को एउटा परम्परागत संस्कृतिको रूपमा रहेको छ। तिखुर्चौर, चामलकोट र डुमेगाउँमा यो पूजा हुने गर्छ। रोगव्याधिकी देवी भनिने माईको पुजा चामलकोट, जारगाउँ र पखरचौरमा हुने गर्छ। मुलाछर्नेमा सिद्धकाे पूजा हुने गर्छ। सिद्धलाई पानी र जङ्गलको सुरक्षाको लागि पुज्ने विश्वास रहेको छ।
नागकाे पूजा गाउँखोलामा गर्ने गरिन्थ्यो। कतिपय पूजाआजाहरू समाजमा घट्दो धार्मिक विश्वासको कारण बिलाएर जाने स्थितिमा छन्।
(ङ) पुजा गाउँका अन्य सांस्कृतिक पर्वहरू
भैलो, भजन, हनुमान जगाउने नाँच, कालरात्री, तीजका गीत नाँच र राम, दशैंमेला, फागु खेल्ने गीत, दोहोरी गीत ज्यादै प्रचलित छन्। स्थानीय भाषामा झाम्रे भनिने दोहोरी गीत र फागु खेल्ने गीत भनें आजकल हराउँदै गएका छन। लोक नृत्य, वनपाखामा घाँस दाउरा गर्दा गाउने गीत, धाँमिनाँच, झाँक्रीनाँच आदिका सांस्कृतिक झलकहरू रहेका छन्।
बजाउने बाजाहरुमा दमाहा, ट्याम्को, ढोलक, सनही,बिगुल, नरसिंगा,भोंकर, मादल, मजुरा, झ्याली, मुरली, बाँसुरी, डम्फु आदि रहेका छन्।
- नदी तथा पानीका स्रोत
पुजा गाउँमा पानीका स्रोतहरू राम्रो रहेका छन्। झिम्रुक खोला, ठुलोखोला, गाउँ खोला यहाँका मुख्य पानीका स्रोतहरू हुन्। यसका अलावा गाँडापानी, बाहुनकुडा, अर्घालीकुँडा, जुकेपानी, सिदुरेपानी, राईथान, मर्रबायँ, कमेरपानी जस्ता खानेपानीका कुवा र मुहानहरू पनि रहेका छन्। तर व्यवस्थित योजनाहरूको सञ्चालन नहुनाले सिँचाइ र खानेपानीको समस्याको पूरा समाधान हुन सकेको छैन।
-पुर्खाहरूको संघर्षमय इतिहास
हाम्रा पुर्खाहरूले बाघ भालु जस्ता हिंस्रक जङ्गली जनावरहरुको रजगजलाई नियन्त्रण गरे। तेल पेल्ने कोहोल, पानीघट्ट , आरन, ढिकी जाँतो जस्ता स्थानिय प्रविधिको विकास गरे। पुजाको घनाबन क्षेत्रलाई कैयन शताब्दी लगाएर मानव बसोबास गर्न मिल्ने गरी आवाद गरेर मनोरम गाउँ बनाएका थिए। उनीहरूले खेत, खरेन र बारीहरु निर्माण गरे। कुलो, पोखरी, बाटोहरू र पानी पधेराहरू निर्माण गरे । त्यसैगरी डालेघाँसका रुखहरु हुर्काए। लाँकुरी बर र पिपल रोपेर सम्झनाका चौपारी बनाए । हाम्रा अग्रजहरूले झाँक्रीढुङ्गा, कुकुरचेन, ठूलापात्ला , भोल्ताछे जस्ता घनाजंगली क्षेत्रका गोठाक्नाहरूमा पशुपालनको लागि दशकौं सम्म कठिन जिन्दगी बिताए। नुन, तेल, लत्ताकपडाको लागि बुटवल झन्डी र कोइलबासम्म ढाकर बोकेर सताब्दी गुजारे। माडीखोला दाङ र मधेसबाट बेसाह बोके। डाँडाहरूमा अनौठा लाग्ने बाघखोरहरू निर्माण गरेर बाघको बिगबिगीबाट मानिस र पशुधनको रक्षा गरे। घाँस दाउरा र हलो कोदालो गरेर पूरा जीवन बिताए। बाजा, गीत, र नाँचहरूको सिर्जना गरेर आफ्नै संस्कृतिको सिर्जना गरेर समाजलाई खुसी प्रदान गरे। गाउँहरूमा विद्यालय नहुँदा पनि गुरुहरू खोजेर केही न केही पढलेख गरेर लेखापढीलाई अगाडि बढाए। पुर्खाहरूको त्यो अथक भूमिकाबाट समाज परिवर्तनको लागि निरन्तर मेहनत गर्न हामीलाई प्रेरणा मिल्ने गर्छ।
- सुझाव खण्ड: प्युठानको पुजा गाउँ धेरै नै सुन्दर छ। न्यौपाने लगायत कैयन जात-जातिहरूको पितृ थलोको रुपमा रहेको रमणीय यो गाउँ संग हामी सबैको हार्दिकताको भावना जोडिएको छ। हाम्रा पूर्वजहरूले कैयन साहसिक कदम चालेर गाउँलाई विविध क्षेत्रमा विकसित गराउने प्रयत्न गरेका थिए । झिम्रुक खोला तर्न फड्के र ठूलाबीसीको साउखुट्टामा परम्परागत स्थानिय प्रविधिको प्रयोग गरेर काठे पुल बनाएका थिए। मसानघाटको लठ्ठावाला पुल बनाउन २०२५ सालमा पुजा गाउँबासीले कोइलाबासबाट खाली खुट्टा लठ्ठा बोकेको इतिहास छ। त्यसैगरी पाल्पाबाट लठ्ठा बोकेर २०३२ सालमा अग्रजहरूले फड्केमा पुल बनाएका थिए। यी दुवै लठ्ठावाला पुलहरु सिमेन्ट बिना स्थानीय प्रविधिमा नै बनेका थिए। भालुवाङ प्युठान मोटर बाटो खन्नको लागि पूजाबासीहरूले बाङ्गेशाल पुगेर श्रमदान गरेका थिए। विकासकाे लागि गरिएका यस्ता इतिहासहरूबाट हामीले प्रेरणा लिन सक्छौं। संसार वर्तमान समयमा धेरै नै विकसित सुखी बनिरहेको छ। त्यसको तुलनामा हाम्रा आफ्नै पुर्ख्यौली गाउँघरहरू पछाडि पर्दै गएका छन्। गुणस्तरीय शिक्षा, स्तरीय सडक, आधुनिक कृषि, अस्पताल, सिंचाई, खानेपानी, पर्यटन जस्ता अहम् विषयहरुमा हामीले गाउँलाई समृद्ध गराउन बाँकी नै छ। जे जति विकासका प्रयासहरू भएका छन् , तिनीहरू धेरै नै अपर्याप्त छन्। त्यसबाट हामीले सन्तोष प्राप्त भइरहेको छैन। हाम्रा पुर्खाहरूले सयौं वर्ष लगाएर बनाएका उर्वर बारी र खेतहरू बाँझिदै जान लागेका छन्। बालविवाह, मध्यपान, धूम्रपान, छोरी माथि अंसबिभेद, चर्को ब्याज र छुवाछुतजस्ता सामाजिक विसङ्गतिहरूबाट हामी अझै पूर्ण रूपमा मुक्त हुन सुकिरहेका छैनौँ। सुविधा र सभ्यताको विकास अनेकन प्रतिकूलताको बिचबाट नै हुने गरेको इतिहास छ। हामीले आफ्नो मातृभूमिप्रतिको कर्तव्यलाई सम्झेर यहाँ केही गर्नुपर्छ भन्ने अठोट लियौँ भने गाउँलाई सुखी र समृद्ध बनाउन सकिने छ।