१६ विद्यार्थी संगठनको माग – शिक्षक नियुक्तिमा शतप्रतिशत खुला प्रतिस्पर्धा हुनुपर्छ

१६ साउन, काठमाडौँ 

 १६ विद्यार्थी संगठनहरुले विद्यालय शिक्षा विधेयकमा शिक्षक नियुक्ति गर्दा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट नियुक्ति हुनुपर्ने व्यवस्था राख्न माग गरेका छन्।

आज नेपाल विद्यार्थी संघ, अनेरास्ववियु,अखिल क्रान्तिकारी,अखिल (समाजवादी) लगायत १६ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै शिक्षक नियुक्ति हुनुपर्ने माग राखेका हुन्।

ती संगठनले सरकारले पटक-पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिवद्धता जनाए पनि जारी नभएकाले अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न सरकार र सम्बन्धित निकाय समक्ष माग गरेका छन्।

‘शिक्षा ऐन, २०२८ ले निर्माण गरेका विभिन्न प्रकारका शिक्षक र कर्मचारीहरूको उपयुक्त व्यवस्थापनको दायित्व राज्यले लिनुपर्ने र शिक्षकको योग्यता गुणस्तरीय विद्यालय शिक्षाको मानक भएकाले विद्यालयका शिक्षक नियुक्ति प्रक्रिया संविधानले अङ्गीकार गरेको समावेशी मूल्य मान्यतासहितको योग्यता प्रणालीमा आधारित शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत मात्र हुने व्यवस्था विद्यालय शिक्षा ऐनमा सुनिश्चित गर्न संयुक्त विद्यार्थी संगठन सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

यसैगरी उनीहरुले विद्यालय शिक्षा विधेयक विद्यार्थीहरूको प्रत्यक्ष सरोकार र चासोको विषय भएकोले संयुक्त विद्यार्थी संगठनको अनिवार्य सहभागितामा सर्वपक्षीय संवाद, वार्ता र छलफलमार्फत मात्रै विधेयक अघि बढाउन पनि माग गरेको छ।

‘नेपालको संविधान, २०७२ को धारा ३१ मा व्यवस्था भएको शिक्षासम्बन्धी हक बमोजिम प्रत्येक नागरिकले माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निःशुल्क प्राप्त गर्न पाउनुपर्ने व्यवस्था अविलम्ब अक्षरशः कार्यान्वयन गर्न,त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयको ऐनमा व्यवस्था भएको विद्यार्थीको प्रतिनिधिमूलक साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन/कल्याण परिषद्‌को निर्वाचन अविलम्ब सम्पन्न गर्न माग गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ।

उठाइएका यी माग यथाशीघ्र सम्बोधन नभए संयुक्त विद्यार्थी संगठनले संघर्षका ठोस कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation