गुण्डा नाइके चक्रे मिलनसहित ४८ जना पक्राउ !

१६ साउन, काठमाडौं

उपत्यकामा बढिरहेको गुण्डागर्दीविरुद्ध प्रहरी निर्मम बन्न थालेको छ । आज रातभर प्रहरीले गुण्डाविरुद्ध अपरेसन चलाएको थियो ।

सोक्रममा महाराजगञ्जस्थित साम्बला होटलको आठौँ तलाबाट गुण्डा नाइके चक्रे मिलनसहित ४८ जना पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले  बताए। त्यहाँ चक्रे मिलनको जन्मदिन मनाउन उनीहरू जमघट भएको बुझिएको छ ।

उनीहरू अर्का गुण्डा नाइके दीपक मनाङेको प्रभाव क्षेत्र मानिने ठमेल क्षेत्रमा जाने तयारीमा रहेको प्रहरीलाई सूचना पुगेको थियो । ठमेल एलओडीमा चक्रे मिलनको टोली आउने तयारी र त्यहाँ मनाङेका समर्थक भेला भएपछि मुठभेडको सम्भावनासमेत बढेको थियो ।

‘विभिन्न अपराधिक गतिविधिमा संलग्न भएकाहरूको अवाञ्छित गतिविधि बढेपछि हामीले नियन्त्रणमा लिएका हौँ । पक्राउ परेकाहरूको क्रिमिनल ट्रयाक रेकर्ड आज बिहानदेखि केलाउन सुरू गरेका छौँ । त्यहीअनुसार कारबाही अघि बढ्छ’, आचार्यले जानकारी दिए ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टीमले गुण्डाविरुद्ध संयुक्त अपरेसन चलाएको थियो ।

हिजोमात्र सानुभाइ भनिने नुवाकोट ककनीका पटके गुण्डा युवराज गुरुङलाई ठमेलबाट पक्राउ गरेको थियो । नगरकोट दोहोरी साँझमा अत्याधिक मदिरा सेवनपछि दुई पक्षबीच वादविवाद हुँदा प्रहरी पुगेको थियो ।

त्यसक्रममा अर्का पक्षका नुवाकोट सूर्यगढी नगरपालिका-२ का ३० वर्षीय रवीन्द्र गुरुङ र पाँचथर फिदिम नपा-१० का २६ वर्षीय दिलकुमार तुम्बाफो पनि पक्राउ परेका छन् । उनीहरूले प्रहरीमाथि पनि दुर्व्यवहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation