
१२ चैत, काठमाडौं
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराउँदै छन्।
उनले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरे।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचित सदस्यको शपथका लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको र चैत १२ गते बिहीबार दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा शपथग्रहण हुने जानकारी दिए। उनले विवरण समावेश गर्नुपर्ने भएकाले शपथग्रहण हुनुभन्दा दुई घण्टाअगावै नवनिर्वाचित सदस्यलाई सिंहदरबारमा पुग्न आग्रह गरिएको बताए।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ले सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था गरेको छ।
















