
१३ चैत, प्युठान
प्युठान जिल्लाको माण्डवी गाउँपालिका–१ सिमलचौरमा शुक्रबार अपराह्न आगलागी हुँदा एक जना घाइते भएका छन् भने पशुचौपायामा समेत क्षति पुगेको छ।
अपराह्न करिब ३:३० बजे स्थानीय ६५ वर्षीय गिर बहादुर खत्रीको घर नजिकै रहेको मलखात, गोठ तथा परालको कुनिउमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी देविस्थानबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ।
आगो निभाउने क्रममा गिर बहादुर खत्री गम्भीर रूपमा घाइते भएका छन्। उनको दुबै हात, ढाड र घाँटी जलेको छ। घाइते खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ भने उनको अवस्था मध्यम रहेको जनाइएको छ।
आगलागीबाट दुई वटा भैँसी, दुई वटा गोरु र एक पाडी जलेर घाइते भएका छन्। क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
















