अघिल्लो दिन प्रहरीमा मिलापत्र गरेकी सिर्जना भोलिपल्ट जलेको अवस्थामा फेला

१६ चैत, नेपालगन्ज

बाँकेको नेपालगन्ज कोरियनपुरमा आइतबार बिहान जलेको अवस्थामा एक युवती भेटिएकी छन् । उनी जलेको अवस्थामा सडकमा भेटिएकी हुन् । २२ वर्षीया सिर्जना बुढा मगर (गीता)लाई प्रहरीले उद्धार गरेर अस्पताल लैजाँदा उनको मृत्यु भइसकेको थियो ।

प्रहरीका अनुसार शनिबार राति करिब ११ः३५ बजे कोरियनपुरस्थित सडकमा एक महिलाले आगो लगाएर जलेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । घाइते महिलालाई तत्काल उद्धार गरी भेरी अस्पताल पुर्‍याइएकामा उपचारकै क्रममा आइतबार बिहान ९ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा महिलाको जलेर मृत्यु भएको देखिए पनि कारण खुल्न सकेको छैन । घटनाको प्रकृति शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानलाई तीव्र पारेको जनाएको छ ।

मृतक युवतीकी तीन वर्षकी छोरीसमेत छिन् । पतिसँग सम्बन्धविच्छेद गरेर बसेकी उनी केही वर्षदेखि स्थानीय युवा २४ वर्षीय मो. आरिफ ढपालीसँग प्रेममा थिइन् । प्रहरीका अनुसार उनीहरू दुई वर्षदेखि लिभिङ टूगेदरका रुपमा बस्दै आएका थिए । उनीहरू नेपालगन्ज–८ रानीतालस्थित कोठा भाडामा लिएर बस्दै आएका थिए ।

माया–प्रेमबीच हुर्किएको उनीहरूको सम्बन्ध लामो समय टिक्न सकेन । उनीहरूबीच पनि आपसी सम्बन्ध राम्रो नभएको नेपालगन्ज उपमहानगर–१२ का वडाध्यक्ष तरुण बज्राचार्यले बताए ।

उनीहरूको झगडा पहिले पनि वडासम्म आइपुगेको र मेलमिलाप हुने गरेको वडाध्यक्ष बज्राचार्यले बताए । वडामा मेलमिलाप गरेका उनीहरूबीच केही दिनपछि पुनः झगडा परेपछि सिर्जनाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

मृतक सिर्जनाले चैत १३ गते आफूलाई कुटपिट गरेको भन्दै प्रहरीमा खबर गरेपछि सोही दिन राति आरिफ ढपालीलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका ढपालीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखी चैत १४ गते आपसी सहमतिमा मिलेर बस्ने सहमति गराई छोडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर, भोलिपल्ट नै सिर्जना जलेको अवस्थामा भेटिएकी हुन् ।

सिर्जनाकी फुपू गोमा लामासहित उनका आफन्तले उनका प्रेमीले जिउँदै आगो लगाएर सडकमा फालेको आरोप लगाएका छन् । मृतकका परिवारले अहिले शव बुझ्न मानिरहेका छैनन् । दोषीलाई पक्राउ नगरेसम्म उनीहरूले शव नउठाउने अडान लिएका छन् ।

यस सम्बन्धमा आरोपित मो. आरिफ ढपाली, उनका आमा तथा दिदीसहित अन्य व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आरोपित पुरुष ढपालीकै घरनजिक उक्त घटना भएको तर घटना भएको स्थान मृतक बस्ने कोठा नजिक नभई उनी आएको घर नजिकै रहेको हुँदा घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अंगुर जीसीले बताए ।

घटनामा मृतकले हत्या भएको हो कि होइन भन्ने विषयमा स्पष्ट हुन बाँकी रहेको र शवको पोस्टमार्टमसहित अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘हामीले दुई कोणबाट अनुसन्धान गरिरहेका छौं । आत्महत्या हो कि कर्तव्य ज्यान मुद्दा भन्ने अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक जीसीले भने, ‘आत्महत्या गरेको भए पनि अवस्था हेरेर दुरुत्साहन हो कि हैन भन्ने पनि अनुसन्धान गर्छौं ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation