स्ट्रेट अफ होर्मुज भएर आउ-जाउ गर्ने विदेशी जहाजबाट शुल्क उठाउँदै इरान

१७ चैत, काठमाडौं

इरानी संसदको सुरक्षा समितिले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाज तथा तेल ट्यांकरबाट ‘टोल’ (पारगमन शुल्क) असुल्ने योजनालाई स्वीकृति दिएको छ ।

इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आई.आर.आई.बी.) का अनुसार, यस योजनामा उक्त रणनीतिक जलमार्गबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क (टोल) उठाउने व्यवस्था छ । यस योजना अन्तर्गत अमेरिकी र इजरायली जहाजहरूको आवतजावतमा भने पूर्णप्रतिबन्ध लगाइने प्रावधान पनि समावेश गरिएको छ ।

संसदीय समितिबाट पास भएको नियमबाट अब स्ट्रेट अफ होर्मुज समुद्री मार्ग हुँदै गुज्रिने अन्तर्राष्ट्रिय जहाजहरूले शुल्क तिर्नुपर्ने बाटो खुल्ने छ । इरानले यो कदम आफ्नो सार्वभौमिकता सुदृढ गर्ने, सुरक्षा व्यवस्थापनको खर्च उठाउने तथा नयाँ राजस्व स्रोत सिर्जना गर्ने उद्देश्यले उठाएको जनाएको छ ।

हाल स्ट्रेट अफ होर्मुजलाई अन्तर्राष्ट्रिय जलमार्गको रूपमा मान्यता दिइएको छ, जहाँ सबै देशका जहाजहरूलाई स्वतन्त्र आवतजावतको अधिकार हुन्छ । यस्तो अवस्थामा इरानको यो निर्णय अन्तर्राष्ट्रिय समुद्री कानुनसँग बाझिन सक्ने विश्लेषण गरिएको छ ।

विशेषज्ञहरूका अनुसार, अमेरिका लगायत खाडी क्षेत्रका देशहरूले यस निर्णयको कडा विरोध गर्ने सम्भावना छ । यसले अन्तर्राष्ट्रिय नौवहन स्वतन्त्रतामा प्रश्न उठाउने मात्र होइन, विश्व बजारमा तेलको मूल्यमा पनि थप उतारचढाव ल्याउन सक्ने अनुमान छ ।

क्षेत्रीय तनाव बढ्ने संकेत

विश्लेषकहरूका अनुसार, यो निर्णयले मध्यपूर्व क्षेत्रमा तनाव अझै चर्किन सक्छ । इरानले भने होर्मुज क्षेत्रमा सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी आफूले निर्वाह गरिरहेको दाबी गर्दै, त्यसको बदलामा शुल्क लिनु उचित हुने तर्क अघि सारेको छ ।

यो कदमलाई इरानले होर्मुज स्ट्रेटमाथि आफ्नो नियन्त्रण र प्रभावलाई कानुनी रूपमा संस्थागत गर्ने प्रयासको रूपमा पनि हेरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, उक्त प्रस्ताव इरानको सार्वभौमिकता, नियन्त्रण र निगरानीलाई औपचारिक रूप दिने तथा राजस्वको नयाँ स्रोत सिर्जना गर्ने उद्देश्यले ल्याइएको हो ।

इरानी सांसद मोहम्मद रेजाको भनाइ उद्धृत गर्दै रिपोर्टहरूमा जनाइएअनुसार, अन्य अन्तर्राष्ट्रिय मार्गमा जस्तै होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क लिनु स्वाभाविक भएको तर्क प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation