
गृहमन्त्री सुदन गुरूङले सक्रिय काम गरिरहेको बेला, घण्टीमा मत दिने जनताले तारिफ गरेको बेला र सरकार त यस्तो सक्रिय हुनपर्छ भनि ओझ बढाएको बेला उनको “मर्यादाक्रम घटुवा” गरिदिएको किन होला ?
भन्न त “पद-सोपान मिलाएको” भनिया छ रे तापनि सन्देश भने उनलाइ “नसिहत र कारबाही” भएको रुपमा आइरहेछ।
बिचौलियाहरू समाएकै कारण घटुवा भएको हो कि ? विदेशी दबाबमा उनको घटुवा भएको हो कि ? यस्ता अड्कल काट्नेहरुलाइ केही तथ्यहरु यहाँ राख्ने प्रयत्न गरिएको छ ।
सुदनले २०६३-२०८२ सालसम्म २०४६-२०६३ सम्म र त्यो भन्दा अघि २०३६-२०४६ सम्म तीन चरणमा नागरिकता वितरणको छानविन गर्ने कार्ययोजना बनाएका रहेछन् ।
मेरो विचारमा उनी आगामी स्थानीय निर्वाचन अगाडि नागरिकता र मतदाता नामावली बीचको घोटाला हटाइ डिजिटल परिचयपत्र कार्यान्वयनको प्रारम्भिक उपलब्धिसम्म पुग्न चाहन्छन् ।
तर नागरिकता वितरणबारे छानविन भन्ने शव्द सुन्नेबित्तिकै उनको कार्ययोजनाले “फर्जी” नागरिकता लिनेदिनेहरूको मुटुको धड्कन बढाउनु स्वभाविकै हो र यस्तो परिस्थिति आइगोहोला । घण्टीमा छिरेका हरिया सापहरुबारे मैले गत आलेखमा बताएको छु। ती हरिया सापहरु निकै विषालु हुन्छन् भनेर बुबाहजुरले बताउनुभएको थियो। धमाधम देखिनथालेको छ ।
नेपालको नागरिकता प्रावधानहरु नै गोलमाल छ । जस्तै, वंशज नागरिकताको परिभाषा नै गलत छ।
वंशज नागरिकता दिनको निमित्त पुस्तौं पुस्ता देशभित्र विकसित ऐतिहासिक सभ्यता परम्पराको अंग बनी वंश धानेको हुनुपर्छ ।
त्यस्तो ऐतिहासिक सभ्यता परम्पराको अंग नबनेको वा वंश नधानेको व्यक्तिलाइ वंशजको नागरिकता दिनु नै गलत हो ।
नेपालमा त्यो गल्ती चार प्रकारले भइरहेको छ ।
१) अंगीकृत नागरिकको सन्तानले सहजै वंशज नागरिकता लिन्छ । अंगीकृत भनेकै बाहिरबाट आएको जसको वंशज मर्यादा नै स्थापित नभै उनका सन्तान कसरी वंशज हुनसक्छ ? प्रश्न गर्नुपर्दैन ?
२) बाउ-आमा ठेगाना नभएकोलाइ वंशज नागरिकता दिइन्छ । जसको वंशको बारेमा नै कुनै जानकारी अभिलेख छैन, ऊ कसरी वंशज हुनसक्छ ? प्रश्न गर्नु पर्दैन ?
३) वंश परम्परा त्यागेपनि, धर्म त्यागेपनि, संस्कार त्यागेपनि, वंशगत दायित्व कर्तव्य त्यागेर अवंशगत विदेशी विहेवारी गरि हिँडेपनि वंशज नागरिकता कुनै हालतमा खारेज हुँदैन ।
४) वंश परम्परा धानेपनि वंशगत दायित्व कर्तव्य निभाएतापनि आफ्नो जिविकोपार्जनको निमित्त विदेश बसोवास कारोबारमा केही सहुलियत लिन विदेशको स्थायी बसोबास सहज बनाउन नागरिकता लियो भने चाहिं वंशज नागरिकता खारेज गरिन्छ ।
यो व्यवस्था मिलेको छैन भनेर कराइरहेको पनि २० वर्ष बढी भैसक्यो, कुरै सुन्दैनन् । के रोग लागेको नेपालीलाइ ?
हेर रवि लामिछानेले विदेशी नागरिकता लियो, फर्केर देश बनाउछु भनेर आयो, उसको वंशज नागरिकता खारेज गरेर देशले के पायो ? उसलाइ त्यही बहानामा दुख: दिन खोज्नेहरु अहिले भर्याङमुनी लुकि बस्नुपर्यो कि परेन ?
लालबाबु पण्डितले पिआर धारीलाइ सत्तोसराप गर्दा मैले उनको धुँवाधार विरोध गरेको थिएँ । तर नेपालमा भने उनको सार्वजनिक अभिनन्दन भैरहेको थियो । अब गर्न सक्छ अभिनन्दन ? उनको त्यो अभिनन्दनमा प्रयोग भएको गम्छासमेत अहिले कुन दुलोमा लुकेको होला कुन्नि ?
त्यसैले भन्दछु, विचार र गतिविधि दीर्घकाल टिक्नेगरी पेश गर्न पर्छ । लहरमा छलाङ मारेको अल्पकाल मूतको न्यानोमा नफसाेस्।
एनआरएनले “एक पटकको नेपाली सधैंको नेपाली” नारा दिएको छ। त्यो नारा पनि गलत छ । त्यही भएर मलाइ एनआरएन मन पर्दैन । विदेशी शरणार्थी, अंगिकृतदेखि पैसो खर्चेर नेपाली नागरिकता किन्ने दाउदका छाउराहरु समेत सबै अन्तर्राष्ट्रिय तस्करहरुलाइ नेपाली हवाइ ट्रान्जिटमा निर्बाध सुविधा दिलाउने उल्लुबनाती खेलको नीति बमोजिम आएको नारा हो “एक पटकको नेपाली सँधैको नेपाली”। यो नाराले नेपाललाइ हित गर्दैन, लेखेर राख्नुस् ।
त्यो नारा भट्याएको र कार्यान्वयन गराउनको खातिर अहिले महान्यायाधिवक्ता नियुक्त भएको बुझिन्न र ? तर म विरोध गर्दिन । म त तमासा हेर्दै घण्टी हल्लाएर बस भन्ने हो ।
के हुनुपर्छ भनि सोध्यो भने जानेबुझेको कुरा बताइदिने हो ।
जस्तै, नागरिकताको सवालमा हुनुपर्ने त वंशजको नागरिकतामा अति कडाइ हुनुपर्ने हो । वंश परम्परा निरन्तरता रहेको प्रमाण नभइ वंशज नागरिकता दिनै हुँदैन। त्यो प्रमाण कसरी पेश गराउनेद ? त्यसको जानकारी चाहिए बरु बताइदिउँला । त्यो बेग्लै विषय भो ।
हुनुपर्ने त एक पटकको वंशज, वंश परम्परा नत्यागेसम्म सधैंको वंशज हुनुपर्ने हो । वंशज कायम रहेसम्म वंशज नागरिकता कुनै हालतमा खारेज गर्न पाइंदैन भन्ने नियम हुनुपर्ने हो।
तर वंशजको नाममा सही धस्काएर नागरिकता बेचेर खान पल्केका कुहिएका दिमागहरुमा मैले गर्ने यस्तो वकालत छिर्दै छिर्दैन । उनीहरुलाइ देशको सभ्यता परम्परा पहिचान र नागरिकताबीच के कस्तो सम्बन्ध छ, हुनुपर्छ र बनाउनुपर्छ भन्ने विषयमा प्रारम्भिक जानकारी पनि छैन ।
फोकटिया गफ छाँटेर नीति निर्माता बनेर देश ध्वस्त पारिरहेका ती धमिराहरुले नागरिकता छानबीन गर्न खोजेमा सुदन गुरुङको पद घटुवा मात्र होइन पद नै दम्पच पारिदिन पनि सक्छ । हेर्दै जाऔँ।
देशकाे अर्थराजनीति तथा विश्व राजनीतिक घटनाक्रमका उथलपुथलबारे सुक्ष्म ढंगले कलम चलाउने डा. राेशन श्रेष्ठ २००५ का पिएचडी स्कलर हुन् ।
















