
२३ औँ संस्करणको फिफा विश्वकप २०२६ को उद्घाटन समारोह विशेष हुने भएको छ। उत्तर अमेरिकी देशहरू अमेरिका , मेक्सिको र क्यानडामा हुने विश्वकपका खेलहरू विभिन्न १६ शहरमा आयोजना हुँदैछन्। जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहर समावेश छन्। ३ जना संयुक्त आयोजक रहेको विश्वकपको उद्घाटन पनि यसपटक पृथक हुनेछ।
पहिलोपटक उद्घाटन कार्यक्रम एउटै शहरमा सीमित रहने छैन। मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा छुट्टाछुट्टै समारोह आयोजना गरिनेछ। तीनवटै आयोजक राष्ट्रले आफ्नो संस्कृति, इतिहास र पहिचानलाई विश्वसामू प्रस्तुत गर्नेछन्।
मेक्सिको सिटीमा हुने मुख्य उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला लगायतका अन्तर्राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिनेछन्। त्यसपछि ऐतिहासिक एस्टाडियो एज्टेकामा मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेल हुनेछ।
प्रसिद्ध अन्तर्राष्ट्रिय क्रियटिभ निर्देशक मार्को बालिचको नेतृत्वमा तयार गरिएका यी कार्यक्रमहरूले फुटबल प्रेमीलाई भाषा र संस्कृतिभन्दा माथि उठेर एकतामा बाध्ने सन्देश दिने संकल्प लिएको छ। यसबीच प्रत्येक देशले आफ्नो सांस्कृतिक पहिचानलाई फरक शैलीमा प्रस्तुत गर्नेछन्।
मेक्सिकोले ‘पापेल पिकाडो’ कलामार्फत आफ्नो संस्कृति देखाउनेछ भने क्यानाडाले ‘सांस्कृतिक मोजाइक’ अर्थात विविधतामा एकताको भाव प्रस्तुत गर्नेछ। अमेरिकाले आधुनिक प्रविधि र चम्किलो दृश्य प्रभावमार्फत आफ्नो पहिचान झल्काउनेछ।
मेक्सिको शहरबाट हुनेछ औपचारिक सुरुआत (जुन ११)
विश्वकपको पहिलो उद्घाटन समारोह जुन ११ मा मेक्सिको सिटी स्टेडियममा हुनेछ। प्रतियोगिताको पहिलो खेलअघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसामु प्रस्तुत गर्नेछ।
आदिवासी कलाकारहरूको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षण हुनेछन्। साथै संगीत क्षेत्रका अन्तर्राष्ट्रिय तथा ल्याटिन अमेरिकी स्टारहरूले पनि प्रस्तुति दिने छन्।
समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसन, लिला डाउन्स, लस एन्जेल्स अजुलेस र मानाजस्ता कलाकारहरू देखिन सक्ने अपेक्षा छ।
उद्घाटन समारोहपछि विश्वकपको पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ। खेल नेपाली समयअनुसार खेल मध्यराति १२ः४५ बजे हुनेछ। उद्घाटन समारोह ८ः४५ बजेबाट हुनेछ।
टोरन्टो, क्यानाडा (जुन १२)
जुन १२ मा टोरन्टोमा क्यानाडाको उद्घाटन समारोह आयोजना हुनेछ। यो क्यानाडाका लागि विशेष अवसर हुनेछ। किनभने पुरुष राष्ट्रिय टोलीले पहिलोपटक आफ्नै भूमिमा विश्वकप खेल्दैछ।
मेक्सिको र अमेरिकासँग विश्वकप आयोजना गरिसकेको अनुभव छ। क्यानाडा पहिलोपटक यति ठूलो प्रतियोगिता ‘होस्ट’ गर्दैछ। त्यसैले पनि सम्पूर्ण क्यानेडियन जनताका लागि यो विशेष दिन हुनेछ।
‘फ्रम कोस्ट टु कोस्ट टु कोस्ट’ अर्थात देशको पूर्वदेखि पश्चिम र उत्तरसम्मको यात्रालाई चित्रण गर्ने विशेष प्रस्तुति समारोहको मुख्य विषय रहनेछ। क्यानाडाको बहु–सांस्कृतिक समाज, विभिन्न समुदाय र राष्ट्रिय पहिचानलाई संगीत तथा दृश्यमार्फत प्रस्तुत गरिनेछ।
समारोहमा अलानिस मेरिसेट, अलेसिया कारा, माइकल बुब्ले, जेसी रेयेज, नोरा फतेह, एलियाना सन्जोय, भेगेड्रिम र विलियम प्रिन्सलगायत कलाकारहरूले प्रस्तुति दिने अपेक्षा गरिएको छ।
समारोहपछि क्यानाडाले बोस्निया एन्ड हर्जेगोभिनासँग खेल्दै घरेलु विश्वकप अभियान सुरु गर्नेछ। खेल नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे हुनेछ। उद्घाटन समारोह राति ११ः१५ बजेबाट हुनेछ।
लस एन्जलस (जुन १२)
अमेरिकाको उद्घाटन समारोह पनि जुन १२ मा लस एन्जलसमा आयोजना हुनेछ। मनोरञ्जन केन्द्र मानिने शहरमा आयोजना हुने यो कार्यक्रमले अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय संगीतको बेजोड प्रस्तुति दिनेछ।
कार्यक्रममा केटी पेरी, फ्युचर, अनिट्टा, लिसा, रेमा र टाइला जस्ता विश्वप्रसिद्ध कलाकारहरूले प्रस्तुति दिने सम्भावना छ। आयोजकहरूका अनुसार यो समारोहले अमेरिकाको सांस्कृतिक विविधता र विश्व मनोरञ्जन क्षेत्रमा रहेको प्रभावलाई झल्काउनेछ।
समारोहपछि अमेरिकाले पाराग्वेसँग खेल्दै घरेलु विश्वकप अभियान सुरु गर्नेछ। खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे हुनेछ। उद्घाटन समारोह बिहान ५ः१५ बजेबाट हुनेछ।
बिहीबार नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलमा रेफ्रीले ह्विस्सल बजाएसँगै फुटबलको महाकुम्भ सुरु हुनेछ। ४८ टोली, १०४ खेल र ३९ दिनको रोमाञ्चक यात्रापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ। त्यो नयाँ च्याम्पियन विश्वकपको ताज भिरिसकेको या नयाँ जे पनि हुनसक्छ।
विश्वकपमा विभिन्न ६ महादेशबाट टोलीहरू आआफ्नो छनोट चरण पार गरेर ४८ देशको रणमैदानमा पुगेका छन्। मेक्सिको सिटीदेखि टोरन्टो र लस एन्जलससम्म फैलिएको यो प्रतियोगिता विश्वकपको नयाँ युगको सुरुआत पनि हो। किनभने विश्वकपको इतिहासमा पहिलोपटक ४८ टोली सहभागी हुँदैछन्। यसअघि ३२ टोली खेल्ने प्रतियोगितामा अब थप १६ राष्ट्रहरूले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो उपस्थिति जनाउने अवसर पाएका छन्।
जुलाई १९ मा न्युयोर्क– न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनल खेलसहित च्याम्पियन टोलीले कूल ८ खेल खेल्नेछ। पछिल्लोपटक अमेरिकाले सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो। जतिबेला मात्र २४ टोली थिए। १५औं संस्करण त्यतिबेला ५२ खेल भएका थिए। यसपाली टोली र खेल संख्या ठ्याक्कै दोब्बरले बढेको छ।
आयोजक राष्ट्रको चुनौती
घरेलु समर्थकको अपेक्षा र दबाबबीच तीनै आयोजक राष्ट्र विश्वकपमा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन्। जेसी मार्सको प्रशिक्षणमा रहेको क्यानडासँग जोनाथन डेभिड, साइल लारिन र टाजोन बुकाननजस्ता प्रभावशाली खेलाडी छन्। अल्फोन्सो डेभिजको फिटनेस चिन्ताको विषय भए पनि क्यानडालाई समूह चरण पार गर्ने दाबेदारका रुपमा हेरिएको छ।
मेक्सिको पछिल्ला केही वर्षमा संघर्षरत देखिए पनि प्रशिक्षक हाभियर अगुइरेको नेतृत्वमा टोलीको आत्मविश्वास पुनः बढेको छ। विश्वकपअघि सर्बियामाथि ५–१ को प्रभावशाली जितले मेक्सिकोको मनोबल अझ बढाएको छ।
उता अमेरिकाले माउरिसियो पोचेटिनोको नेतृत्वमा नयाँ उर्जा पाएको छ। सेनेगलविरुद्धको जित र जर्मनीसँगको प्रतिस्पर्धात्मक प्रदर्शनले अमेरिकी समर्थकहरूमा आशा जगाएको छ।
मेसी र रोनाल्डोका लागि अन्तिम विश्वकप
लियोनल मेसी अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप उपाधि दिलाउने अभियानमा छन्। प्रतियोगिताका दौरान ३९ वर्ष पुग्ने मेसी सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दैछन्। सन् १९६२ यता कुनै पनि राष्ट्रले लगातार दुई विश्वकप जित्न सकेको छैन। त्यसैले अर्जेन्टिनासामू इतिहास रच्ने अवसर पनि छ।
४१ वर्षीय क्रिस्टियानो रोनाल्डो पनि अझै पोर्चुगलको टोलीमा छन्। फुटबल करिअरमा विश्वकप उपाधि उनका लागि ‘मिसिङ पज्जल’ हो। बलियो टोली भएकाले पोर्चुगललाई यसपाली उपाधिको प्रमुख दाबेदारका रुपमा हेरिएको छ।
फ्रान्सका कप्तान किलियन एमबाप्पे अर्का प्रमुख आकर्षण हुन्। क्लब फुटबलमा यस सिजन कठिन समय बिताए पनि विश्वकपमा उनी फेरि चम्किने अपेक्षा फ्रान्स समर्थकहरूको छ।
त्यस्तै इङ्ल्यान्डका ह्यारी केन करिअरकै उत्कृष्ट लयमा छन्। नयाँ प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इङ्ल्यान्ड ६० वर्ष लामो उपाधि खडेरी अन्त्य गर्ने लक्ष्यमा छ।
यसैगरी स्पेनका युवा स्टार लामिन यामाल, ब्राजिलका राफिन्हा, अनुभवी नेयमार तथा बेल्जियम र पोर्चुगलका नयाँ पुस्ताका प्रतिभाहरूले प्रतियोगितालाई थप रोचक बनाउने अनुमान गरिएको छ।
अमेरिकाको गर्मी
यसपालीको विश्वकपको हट टपिक भनेको त्यहाँको मौसम पनि हो मोसम पनि हो। उत्तर अमेरिकाको गर्मीले खेलाडीलाई ठूलो चुनौती दिन अनुमान गरिएको छ। विशेषगरी अमेरिका र मेक्सिकोका केही शहरमा अत्याधिक तापक्रम रहने अनुमान छ।
त्यसैले प्रत्येक हाफमा ‘कुलिङ ब्रेक’ अर्थात पानी पिउने विश्रामको व्यवस्था गरिएको छ। प्रशिक्षकहरूले त्यसलाई रणनीतिक छलफलको अवसरका रुपमा समेत प्रयोग गर्नेछन्। लामो क्लब सिजनपछि आएका खेलाडीलाई मौसमसँग भिज्न समय लाग्न सक्छ। जसका कारण प्रतियोगिताको सुरुआती चरणमा केही अप्रत्याशित नतिजा देखिन सक्छन्।
डार्क हर्सहरूको खतरा
विश्वकप केवल ठूला राष्ट्रहरूको कथा मात्र होइन। हरेक संस्करणमा केही नपत्याउँदो टोलीले अप्रत्याशित नतिजा ल्याइरहेका हुन्छन्। यसपटक स्कटल्यान्ड, नर्वे, मोरक्को, आइभोरी कोस्ट, इक्वेडर र सेनेगलजस्ता टोलीहरूलाई सम्भावित ‘डार्क हर्स’का रुपमा हेरिएको छ।
एर्लिङ हालान्ड र मार्टिन ओडेगार्डको नेतृत्वमा रहेको नर्वे, स्कट म्याकटोमिने र जोन म्याकगिनको स्कटल्यान्ड तथा मोरक्कोले ठूला टोलीहरूलाई चुनौती दिन सक्ने क्षमता राख्छन्।
त्यस्तै उज्वेकिस्तान, हाइटी, कुरासाओ र केप भर्डेजस्ता टोलीहरूले पनि विश्व फुटबलमा नयाँ कथा लेख्ने सपना बोकेर मैदान उत्रिनेछन्।
नेपालमा कसरी हेर्ने ?
नेपालमा यसपालीको विश्वकप हिमालय स्पोट्र्स च्यानलबाट प्रसारण हुनेछ भने डिजिटलतर्फ डीगो एपमार्फत खेलहरूको स्ट्रिमिङ हुने छ।
फिफाले नेपालका लागि एक्सक्लुसिभ अधिकार दिएका कारण विदेशी टेलिभिजन र स्ट्रिमिङ एपले नेपालभित्र प्रसारण गर्न पाउने छैनन्। नेपाली दर्शकहरूले तोकिएको शुल्क भुक्तानी गरेपछि विश्वकपका सबै १०४ खेल हेर्न पाउनेछन्।
टिभी प्याकेजका लागि करसहित ९९९ रूपैयाँ शुल्क तोकिएको छ भने मोबाइल प्याकेजका लागि करसहित ५४९ तोकिएको छ। मोबाइल र ल्यापटप दुवैमा हेर्नका लागि पनि ९९९ रूपैयाँ शुल्क तिरे पुग्नेछ।














