
मोरङको रंगेलीमा एक १२ वर्षीया बालिकालाई ललाइफकाई दुई दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । गरिब परिवारकी ती १२ वर्षीया बालिकालाई घुमफिर गराउने बहानामा ललाइफकाई रंगेलीनगरपालिकास्थित नाइन्टिनाइन र युमी क्याफेमा ल्याएर बन्धक बनाई दुई दिनसम्म सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँचजना युवालाई आइतबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मोरङ रंगेली– ३ का १८ वर्षीय मोहम्मद अरमान, सुनबर्सी– ९ का २१ वर्षीय सुमनकुमार साह, रंगेली– ७ का २० वर्षीय करण मण्डल, १८ वर्षीय प्रियांशु साह र रंगेली– ६ का १८ वर्षीय रितिक यादव छन् । पक्राउ पर्ने सुमनकुमार साह रंगेलीको संसारीमाईस्थाननजिकै रहेको क्याफेका सञ्चालक हुन्।
मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार ३ साउनमा रंगेली– ३ का १८ वर्षीय मोहम्मद अरमानले एक १२ वर्षीया बालिकालाई घुमफिर गराउने बहानामा रंगेली– ७ मा रहेको युमी क्याफेमा लिएर गएका थिए । सोही दिन अरमान र क्याफेका सञ्चालक सुमनकुमार साहले बालिकालाई प्रलोभनमा पारी जबर्जस्ती करणी गरेका थिए ।
त्यसको भोलिपल्ट ४ साउन राति ९ बजेतिर पुनः रंगेली– ७ का २० वर्षीय करण मण्डलले ती बालिकालाई रंगेली– ७ स्थित संसारी मन्दिरछेउमा रहेको अर्को नाइन्टिनाइन क्याफेमा पुर्याइएका थिए । सोही क्याफेमा करण मण्डल, प्रियांशु साह र रितिक यादवले मिलेर बालिकालाई सामूहिक बलात्कार गरेका थिए ।
बालिकामाथि लगातार बलात्कार भएको उजुरी परेपछि जिल्ला प्रहरी मोरङ र इलाका प्रहरी रंगेलीको संयुक्त टोलीले १० साउन आइतबार घटनामा संलग्न पाँचैजनालाई नियन्त्रणमा लिएको हो । डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान भइरहेको छ ।
















