संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार इटाली प्रस्थान गर्दै छन् । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेसन्स फुड सिस्टम, २०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रम ८–१० साउनसम्म आयोजना हुँदै छ । प्रधानमन्त्री यही ८ साउनमा सो कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम छ ।
यस्तै, अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन नै प्रधानमन्त्री प्रचण्ड विद्यालय भोजनबारे आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनेछन् । यसैगरी ९ साउनमा खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजना हुने छलफलमा समेत सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्नेे कार्यक्रम तय भएको छ । खाद्य तथा कृषि संगठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायत संयुक्त राष्ट्रसंघीय अधिकारीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता तय भएको छ ।