हुलाक टिकटमा देखिने काे हुन नेत्रलाल अभागी ?

झट्ट हेर्दा सानो लागेतापनि इतिहासकाे विराषतमा महत्वपूर्ण काम सरकारले गरेकाे छ । अग्रजप्रति श्रद्धा र सम्मान गरेमात्र इतिहासप्रति न्याय हुन्छ ।

दाङको कम्युनिस्ट आन्दोलनका सहिद नेत्रलाल पौडेल “अभागी”को तस्वीर अंकित हुलाक टिकटको प्रकाशनमा आउने भएको छ । सहिद अभागीकी धर्मपत्नी विष्णु पौडेल र छोरा अजय शर्माको उपस्थितिमै मन्त्री रेखा शर्माले हुलाक टिकटमा टाँचा लगाउएकी हुन् । हुलाक टिकटमा अंकित हुने अभागी दाङबाट सम्भवतः पहिलो व्यक्तित्व हुन् ।

को हुन सहिद नेत्रलाल पौडेल ‘अभागी’ ?

नेत्रलाल पौडेल ‘अभागी’को जीवनको सबैभन्दा महत्त्वपूर्ण पाटो राजनीतिक जीवन हो । यति हुदाँहुदै पनि उनको साहित्यिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान रहेको छ । सहिद नेत्रलाल पौडेल अभागीको चर्चित कविता सङ्ग्रह सतिसाल मात्र ठिङ्ग उभिन सक्छका कविताहरू सामाजिक विषमता, परिवर्तन , प्रकृति , जीवनदर्शन , शत्रुतामित्रता , विभिन्न चुनौतिहरू, धर्म, संस्कृति, परम्परा आदि विषयसँग सम्बद्ध छन् । हाल नेपाली साहित्यिक जगतमा सतिसाल शब्द अलड्कारको रुपमा समेत विकसित भएको छ ।

नेत्रलाल पौडेलको जन्म वि.सं. २००१ पुस २७ गते दाङ जिल्लाको धर्ना गा. विं स. वडा नं. २ सिसैपुर गाउँमा भएको हो । उनको राजनीतिक जीवनको लमाइ जम्मा १९ वर्षको छ । त्यसमा पनि ११ बर्से पूर्ण भूमिगत कठोर राजनीतिक यात्रा उनको राजनीतिक जीवनको उत्कर्ष समय हो । उनी नेपाली वामपन्थी आन्दोलनका एक महत्त्वपूर्ण व्यक्ति हुन् । उनको राजनीतिक चासोमा वृद्धि वि.सं. २०११ सालतिर आफ्नै गाउँमा शिक्षक विद्यार्थीमार्फत् कम्युनिस्ट गतिविधि सञ्चालन भएदेखि सुरु भयो ।

नेत्रलाल पौडेल ‘अभागी’ले वि.सं. २०२२ सालमा बी.ए. अनर्सको अध्ययन पूरा गरे । वि.सं. २०२३ बाट नेत्रलालले राजनीति र शिक्षण पेसालाई एकैसाथ अँगाले । वि.सं. २०२३ मा केन्द्रको पुष्पलाल समूह निकट रहेर अर्घाखाँची र गुल्मीको संयुक्त प्र.ने.क.पा. जिल्ला कमिटीमा रही काम गर्ने क्रममा उनले वि.सं. २०२३ मा नै कम्युनिस्ट पार्टीको गौरवपूर्ण सदस्यता प्राप्त गरे । उनी पार्टी सदस्य बनेपछि त्यहाँ सङ्गठित भएर काम गर्न थाले । यस क्रममा उनले शिक्षण, राजनीति र साहित्य तीनै क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरे ।

वि.संं २०३१ मा भएको चौथो महाधिवेशन पश्चात् नेत्रलाल सुदूरपश्चिमको क्षेत्रीय ब्युरोको सदस्य बने । नेत्रलाल यसरी राजनीतिमा आउने क्रममा वि.सं. २०३० श्रावण २५ गतेदेखि पूर्णरूपमा राजनीतिक गतिविधिमा समर्पित हुन भूमिगत जीवनको यात्रा सुरु गरेका थिए । उनी वि.सं. २०३६ साउनमा ने.क.पा. (माले) को केन्द्रीय सदस्य बने । वि.सं. २०३६ आषाढ ४ गतेदेखि दाङ जिल्लामा सुरु भएको आन्दोलनको नेतृत्व नेत्रलालले गरे । वि.सं. २०३६ को दाङको किसान आन्दोलनको नेतृत्व गर्दै नेत्रलालले जमिन्दार, शोषक, सामन्तको भकारी फोडी किसानहरूलाई वितरण गर्न थाले । उनको नेतृत्वमा शोषकलाई मोसो दल्ने, ज्वालीमा नारी हल गोरु झैँ जोत्ने जस्ता जनकार्बाही पनि भए । उनले किसानहरूलाई सङ्गठित गराई मोही बेदखली विरुद्ध, सार्वजनिक जग्गामा जग्गाधनीको हस्तक्षेप विरुद्ध किसान विद्रोह गराए । नेत्रलालले यसरी आन्दोलनमा आफू पनि प्रत्यक्ष सरिक भई र पीडित किसानहरूलाई पनि सहभागी गराई आपूm पनि अत्यन्त जनप्रिय बन्दै किसानहरूमा वर्गीय चेतना र राजनीतिक जागरण ल्याउने क्रान्तिकारी भूमिका निर्माण गरे । उनले बाल्यावस्थामै नेपालको राणाविरोधी राजनीतिक गतिविधि र वि. सं. १९९७ को सहिद काण्डको घटनाविवरण बुझ्ने मौका पाएका थिए । यसबाट उनको बालचेतनामा गहिरो प्रभाव प¥यो जसले उनलाई परिवर्तन, सङ्घर्ष, समानता, बलिदानजस्ता कुराले भित्री रूपमा कुत्कुत्यायो । तत्कालीन ग्रामीण परिवेश र घरको परम्परावादी जीवनप्रणालीले उनलाई भित्री रूपमा चिन्तित पार्दथ्यो । गाउँमा भएका असमानता, छुवाछुत, ठूलाबडाको दबाब र शोषणजस्ता कुराले उनलाई विद्रोही स्वभावको चेतना जागरणमा प्रेरित ग¥यो । उनले अनेक सङ्कटमा पनि अध्ययन गर्ने दृढ चाहनाले पढ्दै पढाउँदै , ऋण गर्दै ऋण तिर्दै बी. ए. अनर्ससम्मको अध्ययन पूरा गरे । अनौपचारिक शिक्षाका रूपमा उनले पाँच छ वर्षको उमेरदेखि मृत्युपर्यन्त विभिन्न विषयको गहन अध्ययन , मनन र चिन्तन गरे । नेत्रलालले बी.ए. अनर्ससम्मको नेपाली विषय अध्ययनका क्रममा साहित्यको आवश्यक ज्ञान प्राप्त गरेकाले उनको साहित्य लेखन खारिँदै गयो । उनले भूपि शेरचन, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र आदिका कविता पढेर त्यसै प्रकारका कविता रचनातर्फ आफूलाई उन्मुख गराए । राजनीतिक गतिविधिमा सहभागी भएपछि विश्वक्रान्तिका रचना पढ्ने र रचना गर्ने, विश्वचर्चित साहित्यकारहरूको कृति अनुवाद गर्ने कामसमेत उनले गरे । उनले साहित्यका मुक्तक, गीत, कविता, कथा, नाटक, समालोचना, अनुवाद आदि क्षेत्रमा कलम चलाए । उनको साहित्य लेखन वि.सं. २०१५ देखि मृत्युपर्यन्तसम्म निरन्तर सक्रिय रह्यो । आफ्नो अध्ययनका क्रममा पाएको दुःख र पीडा, पिताको मृत्यु, श्रीमतीको मृत्युका समग्र कारणले साहित्यिक रुचि बढ्दै जाँदा उपनामको लहर चलेका समयमा आफ्ना नामका पछाडि ‘अभागी’ उपनाम थपी नेत्रलाल पौडेल ‘अभागी’ लेख्न थालेदेखि उनी नेत्रलाल पौडेल ‘अभागी’का नामले चर्चित बन्न पुगे । उनले साहित्य र राजनीतिका क्षेत्रमा विभिन्न उपनाम राखी योगदान पु¥याए तापनि मूलतः उनी ‘अभागी’ उपनामबाट नै चिनिएको पाइन्छ ।

नेत्रलालको जीवन हुर्काइ र साहित्यिक लेखनमा वि.सं. २००७ सालको क्रान्ति, वि.सं. २०१५ सालको निर्वाचन, वि.सं. २०११ सालको दाङको कम्युनिस्ट गतिविधि, पारिवारिक पृष्ठभूमि, आर्थिक अभाव, अध्ययनका समयमा विभिन्न गतिविधिमा भएको संलग्नता, प्रगतिवादी साहित्यकारहरूसँग भेटघाट आदिले प्रभाव पारे । यी प्रभावले गर्दा नै उनी साहित्यिक क्षेत्रमा प्रवेश गरे । उनले जीवनभोगाइका क्रममा आर्जित समग्र ज्ञान र अनुभवलाई साहित्यिक रचनामा प्रस्तुत गरेका छन् । उनका चर्चित साहित्यिक कृर्तिहरुमा नर्कको कथा खण्डकाव्य, गंगा–चिनी महाकाव्य, सतिसाल मात्र ठिङ्ग उभिन सक्छ कवितासङ्ग्रह, कवितासङ्ग्रह रहेका छन् । सतिसाल मात्र ठिङ्ग उभिन सक्छ कवितासङ्ग्रहका कविताहरू सामाजिक विषमता, परिवर्तन , प्रकृति , जीवनदर्शन , शत्रुतामित्रता , विभिन्न चुनौतिहरू, धर्म, संस्कृति, परम्परा आदि विषयसँग सम्बद्ध छन् । कवि ‘अभागी’ले रचना गरेका प्रस्तुत सङ्ग्रहका कविताहरूमा प्रयुक्त बिम्बहरूले सहज र स्वतःस्फूर्त रूपमा बाह्यान्तरिक लय र अर्थगत चमत्कारका साथै कविताको सौन्दर्य बढाएका छन् । प्रस्तुत सङ्ग्रहका कविताहरूमा कवितालाई सौन्दर्यपूर्ण , आकर्षक , लयात्मक र प्रभावकारी बनाउन अनुप्रास , उपमा , रूपक , सन्देह , विषम , रूपकातिशयोक्ति आदि शब्दालङ्कार र अर्थालङ्कारको प्रयोग भएको छ । यसैगरी वि.सं. २०६२ सालमा प्रगतिशील लेखक संघ नेपाल , दाङ शाखाद्वारा प्रकाशन भएको कवितासङ्ग्रह वर्गप्रेम हो । यस कवितासङ्ग्रहमा कविका प्रारम्भिक चरणदेखिका कविताहरू सङ्कलन गरिएका छन् । यस सङ्ग्रहमा कविता विधाका साथमा सवाई , जनवादी गीतहरू , गाउँखाने कथा, विभिन्न संवादात्मक गीतिशैलीका प्रश्नोत्तरमूलक ढाँचाका रचनाहरू सङ्गृहीत छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation