गन्तव्यविहीन शिक्षा प्रणाली

गोविन्द पौडेल

लगभग सात महिना लगाएर ४७ करोड किलोमिटरको यात्रा पूरा गर्दै नासाको अन्तरिक्षयान ‘पर्सिभेरन्स रोभर’ गत १८ फेबु्रअरीमा मंगल ग्रहको सतहमा उत्रियो । ६८७ दिन त्यहाँ रहेर यो यानले मंगल ग्रहमा विगतमा अस्तित्वमा रहेका हुन सक्ने जीवहरूको अध्ययन, जीव बाँच्न सक्ने वातावरण, चट्टान तथा माटोको नमुना संकलन गर्नेछ । यानसँगै पठाइएको खन्ने उपकरणले जमिन खनेर सम्भावित जीवावशेषको उत्खनन गर्नेछ । यानसँगै पठाइएको हेलिकोप्टरले ग्रहका विभिन्न ठाउँमा यात्रा गरेर त्यहाँको अवस्थाबारे अध्ययन गर्नेछ । यानमा जडित क्यामेराले तस्बिर खिचेर नासाका वैज्ञानिकहरूलाई पठाउन सुरु गरिसकेको छ । अन्तर्राष्ट्रिय जगत्मा नासाको यो अभियानले ध्यान खिच्दै छ । तर, हामीलाई यस्ता कुरा एकादेशको कथा लाग्दै छन् । संसारका मुलुकहरू आफ्नो देशको विकासलाई उत्कर्षमा पुर्‍याएर चन्द्रमामा मानिस पठाउने र मंगल ग्रहलगायत अन्य आकाशीय पिण्डमा जीवको सम्भावनाबारे गहन अनुसन्धानमा छन् । विश्वको दौड यो रफ्तारमा अगाडि बढ्दै छ, हामी भने पञ्चायती समयको पाठ्यक्रम टालटुल पारेर शिक्षा दिएको भ्रम छरिरहेका छौँ ।

स्कुलमा पढ्दै गरेको एउटा विद्यार्थीलाई ‘घरमा गएर तिम्रा बा–आमाले स्कुलमा के–कसरी पढ्नुभएको रहेछ सोध र अहिले तिमीले के–कसरी पढ्दै छौ, फरक लेख’ भनेर गृहकार्य दिने हो भने विद्यार्थीलाई फरक छुट्याउन गाह्रो हुन्छ । हामीले २०–२५ वर्षअगाडि पढेका विषयवस्तु र शिक्षा लिने÷दिने तौरतरिका जस्तो थियो, अहिले पनि करिब उस्तै छ, तात्विक अन्तर छैन । 

परनिर्भरताको पराकाष्ठा : राष्ट्रियता भौगोलिक विषय मात्रै होइन, आत्मनिर्भरताको विषय पनि हो । विकासका काममा विदेशीले उत्पादन गरेर ठिक्क पारिदिएका प्रत्येक पुर्जा यहाँ ल्याएर जोड्नु परिरहेको छ । रेल ल्याउने कुरा आयो । तर, कसले बनाएको रेल, नेपालले बनाएको रेल हैन, भारत, चीन वा अरू देशले बनाइदिएको रेल । रेल अरू देशले बनाउँछन्, हामीले रेलको बाहिर नेपालको झन्डा र नक्सा बनाउँछौँ । रेलमार्गको सर्भे गर्ने इन्जिनियर विदेशका, ठेक्का लिने कम्पनी विदेशको, रेल विदेशको, रेल चल्ने इन्धन विदेशको, रेलमा आउने सामान विदेशको, प्राविधिक विदेशका । पानीजहाज अरू देशमा बन्छ, हामी त्यही पानीजहाजमा नेपालको झन्डा गाडेर नेपालको पानीजहाज भन्छौँ ।

अहिले हामी कोरोनाको खोप कुन देशले दिन्छ भनेर हात थापिरहेका छौँ । नेपाल यस्तो देश बन्यो, जुन वेला विश्वभरका विश्वविद्यालय र वैज्ञानिक कोरोना खोपको अनुसन्धानमा अहोरात्र खटिरहेको वेला हाम्रा ११ वटा विश्वविद्यालय सुनसान थिए, अनुसन्धान संस्था निदाएजस्ता थिए । खोप आविष्कारको अनुसन्धानको प्रयाससम्म भएको सुनिएन । धेरै देशले प्रयत्न गरे, गरिरहेका छन् । हामीले कुन देशले पहिला खोप निकाल्छ र मागौँला भनेर व्यग्र प्रतीक्षा गरेर मात्रै बस्यौँ । अस्पतालमा प्रयोग गरिने भेन्टिलेटर विदेशबाट किनिएका छन् । स्वाब कलेक्सन बक्स’ विदेशको, पिपिई विदेशका । स्वास्थ्य उपचारका सबै अनुसन्धान विदेशमा भएका, डाक्टरले पढ्ने किताबका तथ्यतथ्यांक विदेशीले अनुसन्धान गरेर निकालेका, परनिर्भरताले हद नाघेको छ । र, यो परनिर्भरताको जरो हाम्रो शिक्षामा गढेर बसेको छ । यही कारण नेपालमा अभैm अनुसन्धानको संस्कार बस्न सकेको छैन । हाम्रो शिक्षा प्रणालीले अनुसन्धानलाई उत्साहित गर्नै सकेको छैन । 

मास्टर्स सकेका तन्नेरी र भर्खर कक्षा १० सकेको किशोरबीच कागजी प्रमाणपत्रबाहेक अरू केही फरक भेटिन्न । यति हुँदा पनि उच्च शिक्षाको स्वरूप बदल्नेबारे किन हुटहुटी चल्दैन ?

हामीले प्रयोग गर्ने गाडी, ल्यापटप, घडी, मोबाइल, रेफ्रिजेरेटर सबै विदेशबाट आयात गरिएका छन् । हाम्रो देशमा यस्ता कम्पनीहरू किन खुल्न सकेनन् ? हाम्रो शिक्षाले अनुसन्धानकर्ता, वैज्ञानिक र प्राविधिक किन जन्माउन सकेन ? उत्तर स्पष्ट छ, आजसम्म हाम्रो शिक्षाले रटाउने काम मात्रै गर्‍यो, शिक्षा बेकारको भयो । शिक्षामा गरिएको लगानी बालुवामा हालेको पानीसरह भयो । 

युगअनुसारको पाठ्यक्रम : विश्वको विकासलाई खण्ड–खण्डमा हेर्दा विश्व अहिले चौथो औद्योगीकरणको चरणमा छ । पानी र वाष्प इन्जिनको प्रयोग, विद्युतीय शक्तिको प्रयोगद्वारा उत्पादनमा वृद्धि, सूचना क्रान्ति हुँदै अहिले डिजिटल क्रान्तिको युगमा छौँ । आमनेपाली विद्यार्थीलाई ठग्ने जुन शिक्षा देशभर चलिरहेको छ, यसैले विद्यार्थीलाई बेरोजगार बनाएको छ । देशले दक्ष मानवीय पुँजी पाउन सकेको छैन । शिक्षाले आर्थिक वृद्धि, उत्पादकत्व, व्यक्तिको क्षमतामा वृद्धि गर्नुपर्ने हो । शिक्षामा आविष्कार र अनुसन्धानको कुनै स्थान छैन । नेपाली विद्यार्थी अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा छन् । मास्टर्स डिग्री सकेर युरोप–अमेरिका हान्निएका युवा निकै तल्लो स्तरको काममा जोतिन बाध्य छन् । मास्टर्स सकेका तन्नेरी र भर्खर कक्षा १० सकेको किशोरबीच कागजी प्रमाणपत्रबाहेक अरू केही फरक भेटिन्न । यति हुँदा पनि उच्च शिक्षाको स्वरूप बदल्नेबारे किन हुटहुटी चल्दैन ?

स्कुल, कलेजमा पढाइ हुने विषयवस्तु स्वदेशसँग जोडिएका छैनन् । विदेशका विज्ञहरूले अनुसन्धान गरेर निकालेका निष्कर्ष रट्नु यहाँका विद्यार्थीको शिक्षा बनेको छ । स्कुल, कलेजका विज्ञान किताब आइन्स्टाइन, न्युटन, आर्किमिडज, मेन्डल, डार्बिनहरूले प्रतिपादन गरेका नियम र सिद्धान्तले भरिएका छन् । 
पाठ्यपुस्तकभरि एउटै नेपाली वैज्ञानिकको नाम भेटिन्न ।

आजसम्म पनि पाठ्यपुस्तकमा समावेश गर्न लायक एउटै नेपाली वैज्ञानिक जन्मेन भने पढाउने शैली उहिल्यै फेरिनुपथ्र्यो । विज्ञानलाई नेपालकै माटो, हावापानी, खनिज, जडीबुटी, जलस्रोत, जीवजन्तुसँग जोड्नुपर्थ्यो । 

विज्ञानको मात्रै कुरा हैन, अर्थशास्त्र पढ्नेले आफ्ना किताबका सबै अर्थशास्त्री विदेशका पाउँछन् । डाक्टरी पढ्नेले रोगको उपचार पद्धतिको आविष्कारक विदेशी नै भएको पाउँछन् । शिक्षाशास्त्र पढ्नेले किताबका सबै शिक्षाशास्त्री विदेशी नै भएको पाउँछन् । पाठ्क्रममा नै विदेशी विज्ञका आविष्कार र अनुसन्धानका निष्कर्ष रटाउने भन्ने खालको छ । नेपाललाई चाहिने खालको जनशक्ति निर्माण गर्ने गरी सान्दर्भिक पाठ्यक्रम बनेन । 

दशवर्षे मार्गचित्र : सन् १९८० को दशकमा चीनमा देङ सिआओ पिङले देशलाई उठाउन चारवटा आधुनिकीकरणमा जोड दिए– कृषि, उद्योग, विज्ञान र प्रविधि तथा सुरक्षा । यी क्षेत्रमा क्रान्ति ल्याउन शिक्षामा आमूल परिवर्तन ल्याइयो । शिक्षा नबदलीकन देश शक्तिशाली बन्दैन । भोलि देश कहाँ जाँदै छ भन्ने आज कक्षामा के भइरहेको छ भन्नेले संकेत गर्छ । आजको कोरिया जे छ, १९६० को दशकपछि शिक्षामा ल्याइएको क्रान्तिकारी सुधारको उपज हो ।

सन् १९५७ मा रसियाले पहिलोपटक ‘स्पुतनिक–१’ कृत्रिम भू–उपग्रह प्रक्षेपण गरेपछि अमेरिकी सरकार झस्कियो । तुरुन्त सरकारले शिक्षालाई विज्ञान र प्रविधिमा केन्द्रित गर्‍यो । शिक्षामा लगानीको भारी वृद्धि गरियो । त्यसकै उत्पादन आजको अमेरिका हो । पाठ्यक्रममा देशलाई कहाँ पुर्‍याउने स्पष्ट लक्ष्य राखिएको हुनुपर्छ । देशलाई कस्तो जनशक्ति आवश्यक पर्दै छ, त्यस्तो जनशक्ति निर्माण गर्न कस्तो पाठ्यपुस्तक निर्माण गर्ने, कस्तो शिक्षण प्रक्रिया अपनाउने, ब्रिलियन्ट शिक्षक कसरी निर्माण गर्ने, मूल्यांकन कसरी गर्ने सुस्पष्ट हुनुपर्छ । केही वर्ष शिक्षामा ठूलो लगानीको घोषणा हुनुपर्छ । स्कुल तहदेखि नै स–साना अनुसन्धान र आविष्कारमा शिक्षणलाई नढालीकन देशलाई उठाउने मस्तिष्क निर्माण हुन सम्भव छैन । यो शैलीले अरू देशसँग प्रतिस्पर्धा त परको कुरा पछ्याउनसमेत सकिएको छैन । 

परनिर्भरताले हाम्रो नेपाली भाषासमेत लोप हुने खतरामा छ । आयातित संस्कृतिले मौलिक संस्कृति विस्थापित गर्दै छ । सबैमा परनिर्भरता हावी हँुदै गइरहेको वेला भौगोलिक राष्ट्रवादको भाषणले मात्रै देश बलियो बन्दैन । 

शिक्षाले दिशा लिन नसक्दा छिन–छिनमा शिक्षा नीतिहरू परिवर्तन भइरहेका छन् । एसइई परिक्षा फेरि केन्द्रबाटै हुने निर्णय गरिएको छ । सबै विद्यार्थी सबै विषयमा पास हुनैपर्ने बनाइएको छ । यसबाट मन्त्रालयमा दीर्घकालीन निर्णय क्षमताको ह्रास भएको देखिन्छ । सबै व्यक्तिलाई सबै विषयमा जान्ने बनाउन खोज्दा नेपाली विद्यार्थी एउटै विषयमा पनि तीक्ष्ण हुन सकेनन् । शिक्षा मन्त्रालय र विश्वविद्यालयका जिम्मेवारले देशका लागि सोचेर काम गरून् । देशको कृषि र उद्योगको विकास आजको आवश्यकता हो । विभिन्न विषयमा विश्वविद्यालय सकेका तन्नेरीको मस्तिष्कलाई कृषि, उद्योग, व्यावसायमा उपयोग गर्ने गरी शिक्षा दिइनुपर्छ । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation