दोषीलाइ सफाइ दिने विशेष अदालतको निर्णयविरुद्ध अख्तियार सर्वोच्च अदालतमा

 

विशेष अदालतको त्रुटिपूर्ण निर्णयका कारण आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मासहित उनकी पत्नी कल्पना उप्रेतीले सफाइ पाएको भन्दै अख्तियारले उनीहरुलाई कसुरदार ठहर गर्न माग गरेको छ ।

१८ जेठ, २०८० मा विशेष अदालतले कर फर्स्यौट आयोगबाट भएको राजस्व चुहावटको मुद्दामा शर्मालाई दोषी ठहर गरेपछि गैरकानुनी सम्पत्तिआर्जनको अभियोगबाट सफाई दिएको थियो । उनीमाथि अख्तियारले १५ माघ २०७४ मा गैरकानुनी सम्पत्तिआर्जनको अभियोग लगाएको थियो ।

&विशेष अदालतका तत्कालिन अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले चुडामणि शर्माले गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि नहुने ठहर गरेको थियो ।

अख्तियारको आरोपपत्र अनुसार, चुडामणि शर्माले चार करोड २९ लाख ५४ हजार रुपैंया गैरकानुनी रुपमा आर्जन गरेका थिए । अख्तियारले शर्मासहित उनकी पत्नी कल्पना उप्रेतीविरुद्ध समेत मुद्दा दायर गरेको थियो ।

तीन करोड ६३ लाख रुपैयाँ वैधानिक रुपमा कमाएका उनीमाथि सात करोड ९३ लाख रुपैयाँ जोडेको आरोप थियो । अख्तियारले आरोपपत्रमा ‘वैध आम्दानीको तुलनामा खर्च धेरै भएकाले गैरकानुनी आर्जन गरेको’ निष्कर्ष निकालेको थियो ।

शर्माले पुस्तक लेखन र बिक्रीबाट आफ्नो आम्दानीको ठुलो हिस्सा प्राप्त भएको दाबी गरेका थिए । सेवा अवधिभर २७ लाख ११ हजार आम्दानी गरेका उनले लोकसेवाको किताब बेचेर मात्रै एक करोड ६ लाख आर्जन गरेको दाबी गरेका थिए ।

पुस्तक बिक्रीको आम्दानी, कृषि आय, बील भरपाई तथा कागजातहरुको बस्तुपरक मूल्यांकन नगरी विशेष अदालतले हचुवाको भरमा निर्णय गरेको र त्यसले गर्दा शर्माले सफाइ पाएको अख्तियारको दाबी छ ।

चुडामणि शर्माविरुद्धको अर्को बहुचर्चित कर फर्स्यौट आयोगको राजस्व चुहावटको मुद्दाको पूर्णपाठ पनि सार्वजनिक भइसकेको छ । आफूले मागदाबी गरे अनुसारको बिगो र जरिवाना अनि कैद सजाय नभएको भन्दै अख्तियारले पुनरावेदन गरिसकेको छ ।

कर फर्स्यौट आयोगको मुद्दाको फैसलाविरुद्ध पनि चुडामणि शर्मा सर्वोच्च अदालत जाने तयारीमा छन् । तर बिगो र जरिवानाबापत करिब ६ अर्ब रुपैयाँ बुझाउनुपर्ने भएकाले त्यस बराबरको रकम धरौटी राख्ने अवस्थामा शर्मा छैनन् । धरौटी बुझाउन नसक्ने आरोपितहरु थुनामै गएर मुद्दाको पुनरावेदन गर्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation