दशकाैँदेखिकाे शिक्षक आन्दोलनकाे सिलसिला- जायश्वर जैसी

७ वैशाख, प्युठान

शिक्षक आन्दोलन गत माग २० गतेबाट चरणबद्ध रूपमा स्थानीय पालिका, जिल्ला समन्वय इकाई, प्रदेश शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा मन्त्रालय, सम्पूर्ण दलका केन्द्रिय पार्टी कार्यालयमा धर्ना, छलफल, अन्तरक्रिया हुँदै वार्षिक परीक्षा सकेर चैत २० बाट सडक आन्दोलन सुरु भएको हो ।

सामुदायिक विद्यालयको भविष्यको तथाकथित चिन्ता गर्ने केही मनुवा र सरकारले हिजोआज मात्रै शिक्षक आन्दोलन सुरु भए जस्तै गरी बोल्न थालेको देखिन्छ ।

शैक्षिक सडक आन्दोलन सुरु भएको पनि आज १९ दिन भइसक्यो । आफ्नो मातहतमा चल्ने शिक्षकका पेसागत मुद्दालाई कसरी अवतरण गराउने भन्ने कुनै योजना छैन सरकारसँग । विश्वसनीय वातावरण बनाए आजको आजै शिक्षक विद्यालय फर्कन्छ नि । सधै ठगिन पर्ने हो शिक्षक ?

काठमाडौका सडकमा दैनिक रूपमा आन्दोलन गर्न कोही पनि शिक्षकको रहर छैन । ऐन आउँछ विद्यालय फर्कनुस् भनेर मात्रै हुन्छ र ? सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको चिन्ता त्यहीँ पढाउने शिक्षकलाई र अभिभावकलाई मात्रै छ । अरूको चिन्ता नौटंकी बाहेक के हुन सक्छ र ? वर्षे हिउँदे विदा उपयोग गरेर भए पनि पढाइमा क्षेति हामीले पुर्‍याउँदैनौ । आज भए पनि भोलि भए पनि सिकाउने हामी शिक्षकले नै हो । विदाको सदुपयोग गर्ने नै छौँ ।

यसका लागि सबै अभिभावक र विद्यार्थीमा सार्वजनिक रूपमा प्रतिबद्धता व्यक्त शिक्षक महासंघका अध्यक्षले गरी सक्नु भएको छ । छोराछोरी प्राइभेटमा पठाएर सामुदायिक विद्यालयको भविष्य चिन्ता गरेजस्तो गरी शिक्षकहरूलाई लाञ्छना लगाउनेहरूलाई भन्नू केही छैन ।

सकिन्छ नेपालको विद्यालय शिक्षा सुधारमा अब आउने ऐनमा यो यो व्यवस्था हुनुपर्छ भनेर बहस पैरवी गरौं न । निशुल्क शिक्षा कसरी कार्यान्वयन गर्ने, विद्यालयलाई दलीय हस्तक्षेपमुक्त कसरी गर्ने, शिक्षामा भैरहेको व्यापारीकरणलाई कसरी अन्त्य गर्ने, शिक्षालाई श्रमसँग, श्रमलाई सिपसँग र सिपलाई उत्पादनसँग कसरी जोड्ने, युवा शक्ति बिदेश पलायनको अवस्थालाई कसरी रोक्नेजस्ता कैयौं विषयहरू छन्, सकिन्छ चिन्ता त्यता गरौं न त शिक्षक आन्दोलनको चिन्ता नै लागेको हो भने ।

यो निर्णायक शैक्षिक आन्दोलन हो । शिक्षकले गरेको आन्दोलन केका लागि हो र ? विगतमा राज्यले गरेका सम्झौतालाई समावेश गरेर हामीलाई बाँध्ने ऐन ल्याउ भनेको न हो । राज्यले ठिक समयमा बनाउनु पर्ने ऐन छिटो ल्याउ भनेर शिक्षकले आन्दोलन गर्नुपर्ने कुरालाई गहिरो गरी अझैसम्म नबुझेकाहरूले बुझ्ने कहिले हो ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation