इजरायलद्वारा गाजाको ६९ प्रतिशत भूभागमा निकासी आदेश

८ वैशाख, काठमाडौं

प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजापट्टीको ६९ प्रतिशत भूभाग इजरायली निकासी आदेशअन्तर्गत रहेको बताएको छ।

इजरायली सेनाले मार्च १८ र अप्रिल १४ को बिचमा कम्तीमा २० वटा निकासी आदेश जारी गरेको युएनआरडब्लुएले एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ। एजेन्सीका अनुसार हाल गाजामा स्थापित ११५ आश्रयस्थलमा ९० हजारभन्दा बढी विस्थापित मानिस छन्।

इजरायली गोलाबारी र सात हप्ता लामो सहायता नाकाबन्दीका कारण गाजामा पहिले नै गम्भीर मानवीय अवस्था बिग्रँदै गएको चेतावनी दिँदै मार्च १८ मा युद्धविराम भंग भएपछि करिब चार लाख २० हजार मानिस पुनः विस्थापित भएको एजेन्सीले जनाएको छ।

युएनआरडब्लुएले गाजामा चाँडै युद्धविराम, बन्धकहरूको रिहाइ र गाजामा मानवीय सहायता तथा व्यावसायिक आपूर्तिको निर्बाध प्रवाहको आवश्यकतामा जोड दिएको छ।

इजरायलले मार्च २ देखि गाजामा सबै मानवीय सहायताको प्रवेश अवरुद्ध गरेको छ। त्यसपछि उसले हमाससँगको दुई महिनाको युद्धविराम समाप्त गरी गाजामा घातक हवाई र भूमि आक्रमण पुनः सुरु गरेको छ।

युद्धविरामपछिको इजरायली आक्रमणमा एक हजार ८२७ प्यालेस्टिनीको मृत्यु हुनुका साथै चार हजार ८२८ घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation