पाँच संसदीय समितिको बैठक बुधबार बस्दै छ।
प्रतिनिधिसभाका दुई, राष्ट्रिय सभाका दुई र एक संयुक्त समितिको बैठक बस्ने तय भएको छ।
राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा आज पनि संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ।
यसअघि मंगलबार भएको छलफलमा कर्मचारी संगठनले आफूहरूका माग सम्बोधनका लागि समिति बैठकमार्फत सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएका थिए। यो समितिको बैठक समितिको कार्यकक्ष सिंहदरबारमा दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।
अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग छलफल हुनेछ। बैठक बिहान ११ बजे बस्नेछ। विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । बैठक दिउँसो १२ बजे शुरु हुने सचिवालयले जनाएको छ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकताका लागि समितिको तर्फबाट सुझाव सम्बन्धमा छलफल हुनेछ। बैठक दिउँसो १ बजे बस्नेछ।
दिउँसो २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बजार अनुगमनका सम्बन्धमा छलफल हुनेछ।