राजसंस्थाको माहोल छ अन्तिम धक्का दिऔं: कमल थापा

१५ वैशाख, काठमाडौं 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनाको माहोल बनिरहेको भन्दै एकढिक्का हुन नेताहरुलाई आह्वान गरेका छन् । अब ‘अन्तिम धक्का’ आवश्यक रहेको भन्दै उनले केही समयका लागि मात्र भए पनि एकढिक्का हुन राजसंस्था पुनर्स्थापनाको पक्षमा भएका नेताहरुलाई आह्वान गरे ।

आज काठमाडौंको शान्तिवाटीकामा राप्रपा नेपालले आयोजना गरेको प्रदर्शन र सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले गणतन्त्रवादीको असफलताले राजसंस्थाको पक्षमा आफसेआफ माहोल बनेको जिकिर गरे ।

‘हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माहोल बन्दै गइरहेको छ । जनता स्वस्फूर्त आइरहेका छन्, हाम्रो संगठनात्मक प्रयासभन्दा पनि,’ उनले भने, ‘एकतातिर यी गणतन्त्र पक्षधरहरुको असफलता, अर्कोतर्फ हिन्दु राष्ट्र र राजसंस्थाको विचारको लोकप्रियताको कारणले गर्दा माहोल तयार भइसकेको छ । अब अन्तिम धक्काको मात्रै आवश्यकता छ ।’

मञ्चमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट, राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी लगायत नेताहरु सहभागी थिए ।

 

सो कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफूहरुका लागि ‘अनुकूल अवसर’ भएको विश्लेषण सुनाए । त्यसैले चुप लागेर नबस्न उनले आह्वान गरे ।

‘यो अवस्थामा यदि हामी आफ्नो व्यक्तिगत स्वार्थ, कुण्ठाको कारणले गर्दा चुप लागेर बस्यौं भने हाम्रो विचार र हाम्रो मान्यताको अस्तित्व नै समाप्त हुनसक्ने खतरा छ,’ थापाले भने ।

उनले भने, ‘हामी त कति दिन राजनीतिमा सक्रिय हौंला र । तर भोलिको पिँढीले हामीलाई के प्रश्न गर्ला ? त्यसैले एकातिर अत्यन्तै अनुकुल वातावरण र अर्कोतर्फ हाम्रो विचार र मान्यतालाई समाप्त गर्ने षडयन्त्र भइरहेको बेलामा पनि यदि हामी एक ठाउँमा उभिन सक्दैनौं भने हामीलाई इतिहासले सराप्ने छ । त्यसैले म आग्रह गर्न चाहान्छु हाम्रा नेताहरुलाई कमसेकम केही समयका निमित्त हामी एक ढिक्का भएर अगाडि बढौं ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation