राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले भारतको पहलगाम घटनालाई लिएर मुस्लिम समुदायविरुद्ध दिएको अभिव्यक्तिको राप्रपाभित्रैबाट विरोध भएको छ । पार्टीका सहायक महामन्त्री ताहिर अलीले शाहीको अभिव्यक्तिले मुस्लिम समुदायलाई चोट पुगेको बताएका छन् ।
उनले शाहीलाई पहलगाम घटनालाई जोडेर दिएको अभिव्यक्ति तत्काल सच्चाउन आग्रह गरेका छन् । नभए राप्रपामा रहेका मुस्लिम समुदाय सोच्न बाध्य हुने चेतावनी अलीले दिएका छन् ।
धार्मिक सहिष्णुतामा खलल पुग्ने अभिव्यक्ति आगामी दिनमा नदिन पनि शाहीलाई सचेत गराएका छन् । शाहीले यसअघि पनि पटकपटक मुस्लिम समुदायविरोधी अभिव्यक्ति दिने गरेको अलीद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । उनले नेपालका मुस्लिम समुदायले कुनै पनि प्रकारको आतंकवादलाई समर्थन नगर्ने पनि बताए ।
‘राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले मुस्लिम धर्मावलम्बीलाई जोडेर दिनुभएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । आतंककारीको न कुनै धर्म हुन्छ न जात,’ उनले भनेका छन्, ‘हामी नेपालका मुस्लिम धर्मावलम्बीहरू कुनै प्रकारको आतंकवादलाई समर्थन गर्दैनौँ ।’
शाहीले पहलगाममा नेपाली युवक सन्दीप न्यौपानेसहित २६ जनाको हत्या घटनाप्रति आपत्ति जनाउँदै मुस्लिम समुदायविरोधी अभिव्यक्ति दिएका थिए । उनले पहलगाम घटना मुसलमान आतंककारीले घटाएको र त्यसप्रति नेपालको मुस्लिम आयोगले खेद प्रस्ताव पारित गर्नुपर्ने, नभए सरकारले कदम चाल्नुपर्ने बताउँदै बताएका थिए । यदि सरकारले पनि केही नगरे देशभर आवाज उठ्ने उनको चेतावनी थियो ।
‘हिन्दूहरूलाई त्यहाँ (पहलगाम) मुसलमान आतंकवादीहरूले जसरी आफूलाई धर्मको आधारमा नेपालीहरूको शरीरको अंग खोलेर शरीरको अभिन्न अंगहरू हेरेर त्यसको पहिचान गरेर गोली हानेर मारिएको छ । यसमा नेपाल मुस्लिम आयोगले आज नै पत्र काटेर खेद प्रस्ताव पारित गरोस् । होइन भने ८१ प्रतिशत हिन्दु भएको देशमा मुसलमानहरूलाई नेपालको पैसा खर्च गरेर मुस्लिम आयोग गठन गर्न हुने, तर हिन्दू भएकै कारण नेपालीहरूले संसारमा मर्नुपर्ने कुराको घोर भर्त्सना र यदि सरकारले कदम चालेन भने देशभरी यसको आवाज उठ्छ,’ शाहीको भनाइ थियो ।
