
घनश्याम अस्तित्व / ३ जेठ, घोराही, दाङ
कवि गिरीराज खनालद्वारा रचित कविता सङ्ग्रह ‘पहिलो किरण’ शनिबार नेपाल पत्रकार महासंघ, दाङ शाखाको सभाहलमा एक विशेष समारोहबीच विमोचन गरिएको छ ।
प्युठानको भिंग्रीमा जन्मिएका खनालको यो पहिलो कृति हो, जसमा विभिन्न छन्दमा लेखिएका कविताहरू समावेश छन् । लोकसंस्कृतिविद् डा. गोविन्द आचार्य, वरिष्ठ साहित्यकार पुरुषोत्तम खनाल, पदमप्रसाद शर्मा, समिक्षक रेशम बिसी र स्वयं स्रस्टाले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन् ।
सङ्ग्रहमा समेटिएका कविताहरूले गरिबी, सामाजिक अन्याय र सत्ताको शोषणविरुद्ध सशक्त आवाज उठाएको साहित्य समीक्षक रेशम बिसीले टिप्पणी गरे । उहाँले खनालका कविताहरू सरल, सहज र जनमुखी शैलीमा लेखिएको उल्लेख गर्दै तिनीहरूमा मानवतावादी दृष्टिकोण स्पष्ट झल्किएको बताए ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्ने वक्ताहरूले कवि खनालका रचनाहरूमा देशप्रेम, गाउँको जीवनशैली, समकालीन सामाजिक–राजनीतिक यथार्थ र व्यक्तिगत अनुभूतिहरूलाई प्रभावकारी रूपमा उजागर गरिएको धारणा व्यक्त गरे ।
उक्त कार्यक्रम राप्ती साहित्य परिषद्, दाङ शाखाको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा परिषद्का अध्यक्ष यम रेग्मीको अध्यक्षता, डा. गोविन्द आचार्यको प्रमुख आतिथ्यता र वरिष्ठ साहित्यकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्य रहेको थियो ।
कार्यक्रममा परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेले स्वागत मन्तव्य राखे भने सञ्चालन सचिव रीमा गौतमले गरेकि हुन् ।