जनताको सुझावलाई गम्भीरतापूर्वक लिएको छु: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई आत्मसमिक्षा गरेर अघि बढाइरहेको बताएका छन्।

अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले जाजरकोटको भेरी नगरपालिकामा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार, नागरिक समाज तथा स्थानीय सरोकारवालासँग विचार आदानप्रदान गरेको हो।

कार्यक्रममा बोल्दै सहभागी वक्ताहरूले जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्ग जस्ता विकास आयोजना अघि बढेको बताए। गाउँ–गाउँमा सडक पुगेको, तर नलगाड जलविद्युत् आयोजना अझै अघि नबढेको भन्दै त्यसलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता उनीहरुको भनाइ थियो।

प्रदेश सरकार कमजोर भएको र जनतामा यसको प्रभावकारितामाथि प्रश्न उठेको भन्दै वक्ताहरूले संघीयताको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए।

प्रश्नहरू सुनेपछि जवाफ दिँदै अध्यक्ष प्रचण्डले जनताको सुझावलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताए।

उनले आफू प्रधानमन्त्री रहेका बेला भूकम्पको समयमा जाजरकोटमा तत्काल राहत तथा उद्धारका काम सुरु गरिएको उल्लेख गरे।

कम्युनिष्ट एकताको सन्दर्भ उठेकोमा अध्यक्ष प्रचण्डले आफू नै कम्युनिष्ट एकताको प्रस्तावक भएको बताए।  “मैले नै पार्टी एकता गरेर केपी ओलीलाई प्रधानमन्त्री बनाएको हुँ,” उनले भने, “तर त्यो एकता किन टुट्यो? त्यसको डाइग्नोसिस नगरी उपचार सम्भव छैन। हामीले इमानदारीपूर्वक मूल्याङ्कन गर्नुपर्छ।”

अध्यक्ष प्रचण्डले संघीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन हुन नसकेको जनगुनासोलाई सम्बोधन गर्दै संघीयताको प्रभावकारिता बढाउन सरकारलाई आग्रह गरे।

उनले यो अभियान पार्टीका कमजोरी सच्याउँदै जनता र वर्गसँग पुनः सम्बन्ध जोड्ने प्रयास रहेको बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation