घुस खाएको आरोपमा नेपाल बैंकका पूर्वअध्यक्षविरुद्ध मुद्दा दायर

२६ जेठ, काठमाडौँ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहित पाँचजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले डा. अधिकारीले रुपन्देहीको भुसाल हस्पिटालिटीलाई नेपाल बैंकबाट एक अर्ब ७७ करोड २९ लाख रुपैयाँको ऋण प्रवाहमा सहयोग गरेर घुस लिएको आरोपमा पाँच जनालाई प्रतिवादी बनाइएको छ।

उक्त घुस प्रकरणमा हस्पिटालिटीका सञ्चालक बालकृष्ण भुसालविरुद्ध पनि मुद्दा दायर गरिएको छ। उक्त प्रकरणको अनुसन्धान गत वर्ष माघ २९ गते अधिकारीलाई नियन्त्रणमा लिएदेखि नै सुरु गरिएको थियो।

त्यसपछि राष्ट्र बैंकको निर्देशनमा उनी अध्यक्ष पदबाट हटाइएका थिए। योसहति अख्तियारले आज तीनवटा छुट्टाछुट्टै मुद्दा दायर गरेको छ।

त्यस्तै हिमाल तराई कन्स्ट्रक्सन र अकला देवी ट्रेडर्स नामक कम्पनीहरूको ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस लिएको आरोपमा अधिकारीसहित दुई जनाविरुद्ध थप दुईवटा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। यस्तै काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

धनुषा स्थायी घर भई हाल चण्डोलमा बसोबास गर्दै आएका कोइरीले विगत ०४६ सालदेखि ०७८ सालसम्मको सेवाकालमा सात करोड ९६ लाख रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेका थिए।

जसमध्ये चार करोड ५८ लाख रुपैयाँभन्दा बढी स्रोत नखुलेको अख्तियारको दावी छ। आयोगले सो रकम जफत गरी कैद र जरिवाना गरिनुपर्ने माग विशेष अदालतमा गरेको छ।

अख्तियारले पछिल्लो समय ठूला बैंकिङ् तथा सरकारी सेवा क्षेत्रमा देखिएको अनियमितता र भ्रष्टाचारमाथि कठोर कारबाही सुरु गरेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation