कसरी मनाइयाे साेभियत रुसमा महेन्द्रकाे ३८ औं जन्माेत्सव ?

 

देशमा आमचुनाव गराउनका लागि सुवर्ण शम्शेरको अध्यक्षतामा मन्त्रिमण्डलको गठन गरे पश्चात राजा महेन्द्र केही फुर्सदिलो भएका थिए । विश्व राजनीति बुझ्ने तथा देशको बिकासका लागि सहयोगहरुको अनुरोध समेत गर्ने उद्देश्यले राजा महेन्द्र १८ दिने भ्रमणका लागि सोवियत संघ पुगेका थिए ।

बि.सं. २०१५ जेठ २२ गते सोवियत संघ भ्रमणका लागि पहिलो दिन तासकन्दमा केही बेर रोकिनु भएको थियो । तासकन्द विमानस्थलमा राजा तथा रानीको स्वागतका लागि विमानस्थल भव्य रुपमा सजाइएको थियो । विमानस्थलमा रातो ब्यानरमा ठूला ठूला अक्षरले “Greetings to King Mahendra.” भनेर लेखिएको थियो । विमानस्थल बाहिर चोकमा हजारौ उज्वेकीहरु लामवद्ध राजा तथा रानीको स्वागतका लागि उभिएका थिए । साथमा उज्वेक गणराज्यका राजनयिक, मन्त्रीगण तथा सेनाका उच्च पदस्थहरु पनि स्वागतका लागि लामबद्ध थिए । राजा र रानीको आगमन हुँदा सबैले करकल तालीका साथ स्वागत गरेका थिए । राजाले गार्ड अफ अनरको निरिक्षण गरिरहँदा सेनाको ब्याण्ड टोलीले नेपालको राष्ट्रिय गान, सोवियत संघको राष्ट्रिय गान तथा उज्वेकी राष्ट्र गान पनि बजाएको थियो ।

तासकन्दमा राजा तथा रानीको स्वागत उज्वेक गणराज्यका प्रमुख तथा सोवियत संघका उपराष्ट्रपति शराफ रशीदोवले गरेका थिए । उनले स्वागत भाषणमा “स्वतन्त्र र मैत्रीपूर्ण राज्यको प्रतिनिधिका रुपमा सोवियत संघ आउनुभएका पाहुनाहरुलाई सोवियत संघ सरकार र जनताका तर्फबाट स्वागत गर्न पाउँदा हामी हर्षित भएका छौ ।”

त्यति बेला सोवियत संघ करिव १५ गणराज्यहरुको संयुक्त राज्य थियो । यसैले रुसलाई यूनियन अफ सोवियत सोसलिष्ट रिपब्लिक अर्थात यूएसएसआर भनिन्थ्यो । १५ वटा गणराज्यहरु मिलेर बनेको सोवियत संघको पहिलो प्रमुखका रुपमा शुरूमा लेनिन नै रहेको थियो । राजा महेन्द्र तथा रानीको भ्रमणको समय राष्ट्रपति बोरोसिलोभ हुनुहुन्थ्यो भने प्रिमियरका रुपमा निकिता खुश्चेभ हुनुहुन्थ्यो ।

मस्कोको व्नुकोवो विमानस्थलमा राजा तथा रानीको स्वागत गर्न राष्ट्रपति वोरोसिलोभ नै आइपुग्नुभएको थियो । साथमा मन्त्रीहरुको जमातमा एलेक्सी किरिचेन्को, फ्रोल कोज़लोव, अनास्तास मिकोयान और नुरिटदीन मुखितदिहोव आउनुभएको थियो । राष्ट्रपति वोरोसिलोभले राजाको स्वागत गर्दै भने, “महाराज, सोवियत संघ शान्ति प्रिय राष्ट्र हो । त्यसैले जुनसुकै राष्ट्र जसको आर्थिक र सामाजिक अवस्था जस्तो सुकै भए पनि शान्ति र मित्रताका लागि समान दर्जा दिने गर्दछ ।” यसले नेपाल गरिव भए पनि सोवियत संघले धनि राष्ट्र समान अधिकार र सम्मान दिनेछ भन्न खोजिएको थियो । यसका साथै नेपालका राजाको सोवियत संघ भ्रमण पछि नेपाल प्रतिको सोवियत संघको धारणामा परिवर्तन आएको थियो । सधै भारतको लहलहैमा नेपाल प्रति नकारात्मक धारणा बनाइरहेको तथा स्वतन्त्र देश नै मान्न नचाहेको सोवियत संघले नेपालको शान्तिप्रिय र स्वतन्त्रता बल्ल बुझ्न पाएको थियो । मस्कोमा सोवियत संघका प्रमुख निकिता ख्रुश्चेभले दक्षिण एशियामा राजा महेन्द्रले गर्न चाहेको शान्ति प्रयासका लागि कदर समेत गरेका थिए ।

राजाको सो सोवियत संघको भ्रमणमा राजा महेन्द्रका साथ रानी रत्न, शाही नेपाली सेनाका अधिकृत , नेपाल प्रहरीका अधिकृत, पुरातत्वका प्रमुख तथा अन्य नेपालका कुटनैतिक अधिकारीहरु पनि हुनुहुन्थ्यो । राजाको १८ दिन लामो भ्रमणको बिचमा ३८औं शुभजन्मोत्सव पर्न गएको थियो । सधै नेपालमा नै जनता बिच भव्य जन्मोत्सव मनाइरहेको राजाका लागि यो पटक खल्लो लाग्नु स्वभाविकै थियो । तर सोवियत संघका समकक्षी ख्रुश्चेवले भने राजाको जन्मोत्सव भव्य रुपले नै मनाउने तैयारी गरिदिए ।

सोवियत संघ भ्रमणको आठौ दिन राजा महेन्द्रको जन्मोत्सव परेको थियो । जर्जिया नजिकै ब्लाक सी को तटमा रहेको सोचीमा राजाको जन्मोत्सव मनाउने तैयारी गरियो । राजा महेन्द्रलाई सबैभन्दा पहिला राष्ट्रपति वोरोसिलोभले उपहार र फूलको गुच्छा दिएर जन्म दिनको शुभकामना दिए । यसपछि अध्यक्षमण्डलका उपाध्यक्ष एस. रशिदोभ, सोवियत संघका उपाध्यक्ष के. कोन्डुचालोभा, उप-विदेशमन्त्री जी. जारुबिन र अन्य धेरैले फूलको गुच्छा दिएर राजालाई जन्मोत्सवको बधाइ तथा शुभकामना दिए । राजा महेन्द्रलाई बधाई दिँदै, रशिदोभले भने, “नेपाल र सोवियत संघका जनता बीचको मित्रता र सहयोगको सुदृढीकरण तर्फ सुस्वास्थ्य, खुशी र थप फलदायी गतिविधिहरूको कामना गरेको छु ।” जब राजा र रानी सूर्यको किरणले भरिएको काला सागरलाई हेदै बाल्कनी तर्फ लागे, समुन्द्रमा युद्धक पानीजहाज “कुइबिशेभ”मा नेपाल र सोवियत संघको झण्डा फरफराउँदै राजाको सम्मानमा ३१ तोपको सलामी दिए । अन्तमा जर्जियाका गायक तथा नर्तकहरुले पारम्परिक गीत तथा नृत्य प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation