
३१ जेठ, दाङ
दाङको घोराहीमा अवस्थित सर्वोदय पुस्तकालयको सभाहलमा “सोभियत सत्ता र समाजवादी शिक्षाको अभ्यास” विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा समाजवादी विचार, शिक्षाको वर्गीय दृष्टिकोण, सोभियत सत्ता अन्तर्गतको शिक्षा प्रणाली र वर्तमान नेपाली सन्दर्भमा समाजवादी शिक्षाको सम्भाव्यता लगायतका विषयमा गहिरो बहस र समृद्ध विमर्श भएको थियो ।
कार्यक्रमका प्रमुख अवधारणा प्रस्तोता शशिधर भण्डारीले सोभियत संघ अन्तर्गत विकसित शिक्षाव्यवस्था, त्यसको दर्शन र व्यवहारका विविध पक्षहरूको गहिरो विश्लेषण प्रस्तुत गर्नुभयो । उहाँले समाजवादी शिक्षालाई शोषणविरोधी चेतनाको विकास, वर्गसंघर्षको समझदारी र सामूहिक परिवर्तनको औजारका रूपमा विश्लेषण गर्दै आजको नेपालको शिक्षामा समाजवादी मूल्य कसरी संस्थागत गर्न सकिन्छ भन्नेबारे गम्भीर बहस उठाउनुभयो ।
उक्त अवधारणामाथि डिल्ली अधिकारी, विप्लव अधिकारी र सृर्जन गौतमले टिप्पणी प्रस्तुत गर्दै समाजवादी शिक्षाको विविध कोणबाट आलोचनात्मक परीक्षण गर्नुभयो । उहाँहरूले सोभियत शिक्षाको विशेषता, सीमितता तथा त्यसबाट नेपाली शिक्षाले के कस्तो पाठ सिक्न सक्छ भन्ने सन्दर्भमा स्पष्ट धारणा राख्दै वर्तमान शिक्षाव्यवस्थाले वर्गीय चेतना, वैज्ञानिक सोच र राष्ट्रियता अभिवृद्धिमा निर्वाह गर्न सक्ने भूमिकाबारे विमर्श गर्नुभयो ।
टिप्पणी गर्दै सृजन गौतमले भन्नुभयो कि समाजवादी शिक्षाले अभ्यास गरेका धेरै कुराहरूको प्रभावस्वरूप अमेरिकाले पनि आफ्नो शिक्षा नीतिमा परिवर्तन गर्न बाध्य भएको थियो । साक्षरता उन्मूलन, बहुप्राविधिक शिक्षाको विकास तथा समाजवादी व्यक्तित्व निर्माणको सवालमा सोभियत समाजवादी शिक्षा प्रणालीले अभूतपूर्व उपलब्धि हासिल गरेको थियो, जुन कुरामा त्यसअघिको व्यवस्था असफल भएको थियो ।
त्यसै गरी अर्का टिप्पणीकार विप्लव अधिकारीले भने, जुन शिक्षालाई मालको रूपमा खरिद–बिक्री गरिन्छ, त्यो नवधारवादी र पुँजीवादी शिक्षा प्रणाली हो । पुँजीगतिक शिक्षाले शिक्षालाई उपभोग्य वस्तुमा रूपान्तरण गर्दै मुनाफा उत्पादनको माध्यम बनाएको छ, जहाँ ज्ञानको मूल्य होइन, खरिद क्षमताले शिक्षा प्राप्तिको अवसर निर्धारण गर्छ । यस्तो प्रवृत्तिले शिक्षा प्रणालीलाई दिन–प्रतिदिन विकृत बनाइरहेको छ । त्यसको विपरीत, जुन शिक्षा समाजको बृहत्तर हितलाई केन्द्रमा राखेर राज्यले नै लगानी गर्छ, सम्पूर्ण जनताको लागि सुनिश्चित गरिन्छ, र जो क्रय–विक्रयको माल बनेको हुँदैन—त्यो नै समाजवादी शिक्षा हो ।
त्यसै गरी डिल्ली अधिकारीले थप्नुभयो, समाजवादी शिक्षालाई तीव्र रूपमा अगाडि बढाउने काम लेनिनको जीवनकालपछि स्टालिनको नेतृत्वमा अझ तीव्र बनेको हो । साम्राज्यवाद र साम्राज्यवादी युद्धहरूलाई परास्त गर्ने मामिलामा सोभियत समाजवादी शिक्षा प्रणालीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
कार्यक्रममा सहभागी शुरेशकुमार पाण्डे, डा. लोकराज पराजुली लगायत अन्य बुद्धिजीवी, शिक्षक तथा युवाहरूले पनि विचार राख्दै जिज्ञासामूलक प्रश्नहरूमार्फत गोष्ठीलाई अझ गहिरो, बहसपूर्ण र अन्तरक्रियात्मक बनाएका थिए ।
गोष्ठीमा नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव नारायण प्रसाद शर्माले विशेष मन्तव्य राख्दै समाजवादी आन्दोलन र शिक्षाको सम्बन्धमाथि धारणा व्यक्त गर्नुभयो । उहाँले समाजवादको अभ्यासले दिने वैचारिक स्पष्टता, सांगठनिक बटबारा र शिक्षाको जनमुखी चरित्रबारे जोड दिँदै सोभियत शिक्षाबाट सिक्नुपर्ने पक्षहरूबारे पनि प्रकाश पार्नुभयो । कुनै न कुनै दिन नेपालमा पनि समाजवादी आन्दोलन निस्कर्षमा पुग्ने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रमका संयोजक प्रमोद धितालले सोभियत समाजवादी शिक्षाबाट सिक्नुपर्ने कुरा उल्लेख गर्दै भने, लुणाचास्की, क्रुप्सकाया जस्ता शिक्षाविदहरूको जति योगदान छ, त्यही स्तरको योगदान स्वयँ लेनिनमा पनि रहेको छ । लेनिन आफैंमा शिक्षाको एउटा स्रोत हुन् । उनको उपायमा पार्टी निर्माण भयो, क्रान्तिकारी पार्टीको स्थापना भयो र क्रान्तिको अगुवाइ भयो । लेनिनको जीवन आफैं एउटा ठूलो शिक्षाको विश्वविद्यालय र स्रोत हो । उनले शिक्षाबारे पनि महत्त्वपूर्ण विचारहरू राखेका छन् । अध्ययन र युवाको बारेमा उनका भनाइहरू आज पनि उत्तिकै महत्त्वपूर्ण छन् ।
नेपालको कम्युनिष्ट आन्दोलनको सन्दर्भमा कुरा गर्दा, आज अध्ययन नगर्ने प्रवृत्ति बढी रहेको छ र मिथ्या ज्ञान हावी छ । ज्ञानमाथि मिथ्या ज्ञान अथवा अज्ञानता र विज्ञानमाथि छद्म ज्ञान हावी भएको छ । यस्तो अवस्थामा लेनिनलाई अझ बढी पढ्नुपर्ने र लेनिनबाट सिक्नुपर्ने आवश्यकता छ । लेनिनलाई नपढी ‘पुरानो भइसकेको’ भनी दाबी गर्ने प्रवृत्ति नेपालमा देखिएको छ, जुन अधिकांश पिछडिएका, सोचविहीन मानिसहरूको सोच हो । यस्तो सोच भएका पार्टीहरू र ती पार्टीका कार्यकर्ताहरूले माक्सवादी आन्दोलनको निरन्तरता र क्रान्तिको अगुवाइ सम्भव छैन ।
कार्यक्रम समितिका संयोजक प्रमोद धितालको अध्यक्षता र समितिका सदस्य घनश्याम अस्तित्वको सहजिकरणमा सञ्चालन गरिएको थियो ।