५ असार, काठमाडौं
सांसद अमरेशकुमार सिंहले कानुनमन्त्री अजयकुमार चौरसियामाथि न्यायाधीशहरुलाई प्रभावित पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा खर्च कटौतीको प्रस्तावमाथि बोल्ने क्रममा सांसद अमरेश कुमार सिंहले कानुनमन्त्री चौरसियामाथि न्यायाधीशहरुलाई फोन गरेर विचाराधिन मुद्दाहरु प्रभावित पार्न खोजेको आरोप लगाएका हुन् ।
‘म सुन्दै आइरहेको छु, कानुनमन्त्रीले बिहानबिहानै कसैको मुद्दा जिल्ला अदालतमा छ भने एक नम्बर न्यायाधीशलाई फोन गर्नुहुन्छ, उच्च अदालतमा छ भने मुख्य न्यायाधीशलाई फोन गर्नुहुन्छ’ सांसद सिंहले भने, ‘सर्वोच्च अदालतमा छ भने त्यही न्यायाधीशलाई फोन गर्नुहुन्छ ।’
उनले कानुन तथा न्यायमन्त्री अजयकुमार चौरसियाको कल डिटेल रेकर्ड हेरेर छानबिन गर्नुपर्ने माग समेत गरे । उनले कानुनमन्त्रीले न्यायाधीशहरुमाथि फोन गरेर अदालतलाई प्रभावित पार्न खोजेको आरोप लगाए ।
उनले भने, ‘(न्यायाधीशहरुवारे) कुनै गुनासो छ भने प्रधानन्यायाधीशमार्फत भने हुन्छ, जिल्ला न्यिायाधीशलाई फोन गरेर न्याय प्रभावित पार्न पाइदैन ।’
आफूले थाहा पाएको सूचना सत्य रहेको जिकिर गर्दै उनले कल डिटेल रेकर्ड हेर्दा पनि कानुनमन्त्री निर्दोष देखिए आफू पद त्याग्न तयार रहेको बताए । उच्च अदालतहरुमा न्यायाधीश नियुक्ती गर्दा भागवण्डाको भर्तीकेन्द्र बनेको भन्दै उनले त्यस्ता क्रियाकलापले न्यायपरिषद् औचित्यहिन सावित भएको टिप्पणी गरे ।
नेकपा(एकिकृत समाजवादी) निकट कानुन व्यवसायीहरुले २१ जेठमा यस्तै माग गरेका थिए । रौतहटका कानुन व्यवसायीहरुले कांग्रेस पूर्वसांसद आफ्ताव आलमलाई सफाई दिने न्यायाधीशहरु र कानुन व्यवसायीहरुको कल डिटेल रेकर्ड मगाएर अनुसन्धान अघि बढाउन माग गरेका थिए