राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बुद्धिमान तामाङले प्रधानसेनापति झैं प्रहरी महानिरीक्षक पनि नियुक्ति हुने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले सो माग गरेका हुन् । समितिमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको हो ।
जसबारेमा आफ्ना धारणा राख्दै उनले नेपाली सेनाको जस्तै नेपाल प्रहरीमा पनि ‘प्रहरी महानिरीक्षक यो बन्दैछ’ भन्ने पूर्वजानकारी हुनु आवश्यक रहेको बताए ।
‘आर्मीमा त प्रधानसेनापति फलानो हुन्छ भन्ने थाहा हुन्छ । प्रधानसेनापति को हुने भन्ने कुरा अहिले नै थाहा छ । विशेष परिस्थिति नपरेको खण्डमा थाहा छ,’ उनले भने, ‘त्यस्तै आईजीपी पनि त्यस्तै हुनुपर्छ । एआईजी भइसकेपछि यसलाई यस्तो स्पष्टीकरण सोधिएको थियो, यसलाई यस्तो भएको थियो भनेर यो उत्कृष्ट छ भन्ने ट्याक्कै हुनुपर्छ । त्यो स्थिति विधेयकमा कसरी व्यवस्था गर्न सकिन्छ गरौँ ।’
एआईजी भइसकेको व्यक्तिमाथि यसमाथि यो दाग र यो निष्कलंक छ भन्ने स्पष्टताका आधारमा नियुक्ति हुनु आवश्यक रहेको उनको भनाइ थियो ।
कुनैपनि मुद्दामा नमुछिएको, कुनै स्पष्टीकरण नसोधिएको एआईजी स्वत: आईजीपी बन्न योग्य रहने कुराको ग्यारेन्टी विधेयकमा गर्नुपर्ने उनले बताए ।
सांसद तामाङले विभिन्न बाधा चिरेर विधेयक ल्याएको भन्दै गृहमन्त्रीलाई धन्यवादसमेत दिए ।