उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरूले केही पनि गर्न नसक्ने चुनौती दिएका छन्।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन्। उनले विभिन्न चरणका परीक्षणमा पास भएर आएका पुराना राजनीतिक दलहरूलाई जनताले अहिले पनि शंका र प्रश्न गरिरहेको भन्दै नयाँ र परीक्षण नै नभएका राजनीतिक दलहरूले केही गर्न नसक्ने बताए।
उनले नेपाली काँग्रेस जनताबाट पटक पटक परीक्षण भएर आएको पार्टी रहेको बताए। उनीहरूले भनेको मात्रै कुरा मान्दै जाने हो भने देश कहाँ पुग्छ ? भन्दै प्रश्न गरे। जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर केही नगरेकाबाट केही हुन्छ भनेर आशा गरेर पछि लाग्नु तर्कसंगत नहुने उनको भनाइ छ।
उनले काँग्रेस पार्टीका भ्रातृ संगठन, नेपाली काँग्रेस पार्टीका शुभेच्छुक संघसंस्थाहरू बलियो भएको खण्डमा मात्रै सन्तोषको सास फेर्न सकिने बताए।
उपप्रधानमन्त्री सिंहले भने, ‘यत्रो परिवर्तन ल्याउन सफल काँग्रेस पार्टीलाई अहिले पनि जनताले प्रश्न गर्दछ, नेपाली काँग्रेस पार्टीले गर्नुपर्ने काम गरेन भनेर भन्छ भने भर्खर जन्मिएका पार्टीले के गर्छ ? २००३ मा स्थापना भई जनताको अधिकारका लागि लडेको काँग्रेस पार्टीलाई नजरअन्दाज गरेर केही नगरेकाहरूबाट केही हुन्छ भनेर आश गरेर पछि लाग्नु कत्तिको तर्कसंगत हुन्छ?’
उपप्रधानमन्त्री सिंहले सबैको कुरा सुन्नुपर्ने तर जनतालाई हित हुने र जनताले चाहेको कुरा गर्नुपर्ने बताए।