
सोभियत सत्ता र समाजवादी शिक्षाको अभ्यास
दावी( disclaimer ): यो टिप्पणी लेनिन स्मृति शतवार्षिकी दाङले आयोजना गरेको विचार गोष्ठीमा शशिधर भण्डारीले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि टिप्पणी गर्ने क्रममा व्यक्त विचारहरु हुन्, तसर्थ यसले अनुसन्धानात्मक लेखमा हुनुपर्ने सम्पूर्ण गुणहरु नबोकेको पनि हुन सक्छ ।
विषय प्रवेश
सोभियत सत्ता र समाजवादी शिक्षाको विषयमा अवाधारणापत्र प्रस्तुत गर्ने क्रममा मार्क्सवादी विचारकको रुपमा रहनु भएका क. शशिधर भण्डारीले सर्वप्रथम युरोपको मुख्यतः ग्रीक कालको र पुनर्जागरणकालको विकासको बारेमा चर्चा गर्नु भएको छ, जसमा उहाँले ग्रीककालको ज्ञानको खोजीमा आधारित सभ्यतादेखि, क्रिस्चियन धर्मको बोलबाला रहेको मध्यकालको चर्चा गर्दै युरोपको पुनर्जागरण कालमा ज्ञान विज्ञानका क्षेत्रमा भएका परिवर्तनको चर्चा गर्दै सोभियत क्रान्तिसम्म आइपुग्नु भएको छ । रुसमा समाजवादी शिक्षाको वास्तविक अभ्यास कसरी भएको थियो भन्ने विषयमा अवधारणापत्रमा कम मात्रै चर्चा भए पनि तत्कालीन सोभियत सत्ताले अपनाएको समाजवादी ढाँचाको शिक्षाको सैद्धान्तिक विशेषता भने प्रकट गर्नु भएको छ । उहाँले अवधारणापत्रमा सोभियत शिक्षाको बारेमा निम्न विशेषता अगाडी सार्नु भएको छ । एक) रुसको शिक्षा वैज्ञानिकतामा आधारित थियो । दुई) शिक्षाको चरित्र वर्गीय थियो । तीन) शिक्षा धर्म, अन्धविश्वास र रुढिवाद विरोधी थियो । म उहाँको अवधारणापत्र माथि सैद्धान्तिक समर्थन गर्दै सोभियत शिक्षाको बारेमा केही कुरा व्यक्त गर्छु ।
सोभियत ढाँचाको शिक्षाको सुरुवात
१९१७ मा क्रान्ति सम्पन्न हुँदा रुस अन्य क्षेत्र जस्तै शिक्षामा पनि उत्तिकै पछाडि नै थियो । रुस एक प्राकपुँजीवादी र सामन्तवादी प्रणालीको बाहुल्यता भएको देश थियो । देशमा निरक्षरहरुको बहुमत थियो । विज्ञान र प्रविधिको विकास हुन सकेको थिएन । १०० भन्दा बढी भाषिक समुदायको बसोबास भएको देशका बहुसंख्यक जनता भाषाको समेत कारणबाट देशको शिक्षा प्रणालीबाट बाहिर थिए ।
जनतालाई व्यापक रुपमा शिक्षित नबनाइकन समाजवादको रक्षा गर्न असम्भव छ भन्ने कुरामा लेनिन प्रष्ट हुनुहुन्थ्यो । तसर्थ शिक्षालाई अगाडी बढाउन बोल्सेभिक पार्टीले योजनाबद्ध ढंगले काम गर्न सुरु गर्यो, सोभियत ढाँचाको शिक्षालाई बढाउन १९१८ मा सम्पूर्ण रसियाको शिक्षामा सम्मेलन आयोजना गरियो । जसमा अगस्ट २८ तारिखमा लेनिनले सम्बोधन गरेर महत्वपूर्ण निर्देशन दिनुभयो ।
यो सम्बोधनमा मुख्यत: रसियन क्रान्तिका तत्कालीन समस्या र अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा नै लेनिनले विशेष रुपले चर्चा गर्नु भएको छ, शिक्षाको बारेमा कमै कुरा बताइएको भएपनि शिक्षाको वर्गीय सारतत्व हुने र बुर्जुवा वर्गको सेवा गर्ने शिक्षाको ठाउँमा श्रमिक वर्गको सेवा स्थापना गर्ने शिक्षा स्थापना गर्नुपर्ने कुरामा जोड दिइएको थियो । त्यस सम्मेलनमा ७०० शिक्षाविद्, शिक्षक र शिक्षा विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो ।जसले समाजवादी शिक्षा अगाडि बढाउने कार्ययोजना निर्माण गरेको थियो । जसलाई कम्युनिष्ट पार्टीको केन्द्रीय समितिद्वारा पारित गरेर स्वीकृति प्रदान गरिएको थियो ।
दोस्रो सम्मेलन १९२१ मा भयो । जसमा लेनिनले ७ फेब्रुअरीका दिन सम्बोधन गर्नुभयो । जसमा मुख्यत: शिक्षाको लागि जनाकमिसारले गरेका कामको समीक्षा गरिएको छ । पाँच दिनसम्म चलेको यस सम्मेलनमा उपलब्धिका तथ्यांकहरू माथि विवेचना गरिएको छ । समीक्षा बहुप्राविधिक शिक्षा र पुस्तकालयहरूको नेटवर्कको विस्तारमा बढी केन्द्रित रहेको छ ।१९२१ सम्म आउँदा केन्द्रीय क्याम्पसदेखी ग्रामीण पुस्तकालय सम्म गरेर ३३,९४० पुस्तकालय स्थापना गरिएको जानकारी सम्मेलनमा दिइएको थियो ।
राजनीतिक शिक्षालाई अगाडी बढाउन पार्टी कार्यक्रमको अनुच्छेद १ र सेक्सन ८ मा सो कार्यक्रमलाई स्वीकृत गरिएको जानकारी लेनिनले दिनुभएको थियो । लेनिनले सो सम्बोधनमा शिक्षा विशेषज्ञको रुपमा लुनाचार्स्की र ग्रीन्कोलाई अगाडी सार्नुभएको थियो । परन्तु खास सोभियत ढाँचाको शिक्षा निर्माण गर्नमा जनकमिसारको रुपमा लुनाचार्स्की, राज्य परिषद शिक्षाध्यक्षको रुपमा पोक्रोभस्की र राजनीतिक शिक्षा समितिको अध्यक्षको रुपमा क्रुस्पकायाको मुख्य योगदान छ । लुनाचार्स्कीले १९२६ मा Public Education in the Russian Socialistic Federation of Soviet Republics नामक पुस्तक प्रकाशित गराएका थिए । जसबाट शिक्षामा उनको योगदान मात्र होइन, तत्कालीन सोभियत शिक्षाको प्रारूप पनि बुझ्न सकिन्छ । तत्कालीन सोभियत संघको सार्वजनिक शिक्षाको प्रमुख प्रशासनिक केन्द्र शिक्षाको जनाकमिसारको कार्यालय थियो । त्यसको मातहतमा राज्य शिक्षा परिषद्, सामाजिक तथा बहुप्राविधिक शिक्षा बोर्ड, व्यावसायिक शिक्षा तथा विस्तारित शिक्षा, प्रौढहरुको बीचमा राजनीतिक तथा शैक्षिक कार्य, वैज्ञानिक शिक्षा, विज्ञान शिक्षा, कला तथा संग्रहालय संस्था, साहित्य तथा प्रकाशन विभाग जस्ता अनेक विभाग परिचालित थिए ।
गैर- रसियन भाषा बोल्ने जातीय समुदायका लागि अलग शिक्षा परिषद् स्थापना गरिएको थियो लुनाचार्स्कीका अनुसार शिक्षाका मुख्य तीन आधारभूत शाखाहरु थिए । एक, सामाजिक शिक्षा, दुई, व्यावसायिक शिक्षा र तीन राजनीतिक शैक्षिक कार्य । सोभियत समाजवादी शिक्षाको लक्ष्यको रुपमा निम्न कार्यक्रम अगाडि सारिएको थियो । एक, साधारण शिक्षालाई प्रभावकारी श्रम शक्तिसँग जोड्ने, दुई, राज्यको अर्थतन्त्रलाई चाहिने जनशक्ति उत्पादन गर्ने, तीन, सामाजिक र व्यावसायिक शिक्षालाई जोड्ने , चार, शिक्षाको गुणस्तरमा एकरुपता कायम गर्ने, पाँच, ट्रेड युनियन र लेनिनको कम्युनिष्ट युवा संगठनलाई शिक्षासँग जोड्ने ।
लुनाचार्स्कीले निम्न बमोजिमको शिक्षालयहरुको संरचना प्रस्तावित गरेका थिए । एक, ३ देखि ७ वर्षसम्मको बच्चाहरुलाई मातृभाषामा दिनको ६ घण्टा पढाउने गरि पूर्वप्राथमिक शिक्षा प्रदान गर्ने । व्यावसायिक शिक्षा, साधारण शिक्षा, मातृभाषा , गणित , प्राकृतिक विज्ञानलाई जोड्ने गरि एकीकृत श्रमिक स्कुल, । तीन, असहाय बालबालिकाहरु जो झन्डै तीन लाख पचास हजारको हाराहारीमा थिए, तिनीहरुको सामाजिक र न्यायिक अभिवाकत्व ग्रहण गर्ने प्रणाली जस अनुसार भर्ना स्टेसनमा भर्ना गरेर स्थायी आवासीय स्कुलमा स्थानान्तरण गरिन्थ्यो र चार, व्यावसायिक शिक्षा । व्यावसायिक शिक्षा अन्तर्गत उद्योगका सबै शाखा, ग्रामीण अर्थतन्त्रका सबै शाखा , शिक्षाशास्त्र, जनस्वास्थ्य र कला क्षेत्रलाई जनशक्ति उपलब्ध गराउने हिसाबले शिक्षालाई अगाडी बढाइएको थियो ।
शिक्षालाई द्रुतरुपमा अगाडि बढाउने क्रममा विभिन्न प्रकारका शिक्षालयहरू स्थापना गर्ने र त्यसमा विद्यार्थी भर्नाको संख्यालाई बढाउने गरी काम भयो । १९२६ सम्ममा स्थापना भएका शिक्षालय र तिनमा भर्ना भएका विद्यार्थी संख्या यसप्रकार छ ।
शिक्षालयको प्रकार शिक्षालयको संख्या विद्यार्थी संख्या
बहुप्राविधिक ५०३ ६१,०६४
कृषि प्राविधिक २३९ ४४,३२८
शिक्षाशास्त्र २१८ ३६,१७९
मेडिकल १५८ १६,५६४
कला २१४ २८,५२६
उच्च शिक्षा तर्फ ( विश्वविद्यालय, बहुप्राविधिक) ८६ १,१५,११६
यसै गरि श्रमिक शिक्षातर्फ ६८२ शिक्षालयहरू खोलिएको थियो । त्यसमा साधारण शिक्षाका अतिरिक्त ३/४ वर्षसम्मको प्राविधिक शिक्षा दिइन्थ्यो ।
राजनीतिक शैक्षिक कार्यक्रम अन्तर्गत क्रुप्सकायाको नेतृत्वमा निम्न कार्यक्रम अगाडी सारिएको थियो । १) निरक्षरताको उन्मुलन २) प्रौढ शिक्षा ३) पुस्तकालय ४) क्लब र पढ्ने कटेजको स्थापना ५) प्रचार प्रसार ६) स्वयं शिक्षा ७) कलात्मक कार्य र सिनेमा ।
वैज्ञानिक अध्ययनलाई अगाडि बढाउने काममा सहयोग गर्न विज्ञान शिक्षातर्फ २३२ र अनुसन्धानतर्फ १०३ संस्था खोलिएको थियो ।
अमेरिकन महिला शिक्षाविद् इलिजाबेथ मुज ( Elizabeth Moos ) ले सोभियत शिक्षा प्रणालीको विस्तृत अध्ययन गरेर The Educational System of the Soviet Union नामक पुस्तक न्युयोर्कबाट प्रकाशित गराएकी थिइन् । जसको अध्ययनले सोभियत शिक्षाको निम्न बमोजिम चित्र प्रकट गर्छ ।
जसबेला सोभियत संघले नयाँ शिक्षा पद्धतिको निर्माण गरेको थियो, त्यसबेला सोभियत संघ शिक्षामा मात्र होइन, हरेक क्षेत्रमा पिछडिएको अवस्थामा थियो । समग्र रुसको साक्षरता प्रतिशत २४ प्रतिशत मात्र थियो । युद्ध र गृहयुद्ध पछि केवल ४.७ प्रतिशत मानिसले मात्र कुनै कुनै प्रकारको स्कुल शिक्षामा भाग लिएका थिए ।
५० भन्दा बढी जातीय समुदायका १०० भन्दा बढी मातृभाषा थिए । कतिपयको अल्फाबेट समेत थिएन । यस्तो विषम परिस्थितिमा स्कुलहरु बनाउन सुरु गरियो । विभिन्न भाषामा पाठ्यपुस्तकहरू तयार गरियो । पूर्व प्राथमिक स्कुल देखि विश्वविद्यालयसम्म खोलियो । प्रौढ शिक्षा देखि मजदुर र किसानलाई पढाउने स्कुलसम्म खुले । दूरदराजका गाउँहरुमा पढ्नका लागि Reading Hut बनाइयो । घुमन्ते आदिवासी क्षेत्रहरुमा यात्रु शिक्षकको व्यवस्था गरियो ।
शिक्षाले एकसाथ विभिन्न लक्ष्यहरु पूरा गर्ने गरि काम गरिरहेको थियो । जस्तै निरक्षरता उन्मुलन गर्ने, उद्योग र कृषिमा काम गर्ने जनशक्ति निर्माण गर्ने, सोभियतको रक्षाको लागि सैनिकहरू तयार गर्ने, चर्चको शिक्षामा हस्तक्षेप र त्यसबाट सिर्जना भएका भाग्यवाद र अन्धविश्वास अन्त्य गर्दै वैज्ञानिकतामा आधारित मानव तयार गर्ने आदि ।
शिक्षामा योजनाबद्ध र युद्धस्तरमा गरीएको कामको नतिजा देखिन सुरु गरेको थियो । १९३९ मा साक्षरता ८० प्रतिशत र १९४० मा साक्षरता ९० प्रतिशत पुग्यो ।
गैररुसी क्षेत्रमा ता यो प्रगति अझ तीव्र थियो |ताजिकिस्तानमा १९१४ मा केवल ४०० मानिस स्कुल भर्ना भएका थिए, १९३८ मा जाँदा त्यो संख्या २३५,००० पुग्यो । कजाकास्तानमा १९१७ मा साक्षरता २ प्रतिशत थियो । १९४८ मा ९८ प्रतिशत साक्षरता पुग्यो । प्रौढ शिक्षा झारा टार्ने शिक्षा होइन ७ वर्षीय स्कुल शिक्षा थियो ।मजदुर र किसानलाई दिइएको शिक्षाको फलस्वरूप कृषि र औद्योगिक उत्पादनमा व्यापक वृद्धि भयो ।
सैनिक शिक्षामा गरिएको लगानीको फलस्वरुप रुसले द्वितीय विश्वयुद्धमा सारा संसारलाई हिटलरबाट बचाउन सक्यो । साइन्स एण्ड टेक्नोलोजी र रिसर्चमा दिइएको जोडले आणविक प्रविधि र अन्तरिक्ष प्रविधिमा रुसले फड्को मार्यो ।
यसको अर्थ शिक्षा अगाडि बढाउन समस्या थिएनन् भन्ने होइन । युद्धमा ८४,००० स्कुल ध्वस्त भएका थिए । युद्धमा मारिएका १ करोड ४० लाख मानिसमध्ये अधिकांश शिक्षक पनि थिए । स्कुल भवन, शैक्षिक सामग्री, र अन्य उपकरणको ठूलो अभाव थियो । तात्कालिक आवश्यकता पूरा गर्न तालीम दिंदै शिक्षकलाई फिल्डमा खटाइन्थ्यो । नियमित रुपमा शैक्षिक जर्नलहरू छापिन्थ्यो । जसमा उपलब्धीको तथ्यांक र कमीकमजोरीको आलोचना गरिएको हुन्थ्यो । कमीकमजोरी सुधार्ने प्रयत्न गरिन्थ्यो । सोभियत संघले शिक्षालाई कति प्राथमिकतामा राखेको थियो, १९५० मा स्कुलको संख्या १,९३,००० र त्यसमा ३ करोड २० लाख विद्यार्थी अध्ययनरत थिए ।
अब सोभियत रुसको शिक्षामा विद्यालयको ढाँचा तर्फ जाउँ ।
पूर्व प्राथमिक स्कुल
नर्सरी : नर्सरीमा एक डाक्टर , नर्स, एक सहायक, एक शिक्षक र एउटा घरेलु स्टाफ राखिन्थ्यो । नर्सरीमा बाबुआमाको काम गर्ने समय अनुसार जुनसुकै बेला बच्चा ल्याएर छोड्न पाइने भएकोले २४ सै घण्टा खुला रहन्थ्यो । बच्चालाई ४ पटक खाना दिइन्थ्यो ।तीन महिना देखि नै बच्चालाई भर्ना गर्न सकिन्थ्यो जसमा साना बच्चालाई स्याहार मात्र गरिन्थ्यो भने ठूलो हुँदै गएपछि सामान्य संगीत र राइम्सहरू सिकाइन्थ्यो । नर्सरीमा भर्ना गर्न बाध्यता थिएन । कुनै आमाले आफ्नो बच्चाको स्याहार आफै गर्न चाहेमा तलबी बिदा दिने गरिएको थियो ।
किन्डरगार्टन
प्रि स्कुल अन्तर्गत रुसले संचालन गरेको किन्डरगार्टन कुनै पनि अर्थमा पाश्चात्य मुलुकले संचालन गरेको किन्डरगार्टन वा मन्टेश्वरी भन्दा कम थिएन । बाल मनोविज्ञानको उच्चतम ख्याल गरेर संचालन गरिएको थियो । जसमा शिक्षक विद्यार्थी अनुपात १:२५ थियो । किन्डरगार्टन सरकारले तोकेको स्थानमा मात्र नभएर मजदुरका छोराछोरी भएका फ्याक्ट्रीमा समेत आवश्यकता अनुरुप संचालन गरिएको थियो । किन्डरगार्टनमा ६ घण्टा देखि २४ घण्टा सम्म बच्चा राख्न मिल्ने स्वैच्छिक प्रणाली थियो ।
प्रोफेसर मेडिन्स्की (Medynsky) ले किन्डरगार्टनमा दिनभर गरिने गतिविधिको जानकारी यसरी दिएका छन् :
८:०० : सुतेका बालबालिकाहरुलाई ब्युँझाउने
८:००- ९:०० : दिनभर मात्र पढ्ने बालबालिकाहरु आइपुग्ने, तिनीहरुको स्वास्थ्य परीक्षण गरिने
९:०० : विहानको खाना
९:३० : निर्देशित क्रियाकलाप
१०:३० : बाहिरी यात्रा र घरबाहिर खेलिने खेलहरु
१:०० : डिनर
१:३० – ३:३० : हलुका निद्रा
३:००- ४:०० : खेल र अन्य क्रियाकलाप
४:०० : अपरान्हको नास्ता
४:३० : बाहिर हिंड्ने, खेल खेल्ने र डे स्कलर बच्चाहरु घर जाने समय
७:०० : रातको खाना ( Supper )
८:०० : विस्तरामा जाने समय
साधारण स्कुल
१. प्राथमिक स्कुल
प्राथमिक स्कुलमा चार वर्षसम्म पढाइन्थ्यो । सेम्टेम्बर १ देखि मे २० सम्मको एक शैक्षिक वर्ष हुन्थ्यो । हप्तामा ६ दिन पढाइ हुने स्कुलमा एउटा कक्षाको निर्धारित समय ४५ मिनेट र त्यसमा शिक्षकले निर्देशन दिने समय मनोवैज्ञानिकहरुको सल्लाह अनुसार १५ मिनेटको मात्र हुन्थ्यो । बाँकी समयमा बालबालिकाहरुलाई क्रियाकलाप गराउनु पर्थ्यो । गैर रुसी भाषा बोल्ने बच्चाहरुलाई मातृभाषामा शिक्षा दिइन्थ्यो । मातृभाषा, अंकगणित, प्राकृतिक विज्ञान, भूगोल र गैर रसियन बच्चाहरुलाई रसियन भाषाको अभ्यास गराइन्थ्यो ।
अपूर्ण माध्यमिक विद्यालय
यस अन्तर्गत ७ वर्षको स्कुलिंग हुन्थ्यो । शिक्षा अनिवार्य र निशुल्क थियो । रसायनशास्त्र, भौतिक विज्ञान, खगोल, प्राकृतिक विज्ञान, बिजगणित र रुसको भूगोल र इतिहास , आधुनिक र मध्यकालीन इतिहासको अध्यापन गराइन्थ्यो । कतिपयले पाठ्यक्रम बच्चाको उमेरभन्दा हेभी भएको भन्दै आलोचना पनि गरेका थिए । ७ वर्षसम्म पढिसकेपछि माध्यमिक शिक्षातर्फ वा प्राविधिक शिक्षा पढ्न टेक्निकमतर्फ पनि जान पाइन्थ्यो ।
पूर्ण माध्यमिक स्कुल
अपूर्ण माध्यमिकमा ३ वर्ष थप पढेपछि पूर्ण माध्यमिक स्कुल पुरा हुन्थ्यो । यसमा गणित, आधुनिक इतिहास, रुसको इतिहास, भौतिक विज्ञान, रसायन विज्ञान, रसियन साहित्य र व्याकरण जस्ता विषयहरु राखिएका थिए । केटाहरुलाई सैनिक तालिम र केटीहरुलाई गृह विज्ञान, बाला मनोविज्ञान वा किन्डरगार्टन
को तालिम दिइन्थ्यो । प्रत्येक स्कुलमा अभिभावक संघ खोलिएको थियो ।
व्यावसायिक स्कुल
टेक्निकम
७ वर्षको स्कुले शिक्षा पास भएपछी टेक्निकममा भर्ना भएर उद्योग, कृषि, कानुन, प्रशासन, मेडिसिन, कला आदिको प्रशिक्षण लिन पाइन्थ्यो । जसबाट शिक्षक, नर्स, लाइब्रेरियन, दन्त प्राविधिक, स्वास्थ्य शिक्षा विशेषज्ञ, कानुनी सल्लाहाकार उत्पादन हुन्थे । सन् १९४६ मा ३१५२ टेक्निकममा ८ लाख ९१ हजार विद्यार्थी थिए ।
ट्रेड स्कुल
जुन ट्रेडमा जाने हो त्यही विषय पढिसकेपछी अनिवार्य रुपमा ४ वर्ष फिल्डमा गइ काम गर्नुपर्थ्यो ।
श्रमिक युवाहरुका लागि स्कुल
श्रमिक युवाहरुलाई ७ वर्षसम्म पढाउने व्यवस्था रोजगारदाता कम्पनीले गर्नुपर्थ्यो । १९४९ मा ५ लाख २० हजार श्रमिक युवाहरु काम गर्ने समयभन्दा भिन्न समयमा चलाइने स्कुलमा पढिरहेका थिए ।
विशेष स्कुल
सुभोरोभ स्कुल : जसले आर्मी अफिसरलाई तालीम प्रदान गर्थ्यो ।
नाखिमोभ स्कुल : जसले नेभीसेना (नौसेना ) तयार गर्थ्यो ।
भेट्रानहरुको लागि स्कुल
भेट्रानहरुको लागि जुन कक्षादेखि पढाइ छुटेको छ त्यसदेखि माथि पढ्न पाउने व्यस्था गरिएको थियो । घाइते तथा अपांगहरुलाई थेरापी सहितको शिक्षा र तालीम पूरा गरेपछि जागिर दिने व्यवस्था गरिएको थियो ।
असहाय र अपांग बालबालिकालाई शिक्षा
वर्कसपबाट पत्ता लगाएर अपांग बालबालिकामा जुन विषयमा क्षमता छ , त्यहाँ थेरापी सहित बोर्डस गरेर पढाइन्थ्यो ।
फरेस्ट स्कुल
बौद्धिक अपांगता भएका, कमजोर शारीरिक क्षमता भएका वा प्रि ट्युबरक्लोसिस भएका बच्चालाई पढाउन जंगलको प्राकृतिक वातावारणमा ७८ स्कुल खोलिएका थिए । बच्चाले स्वास्थ्यलाभ गरेपछि साधारण स्कुलमा पढ्न पठाइन्थ्यो । तिनीहरुले स्वास्थ्यलाभ गरेका कथा डियर कमरेड नामक पत्रिकामा प्रकाशित गरिन्थ्यो ।
चिल्ड्रेन्स होम
अनाथ र घर नभएका बालबालिकाका लागि चिल्ड्रेन्स होमको व्यवस्था गरिएको थियो ।
उच्च शिक्षा
उच्च शिक्षा तर्फ विश्वविद्यालय र एक मात्र फ्याकल्टी भएका शिक्षालय गरेर ८०४ वटा थिए ।
प्रौढ शिक्षा
प्रौढ शिक्षाका लागि १०,००० स्कुल थिए जसमा ४ वर्षे र ७ वर्षे शिक्षा दिइन्थ्यो । निरक्षरता उन्मुलन गर्न लेनिनले Liquidation of Illiteracy कार्यक्रम अगाडि सारेका थिए ।
शिक्षक तालिम
शिक्षक बन्नको लागि माध्यमिक स्कुल सकेपछि ४ वर्षसम्मको तालीम लिनुपर्थ्यो । जसमा आफ्नो विषयका अतिरिक्त पिटी, शिक्षाशास्त्र, मनोविज्ञान र मार्क्सवाद, लेनिनवादको तालिम लिनुपर्थ्यो ।
रसियनहरुको शिक्षा प्रणालीको अमेरिकन शिक्षाविद् जोन डिबीले समेत प्रशंसा गरेका थिए । उनले रुसी विद्यार्थीहरुमा देखिएको सामाजिक व्यवहारवादको प्रशंसा गरेका थिए ।तर शिक्षाको केन्द्रिकृत ढाँचाको भने आलोचना गरे ।
यसरी रुसको शिक्षाले विश्वव्यापी रुपमा समाजवादी शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छ । चीन र क्युवाजस्ता देशले पनि रुसबाट सिकेर नै समाजवादी शिक्षाको सुरुवात गरेका हुन् । चीनले पछिलो समयमा नवप्रवर्तनमा विशेष जोड दिएको छ । क्युवाले रुसको राज्य नियन्त्रित मोडलको ठाउँमा समुदायमा शिक्षालाई लगेको छ ।
सैद्धान्तिक रुपमा भने ब्राजिलियन शिक्षाविद् पाउलो फ्रेरेको समाजवादी शिक्षामा ठूलो योगदान छ । उनले उत्पीडित वर्गको शिक्षाशास्त्र अलग हुने, शिक्षा राजनीतिक रुपले तटस्थ नहुने, यसले या त उत्पीडकको सेवा गर्ने वा उत्पीडितलाई मुक्ति प्रदान गर्ने, विद्यार्थीलाई बैंक ठानेर शिक्षा डिपोजिट गर्न खोज्ने परम्परागत मोडल हटाएर सहभागितामूलक शिक्षा अपनाउनुपर्ने , चिन्तन र कार्यको बीचमा संयोजन हुनुपर्ने ( प्राक्सिस )र शिक्षामा स्थानीयकरणमा जोड दिनुपर्ने जस्ता विचार अगाडि सारेका छन् । सोभियत संघ देखि चीन, क्युवा सम्मका अनुभव , पाउलो फ्रेरेजस्ता चिन्तकका विचार र हाम्रो आवश्यकताको अनुसन्धान गरेर समाजवादी शिक्षा प्रणालीको निर्माण गर्न सकिन्छ ।