
२१ असार, प्यूठान
स्वर्गद्वारी नगरपालिकाले आफ्नो स्थापना यता पहिलोपटक आधिकारिक लोगो सार्वजनिक गरेको छ । शनिवार वडा नं. ३ स्थित जलुकेमा सम्पन्न १७औँ नगरसभाको दोस्रो बैठकको विशेष सत्रमा लोगो सार्वजनिक गरिएको हो ।
स्वर्गद्वारीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको समग्र प्रतिबिम्ब रहेको उक्त लोगो स्वर्गद्वारी२ खाल निवासी अस्मिता भण्डारीले डिजाइन गरेकी हुन् । नगरपालिकाले पौष ३ गते लोगो निर्माणका लागि प्रस्ताव आह्वान गरेकोमा दुई फरकरूपमा लोगो प्रस्तुत गर्ने एकमात्र प्रतिस्पर्धी भण्डारीकै डिजाइन उत्कृष्ट ठहरिएपछि त्यसैलाई अधिकारिक लोगोका रूपमा स्वीकृत गरिएको हो ।
नगरप्रमुख टेकप्रसाद भण्डारी र प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टराईले संयुक्त रूपमा लोगो सार्वजनिक गरेका थिए । कार्यक्रममा नगर कार्यपालिका सदस्य, वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी र स्थानीयको उल्लेखनीय उपस्थिति थियो । सभामा लोगो तयार गर्ने भण्डारीलाई सम्मानपत्रसहित पनि सम्मान गरिएको हो ।
लोगोमा बोल्ने पहिचान र प्रतीकहरू
सार्वजनिक गरिएको लोगोमा समेटिएका प्रत्येक रूप–रङ र चिन्हले स्वर्गद्वारीको पहिचान उजागर गर्छन्:
• शीर्ष भागमा राखिएको धौलागिरि हिमश्रृङ्खला स्वर्गद्वारीबाट देखिने भौगोलिक सौन्दर्य र पर्यटन सम्भावनाको संकेत हो ।
• केन्द्र भागमा स्वर्गद्वारी मन्दिरको चित्र राखिएको छ, जसले नगरको धार्मिक र आध्यात्मिक गाथा बोकेको छ ।
• बीचमा हलो जोतेर खेत जोतिरहेका किसानले नगरको कृषि–प्रधान अर्थतन्त्रको प्रतिनिधित्व गर्छन् ।
• बायाँतर्फ स्थानीय उत्पादनको प्रतीकस्वरूप मकै, धान र गहुँका बालाहरू समेटिएका छन् ।
• दायाँतर्फ नौ वटै वडामा फुलेको लालीगुराँस फूल राखिएको छ, जुन एकता र राष्ट्रिय गौरवको संकेत हो ।
त्यस्तै, लोगोमा स्वर्गद्वारी नगरपालिका भवनको स्वरूप, माडीखोला, झोलुंगे पुल, हरियाली जमिन, नगर नक्सा, तथा विभिन्न जातजातिका कला र संस्कृति झल्काउने मादल, बाँसुरी र नेवार समुदायको सांस्कृतिक मुखौटा पनि समावेश गरिएको छ । लोगोको पिँधमा उल्लेख गरिएको “समृद्ध स्वर्गद्वारी – कृषि, पर्यटन र रोजगारी” भन्ने नारालेस्वर्गद्वारीको विकास दृष्टिकोणलाई सन्देश दिन्छ ।
९१ करोड ८२ लाखको बजेट पारित-
सोही अवसरमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि स्वर्गद्वारी नगरपालिकाको रु ९१ करोड ८२ लाख ४० हजारको बजेट तथा कार्यक्रम सर्वसम्मतिले पारित गरिएको छ । बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख मीनराज राना मगरले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिक प्राथमिकतामा राखिएको जानकारी दिए ।