
२५ असार, प्युठान
रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी दुई दिनदेखि सम्पर्कविहीन भएका छन् ।
गाउँपालिकाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरू सम्पर्कविहीन भएको पुष्टि गर्दै खोजीमा सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगरद्वारा जारी विज्ञप्तिमा उल्लेख अनुसार, नेपाल टेलिकमको नेटवर्कमा समस्या आइ बेलुका ७–८ बजेदेखि बिहान ८ बजेसम्म नेटवर्क नचल्ने भएपछि असार २३ गते राति करिब ९ बजे प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर असार २४ गतेको भुक्तानी प्रक्रिया अन्तर्गत OTP कोड प्राप्त गर्न रुकुम पूर्व जाने भन्दै कार्यालयबाट निस्किएका थिए ।
उक्त टोलीमा प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरसहित सवारी चालकसहितका सात जना कर्मचारी थिए:
१. हेमराज घर्तीमगर – प्रमुख प्रशासकीय अधिकृत
२. हरिश माझी – सहायक प्रशासन, पाँचौँ
३. यज्ञ प्रसाद कडेल – सह–लेखापाल
४. चन्द्र प्रकाश ओली – सव–इञ्जिनियर
५. निशा आचार्य – सव–इञ्जिनियर
६. शिव कुमार वली – खा.पा.स.टे
७. प्रदिप के.सी. – सवारी चालक
गाउँपालिकाका अनुसार उनीहरू असार २४ गते बिहान ७ बजेपछि अहिलेसम्म कार्यालयसँग कुनै सम्पर्कमा आएका छैनन्, र रुकुम पूर्वमा खोज्दा पनि फेला परेका छैनन् । साथै, सम्पर्क गर्दा सबैको मोबाइल फोन अफ रहेको बताइएको छ ।
गाउँपालिकाले विज्ञप्तिमा भनेको छ — “कार्यालयको कामकाजमा समस्या भइरहेको हुँदा यथासिघ्र सम्पर्कमा आइदिनुहुन अनुरोध गरिन्छ । साथै, जानकारी पाउनुहुने महानुभावहरूले समेत गाउँपालिकालाई जानकारी गराइदिनुहुन अनुरोध छ ।”
-हेर्नुहोस सूचना