तीजः प्रेमको मिठास वा पितृसत्ताको प्रतिबिम्ब ?

हिन्दु परम्परामा तीजको इतिहास देवी पार्वती र भगवान् शिवको कथासँग जोडिन्छ । कथाअनुसार, पार्वतीले शिवलाई पतिको रूपमा प्राप्त गर्न १०८ जन्मसम्म निरन्तर कठोर तपस्या गरिन् । अन्ततः शिवले उनको भक्तिलाई स्वीकार गरी विवाह गरे । भनिन्छ, यही घटनाको सम्झनामा महिलाले निराहार व्रत बस्ने र शिव–पार्वतीको पूजा गर्ने परम्परा बस्यो ।

सोही कथा एक अर्को पुस्तामा प्रसारित हुँदै जाँदा तीज पर्वलाई विवाहित महिलाहरूले पतिको दीर्घायु, सुख–समृद्धि र दाम्पत्य जीवनको स्थायित्वका लागि मनाउने परम्परा बन्यो । तीजको अवसरमा महिलाहरू माईत जाने, आफ्ना साथी–संगीहरूसँग भेट्ने र सामूहिक रूपमा गीत गाएर, नाचेर र अनुष्ठान गरेर आफ्नो मनको पीडा तथा खुसी प्रकट गर्ने अभ्यास हुँदै गयो । बिस्तारै तीज महिलाको सामाजिक जीवनमा केवल धार्मिक व्रत नभई एकअर्का बिचको मिलन र अनुभव बाँड्ने महत्वपूर्ण माध्यम बन्दै गयो ।

मान्छेमा बढ्दो चेतना, पुँजीवादको प्रभाव र उपभोक्ताबादले गाँज्दै जाँदा न त तीज हिंजको जस्तो रह्यो न त तीज हिंजको रुपमा नै राख्नुको अर्थ रह्यो । जसरी मानिसहरु बदलिँदै गए तीजको अनुहार पनि बदलिँदै गयो । तर न त तीजको विगत महिलाको हितमा थियो न त तीजको वर्तमान महिलाको हितमा छ । खासमा भन्ने हो भने तीज एक यस्तो पर्व होे जसले “पति–केन्द्रित सुख”लाई नै सर्वोच्च मूल्य ठान्न बाध्य बनाउँछ । तीजले महिलालाई आफ्नो स्वतन्त्र अस्तित्वभन्दा पतिको जीवनमा मात्र निर्भर रहन प्रोत्साहन गदर्छ ।

सतही रुपमा हेर्दा तीजले महिलाहरूलाई वर्षभरि भोगेको शोषित श्रमपछिको अस्थायी राहत र सांस्कृतिक सांत्वना प्रदान गरेको देखिन्छ । माइत जाने, खानपिन गर्ने र साथीहरूसँग दुःख–सुख बाँड्ने अवसरले महिलालाई सामाजिक रूपमा मात्र होइन, भावनात्मक रूपमा पनि केही क्षणको स्वतन्त्रता दिएको देखिन्छ । यद्यपि यो अस्थायी स्वतन्त्रता वास्तविक मुक्ति होइन किनभने केही दिनको रमाइलो र खानपिन पछि महिलालाई फेरि पुरानो पितृसत्तात्मक संरचनामा फर्कनुपर्ने परिस्थिति त जस्ताको त्यस्तै रहन्छ ।

आजको अवस्थामा, महिलाले खानपिन, लाउने, बोल्ने र स–साना निर्णय गर्नको केही मात्र स्वतन्त्रता पाएका छन्, तर यी स्वतन्त्रताहरू पनि पूँजीवादी बजारद्वारा निर्देशित र नियन्त्रित छन् । फेसन, सौन्दर्य, गहना र सामाजिक सञ्जाल प्रदर्शनसँग तीजलाई जोडेर मनोरञ्जन उद्योगले यसलाई नाफाको उत्पादनमा रूपान्तरण गरेको छ । यसरी वास्तविक स्वतन्त्रता उपभोक्तावादी अनुभवमा समेटिएको छ, जसमा महिलाको श्रम, संघर्ष र सामाजिक योगदानको मूल्यांकन वा मान्यता हुँदैन ।

वर्तमान अवस्थामा त तीज वस्तुकरणको एक स्पष्ट उदाहरण बनेको छ । त्यसो त सबै सांस्कृतिक पर्व र परम्परागत उत्सवहरू बजारको साधन बनेका छन् । यस्तो वस्तुवादले महिलाको अनुभव र पीडालाई दृश्यात्मक नाच‑गानमा सीमित गरेर झुट्टा स्वतन्त्रताको भ्रम सिर्जना गरेको छ, जसले समाजमा गहिरो प्रभाव पारिरहेको कुरा आजको उपद्रोले छर्लङ्ग पारेको छ ।

आजका तीज गीतहरूलाई सतही रूपमा हेर्दा प्रेमको मिठासले भरिएका जस्ता लाग्छन् । महिलाले गीत गाएर आफ्ना भावनाहरू व्यक्त गरेको दृश्य रमाइलो र भावुक देखिन्छ । तर भित्री रूपमा विश्लेषण गर्दा, यस्ता गीतहरूले महिलाको वास्तविक स्वतन्त्रता र व्यक्तिगत अस्तित्वलाई छायामा पारिदिन्छन् । उदाहरणका लागि, “उनी छन् र पो सिन्दुरको अर्थ छ, नत्र भने जिन्दगी व्यर्थ छ” भन्ने गीतमा महिलाको जीवन र अस्तित्वलाई सीधै पुरुषको उपस्थिति र सम्बन्धसँग मात्र बाँधिएको देखिन्छ ।

गीत मार्फत प्रवाह गरिएको यस किसिमको संदेशले महिलाको श्रम, उनको सिर्जनशील क्षमता, शिक्षा, र आत्मनिर्णयलाई गौण बनाउँदै, सम्पूर्ण जीवनलाई पतिसँगको सम्बन्धमा मात्र मूल्यवान् ठहर्याउँछ । यसरी गीतहरूले महिलालाई आत्मनिर्भर, स्वतन्त्र र स्वतःस्फूर्त व्यक्तित्वका रूपमा चित्रण गर्ने सट्टा, उनीहरूलाई पति केन्द्रित सामाजिक संरचनाभित्र सीमित गर्न प्रोत्साहित गर्छन् ।

यस्ता गीतहरू केवल रमाइलोका लागि मात्र होइनन्, बरु समाजले महिलालाई परम्परागत भूमिकामा राख्न प्रयोग गर्ने साधन पनि हुन् । यसले महिलालाई यो सोच्न बाध्य पार्छ कि पतिबिना उनको जीवन अपूर्ण हुन्छ । यसरी तीज–गीतहरूले पितृसत्तात्मक मूल्यलाई बल पु¥याउँछन् र महिलाको स्वतन्त्र अस्तित्वलाई कमजोर बनाउँछन् ।

अचम्मको कुरा त के भने यस्ता गीतमा रमाउने र नाच्नेहरूकै बीचमा महिला अधिकार र सशक्तिकरणका कुरा गर्नेहरू पनि हुन्छन् । यसले देखाउँछ कि पितृसत्तात्मक सोचलाई अझै टिकाइराख्ने काम कहिलेकाहीँ प्रगतिशील देखिने वर्गले पनि गर्छ । यो कुरा सांस्कृतिक रूपमै महिलामाथि भएको वर्गीय र लिङ्गीय नियन्त्रणको उदाहरण हो ।

वर्गीय भिन्नताको बढ्दो खाडलले पनि महिलाको स्थिति आजका दिनमा झन् जटिल देखिन्छ । मध्यम वा निम्नमध्यम वर्गीय महिलाले फेसन, गहना र सजावट जस्ता सीमित उपभोगका अवसर पाएका छन्, तर मजदुर वर्गीय महिलाहरू अझै पनि दैनन्दिन श्रम र संरचनात्मक असमानतामा बाँधिएका छन् । यसले केवल पितृसत्तालाई बल पु¥याउँदैन, पूँजीवादी संरचनाले महिलामै असमानता कायम राख्दछ । उपभोक्तावादी संरचनाले महिलाभित्र वर्गीय विभेदलाई पुनरुत्पादन गर्दछ, जसले सामाजिक समानता र विद्रोहको सम्भावना घटाउँछ । यसले तीज जस्ता सांस्कृतिक पर्वहरूको उद्देश्यलाई केवल सामाजिक नियन्त्रण र मनोरञ्जनको माध्यममा सीमित बनाउँछ, जबकि वास्तविक स्वतन्त्रता र समानताको मार्ग अवरुद्ध हुन्छ ।

तीजको सन्दर्भमा अर्को दुखद कुरा के छ भने शैक्षिक संस्थानहरू विद्यालय र कलेज जहाँ चेतना, विचार र सामाजिक परिवर्तनका बीउ रोपिनुपर्ने हो, ती चेतनालाई बजार–केन्द्रित प्रदर्शन र फेसन प्रतियोगिताको माध्यममा परिणत गरिएको देखिन्छ । विद्यार्थीहरूले गीत र नृत्यबाट पाउने सन्देश विद्रोह, समानता वा सामाजिक चेतना होइन, फोटो खिच्ने र रमाइलो गर्ने उपभोक्तावादी संस्कृतिमा सीमित छ । यसले भविष्यका पुस्तालाई पितृसत्ता र पूँजीवादी संरचनाको प्रभावभित्र हुर्काउँछ, जसले महिला सशक्तीकरणको वास्तविक अर्थलाई अवरुद्ध बनाउँछ ।

पूँजीवाद र पितृसत्ता मिलेर तीजलाई केवल नाफाको साधन र उपभोक्तावादी उत्सव बनाएका छन् । वास्तविक विद्रोह, समानता र स्वतन्त्रता छैन । महिलाको साँचो मुक्ति भनेको खानपिन, लाउने वा सजिनमा होइन; यसको अर्थ महिलाको श्रमको मान्यता, सामाजिक उत्पादनमा बराबरी सहभागिता, समान अधिकार र पितृसत्ता–पूँजीवाद दुवैलाई चुनौती दिनुमा छ । महिलाले प्रेम गरून्, सम्बन्धहरू बनाऊन्, तर आफ्नो स्वतन्त्रता, आत्म–सम्मान र पहिचान कहिल्यै नगुमाऊन् । पुरुषको प्रेम र सम्मान उनीहरूको स्वतन्त्रताको बाधक नभई पूरक बन्नुपर्छ ।

सबैभन्दा सुन्दर तीज त त्यो बन्नेछ जहाँ हरेक महिलाले आफ्नो स्वतन्त्रताको उत्सव मनाउँछन् । त्यो उत्सव पुरुषको छायामा होइन, आफ्नै उज्यालोमा । पुरुष त्यहाँ उनीहरूको साथमा उभिन्छन् सहयोगीको रूपमा, मालिकको रूपमा होइन । यसरी मुख्य ध्यान दिनुपर्ने कुरा त यो छ कि हाम्रा सांगीतिक बजार, तीजका गीत र नृत्य–प्रदर्शनहरूले उपभोक्तावाद, पितृसत्ता र वर्गीय असमानताको अन्तरक्रियालाई थप उजागर गरिरहेका छन् । वास्तविक समानता, स्वतन्त्रता र विद्रोहको मूल्य बुझ्नका लागि हामीले केवल रमाइलो र दृश्यात्मक नृत्यमा होइन, उत्पादन सम्बन्ध, समाजशास्त्रीय संरचना र सांस्कृतिक चेतनामा ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation