जनज्योति माविमा सामाजिक परीक्षण सम्पन्न, पारदर्शी विद्यालयका रूपमा उदाहरणीय

२ असोज, रोल्पा, गजुलकोट

“संस्थागत पारदर्शिता : आजको आवश्यकता” भन्ने मूल नाराका साथ श्री जनज्योति माध्यमिक विद्यालय, गजुलकोटले आ.व. २०८१/८२ को सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष हिराबहादुर थापाले गरेका थिए भने प्रमुख अतिथिमा गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको रहेहो थियो। विशिष्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत नगेन्द्रप्रसाद रिजाल र शिक्षा तथा सामाजिक डिभिजन संयोजक लोकेन्द्रबहादुर थापा उपस्थित रहेको थियो। कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, शिक्षक तथा विद्यार्थीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

विद्यालयले आ.व. २०८१/८२ मा जम्मा रु. २,३१,६४,०६१.७० आम्दानी गरेकोमा रु. १,५३,०५,४१५.४१ खर्च गरी रु. ७८,५८,६४६.२९ बचत भएको विवरण प्रस्तुत गरिएको थियो। प्राविधिक उपसमितिका संयोजक लिलामणी सुवेदीले शैक्षिक, भौतिक तथा आर्थिक पक्षको प्रतिवेदन पेस गरेका थिए भने आय–व्यय विवरण अध्यक्ष हिराबहादुर थापाले प्रस्तुत गरे। सो विवरण हलले सर्वसम्मत रूपमा पारित गरेको थियो।

सार्वजनिक सुनुवाइमा प्रमुख प्रशासकीय अधिकृत रिजालले विद्यालयको खर्च र आर्थिक गतिविधि पारदर्शी रहेको भन्दै सामुदायिक स्रोतका रकम विशेष शैक्षिक सुधार कार्यक्रममा प्राथमिकता दिनुपर्ने सुझाव दिए। गाउँपालिका अध्यक्ष बुढाथोकीले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा प्राविधिक विज्ञबीच विस्तृत छलफललाई अझ संस्थागत गर्दै अन्य विद्यालयले पनि कानुनसम्मत सामाजिक परीक्षण गर्नुपर्नेमा जोड दिए।

पारदर्शी र नियमसम्मत सामाजिक परीक्षणको उत्कृष्ट अभ्यास गरेको आधारमा श्री जनज्योति माविले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा स्थानीय सरकारबाट ३ लाख रुपैयाँ पुरस्कार पाएको विद्यालयले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation