असोज ३: संविधानको उत्सव कि जेन्जीको चेतावनी…?

३ असोज, प्युठान

संविधान दिवस, नेपालको राजनीतिक इतिहासमा एउटा विशेष दिन हो। सात दशक लामो संघर्ष, आन्दोलन र बलिदानपछि संविधान जन्मियो। नेताहरूले यसलाई ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गर्छन्। सरकारी स्तरमा आजको दिन झण्डा फहराउने, भाषण गर्ने र जनताको सपना पूरा भयो भन्ने संवाद दोहोर्याउने दिन हो।  गाउँ टोलका साधारण मानिसका लागि असोज ३ अझै पनि अपूर्ण अपेक्षाहरूको, खोक्रो वाचाहरूको र दुःखको दिन बनेको छ। संविधानले जनतालाई अधिकार र आशा दिएको छ, तर नेतृत्वको असक्षमता र भ्रष्टाचारले त्यही आशालाई निराशामा बदलिदिएको छ। असोज ३ अर्थात आजको दिन भाषणहरूमा संविधानलाई विश्वको उत्कृष्ट भनेर गजगज आवाज आउँछ।संघीयता, धर्मनिरपेक्षता, मौलिक अधिकार, समावेशिता सबै कुरा कागजमा छ। तर स्वास्थ्य सेवा अझै महँगो छ, युवा बेरोजगार छन्, शिक्षा व्यवसायीकरणको चपेटामा छ। भ्रष्टाचार, दण्डहीनता र नेताहरूको स्वार्थी राजनीति संविधानको आत्मा माथि भारी परिरहेको छ।त्यसैले जनताका लागि असोज ३ खुशीको उत्सव होइन, अपूर्ण अधिकारको सम्झना बनेको छ।

अहिले जेन्जी आन्दोलन जन्मियो। जेन्जी आन्दोलन कुनै सामान्य विरोध होइन, यो संविधानमा उल्लेखित मौलिक अधिकार, सुशासन र न्याय व्यवहारमा किन लागू भएन भन्ने प्रश्न हो। युवाहरूले यो आन्दोलनमार्फत नेताहरूलाई देखाए कि संविधानको कागज पर्याप्त छैन, त्यसको कार्यान्वयन चाहिन्छ। जेन्जीको नारामा यही चेतावनी छ ।जनताको अधिकार खोस्ने संविधान होइन, जनताको अधिकार लागू गर्ने नेतृत्व चाहिन्छ। असोज ३ आज दुईवटा छविमा उभिएको छ।नेताहरूका लागि यो आत्म गौरव र फोटो सेसनको दिन हो।जनताका लागि यो अपूर्ण सपनाको सम्झना हो। जेन्जी आन्दोलन भने यही दिनको वास्तविकता उजागर गर्ने प्रयास हो ।

संविधानको जन्म सपना थियो, तर नेतृत्वको असक्षमता र भ्रष्टाचारले यसलाई कागजको दस्तावेजमा सीमित बनाइदियो।

अब संविधान दिवस केवल झण्डा गाड्ने र भाषण गर्ने दिन नभई जवाफदेहिताको दिन हुनुपर्छ।नेताहरूले जनतालाई अधिकार दिनका लागि होइन, आफैंलाई सुविधा दिनका लागि संविधानको प्रयोग गरिरहँदा जेन्जी आन्दोलन जस्ता विद्रोह जन्मिन्छन्।देशलाई संविधानको कागज होइन, त्यसको आत्मा कार्यान्वयन गर्ने नेतृत्व चाहिएको छ।

आज हामीलाई दुई कुरा सम्झाउँछ,संविधानले मात्र देश बनाउँदैन ईमानदार नेतृत्व र सचेत जनता बिना संविधान खोक्रो कागज हो। यदि नेताहरूले अझै पनि असोज ३ लाई केवल भाषण र झण्डा गाड्ने दिन बनाएर छाडे भने, यो दिन भविष्यमा चेतावनीको प्रतीक मात्र हुनेछ।
तर जनताले अधिकार माग्ने र नेताहरूले दायित्व बुझ्ने हो भने, असोज ३ साँच्चिकै नयाँ नेपालको आधारशिला बन्न सक्छ। जेन्जी आन्दोलनले यही चेतावनी दिएको छ !!संविधान दिवस केवल उत्सव होइन, परिवर्तनको कसौटी हो। संविधान हाम्रो साझा सपना र भविष्यको नक्सा हो।
जेन्जी आन्दोलनले देखाएको चेतावनीले संविधानलाई कमजोर होइन, अझ बलियो बनाउन मद्दत गर्छ,यदि नेताहरू र जनता दुवैले यसको मर्म बुझ्ने हो भने।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation