‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म ६ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ। कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन् ।
पछिल्लो दुई दिनमा ६५६ कैदीबन्दीलाई कारागारमा फर्काएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए। कैदीबन्दी दैनिकजसो कारागारमा आइरहेका उनले बताए।
गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी हुन थालेपछि कैदीबन्दी भागेका थिए। भागेका कैदीबन्दीको कूल सङ्ख्या १४ हजार ५५६ रहेको छ भने १५ हजार ५२५ कैदीबन्दी भने नभागी बसेका थिए।
फरार रहेकाहरूको खोजी जारी रहेको विभागले जनाएको छ । ती कैदीबन्दीहरू २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका थिए। कतिपयलाई प्रहरीले पक्राउ गरेर ल्याएको छ भने अधिकांश आफैँ आएका हुन् । बालसुधार गृहबाट ९६३ जना भागेका थिए। प्रहरीले हिरासतमा रहेका दुई हजार आरोपीसमेत फरार रहेका र खोजी जारी रहेको जानकारी दिएको छ । १० कैदीबन्दीको भने मृत्यु भएको छ।