सकियो माओवादीको केन्द्रीय समिति बैठक, प्रचण्डको प्रस्ताव पारित

 

१० असोज, काठमाडौं

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ। बिहीबार सुरु भएको बैठक शुक्रबार अध्यक्ष प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित गर्दै सकिएको माओवादी नेता रहिश साहले जानकारी दिए ।

प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका थिए । जसलाई केन्द्रीय समितिले स्वीकार गरेको छ । यो सँगै माओवादी केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ ।

आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव पनि सदर भएको छ ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका थिए । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका थिए ।

यो प्रस्ताव अस्वीकृत भएको छ ।

उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका थिए । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव थियो । शर्माको प्रस्ताव पनि अस्वीकृत भएको छ ।

तीन वटै प्रस्तावमाथि छलफल गरेर समूहगत निष्कर्ष प्रस्तुत गर्नेक्रम सकिएपछि प्रचण्डले जवाफ दिएका थिए । जवाफ दिने क्रममा प्रचण्डले हलमा उठेका विषयलाई गम्भीर रुपमा लिएर अगाडि बढिने बताएका छन् ।

हलमा प्रश्न उठेअनुसार माओवादीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने पनि प्रचण्डले घोषणा गरेका छन् । ‘सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गरिनेछ’ प्रचण्डको घोषणा छ ।

केन्द्रीय समितिको बैठकमा पार्टीका सबै नेताहरूको एकाघरको सम्पत्ति छानबिन गर्न आयोग गठनको प्रस्ताव नै प्रस्तुत भएको थियो । केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा प्रस्तुत प्रस्तावहरुमाथि सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहको निष्कर्ष प्रस्तुत गर्दै यस्तो प्रस्ताव राखेका थिए ।

सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहका तर्फबाट हरि ज्ञवाली अखण्डले निष्कर्षहरू प्रस्तुत गरेका थिए । जसमा एउटा बुँदामा माओवादी नेताहरूको एकाघरको सम्पत्ति छानबिन गर्न आयोग गठनको प्रस्ताव रहेको छ ।

जसमा भनिएको छ, ‘पार्टीका सबै नेताहरुको एकाघरको सम्पत्ति तथा पार्टीका सम्पत्ति छानबीनका लागि पूर्व महालेखा परीक्षक या स्वतन्त्र व्यक्तिहरुको सहभागितामा सम्पत्ति छानबीनको कार्यविधि तयार गरी आयोग गठन गर्ने ।’

जवाफमा प्रचण्डले माओवादीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation