
देशकाे शिक्षा नीति र ऐन बमाेजिम पाठ्यक्रम बनाइन्छ । त्यसैकाे आधारमा देशभरका अबाेध विद्यार्थीले पढ्ने/पढाउने पाठ्यपुस्तक निकालिन्छ । त्यसमा हरेक पेसा व्यवसाय गर्ने मान्छेका तस्बिर राखिन्छ । सबै पेसा व्यवसाय गर्नेका तस्बिर सुकिलामुकिला प्रकारका र निकै आकर्षक राखिन्छ तर बर्जर जमिनमा दश नंग्रा खियाउँदै हावाहुरी, चट्याङ, बाढीपहिरो लगायतका अनेकाैँ प्राकृतिक उतारचढावहरुसँग पाैठेजारी खेल्दै माटाेसँग खेलेर दुनियाँका पेटमा अन्न भरिदिने “अन्नदाता” किसानको झुत्रे कपडा, कुपाेषणले थलिएकाे शरीर, फाटेर टुप्पि देखिने टोपी र कमजोर आर्थिक अवस्था भएको चित्र बोलेको हुन्छ !
यस्ताे वैरागलाग्दाे चित्र र अव्यवस्थित हालतकाे तस्बिर र राज्यले किसानमाथि गरिरहेकाे विभेद पढिरहेकाे कुनैपनी बालकको मस्तिष्कमा किसान बन्ने रहर गर्दाेरहेनछ । उसले कुनै पनि हालतमा त्यस्तो झुत्रे झाम्टे बन्न चाहा राख्दैन । पंक्तिकार आफैंले पढाउन लागेको २२ वर्ष भयो । “मेरो जीवनको लक्ष्य” शीर्षकमा स्वतन्त्र लेखन अभ्यास गराउँदा एक जना बच्चाले पनि म किसान बन्छु भनेर लेखेको मैले अहिलेसम्म भेटाएकाे छैन र भनेको सुनेकाे पनि छैन !
मैले यो प्रसङ्ग किन निकाले भन्दा यसै त किसान पेसाप्रती कृषि पेसा त गर्नैनहुने काम रहेछ भन्ने तस्बिरले नै बाल मनोविज्ञानमा प्रत्यक्ष प्रभाव जमाएको सर्वविविदै छ त्यसैमा हिजोदेखिको एक र्यापर, कवि तथा जनप्रतिनिधिले कृषकप्रति राखेकाे नकारात्मक बिम्बका विषयले पनि हाम्रो वाैद्धकताकाे मथिंगल कता क ? भन्ने प्रश्न गरिरहेकाे छ ।
त्यसकारण अबका सरकारले कृषि पेसाप्रतिको वितृष्णा हटाउन छुट्टै खालको नीतिनिर्माण गरोस् । असली किसानले पाउने राहत नक्कली किसानलाई प्रदान गर्ने परिपाटीको अन्त्य गरोस् । गाउँ घरमा पनि राजनीति अपनत्वको छायाँ राजधानीमा भन्दा बढ्ता देखिन्छ । राजनीतिको ओहदामा बस्नेको चाकरी चाप्लुसी गरेर नेतालाई गलत काममा जान हौसाउने जनता पनि सुध्रनु आवस्यक छ । देश यति बिघ्न बिग्रनुमा नेताको मात्र दोष होईन । जनता सुध्रन जरुछ ।
देशका सबै पेसाव्यवसायमा आवद्ध मानिस तथा आम सर्वसाधारणले असली किसानप्रति सम्मानजनक व्यवहार गर्न जरुर देखिन्छ । असली किसानको पहिचान गरि किसनलाई पुरस्कृत गर्ने व्यवस्था र सम्नानित ठाउँमा नपुर्याउने हो भने किसान प्रतिको नकारात्मक धारणा यथावत रहिरहनेछ ।
आफ्नो देशमा किसान बन्न लाज मान्ने तर सिम्ला पहाड गएर गोबर फालेर दुईचार पैसोको जोहो गरेर नेपालमा लाहुरे पल्टिने मनस्थिति तिनै पाट्यपुस्तकमा भएका किसानका चित्रले निर्माण गरेको हो । के किसानलाई झुत्रे लुगाले मात्र चिनाउन सकिन्छ र ?
सबैलाई चेतना भया !