२६ मंसिर, तानसेन
पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा आठजना घाइते भएका छन्।
निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो। दुर्घटनामा जिपमा सवार तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए।
उनका अनुसार मृतक तीनैजनाको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा आठजना घाइते भएका छन्।
घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले बताए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।















